काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट तीन वटा चलचित्र दर्शकमाझ आएका छन् । सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘कथा काठमाण्डू’, अर्का सञ्चारकर्मी ऋषि धमलाको निर्माणमा बनेको चलचित्र ‘अनुराग’ र गायक तथा संगीतकार यश कुमारद्वारा निर्देशिक चलचित्र छिरिङ दर्शकमाझ प्रदर्शनमा आएका छन् ।
यो साताको भिडन्तलाई हेर्ने हो दुई सञ्चारकर्मीसँगै गायकको व्यापारिक प्रतिस्पर्धा हुने भएको हो । चलचित्रको प्रमोसन, आलोचना र विवादका कारण चलचित्र ‘कथा काठमाण्डू’ केही अघि देखिएको भए पनि पत्रकार धमला यो मान्न तयार छैनन् । आफ्नो डेव्यु निर्माण चलचित्र ‘अनुराग’ले चलचित्रको साथ पाउने दाबी गर्दै आएका छन् ।
त्यस्तै गायक तथा यश कुमारमा पनि आफ्नो चलचित्रले दर्शकको साथ पाउनेमा आशावादी देखिएका छन् । बिहिबार भएको प्रिमियरबाट पाएका प्रतिक्रियाबाट उनी सन्तुष्ट बनेका छन् । यी तीनै चलचित्रका निर्माण पक्षले आ–आफ्नो चलचित्रले दर्शकको साथ पाउने दाबी गरिरहँदा गत साताबाट प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ चुनौतीका रुपमा खडा भएको छ । प्रदर्शनको दोस्रो सातामा दर्शकको साथ पाइरहेको चलचित्रले अझै केही दिन दर्शक बटुल्ने पक्का छ । यो अवस्था रहँदा यो शुक्रबार बाट प्रदर्शनमा आएका तीन चलचित्रलाई पक्कै असर पुग्ने देखिन्छ ।
चलचित्र ‘कथा काठमाण्डू’ आलोचनासँगै चर्चामा उत्तिकै छ । सञ्चारकर्मी संगीता श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘कथा काठमाडू’ रातको कुरा, त्यसपछि जुन अनि तारालाई र पछिल्लो ट्रेलरका कारण चलचित्र चर्चित सँगै आलोचित बनेको थियो । सार्वजनिक गीत र ट्रेलरमा नायिका प्रियंका कार्कीको बोल्ड अवतारले बजार तताएको हो ।
यसबाट उनले आलोचना पनि खेप्नु प¥यो । तर, नायिका प्रियंकाले यस विषयमा चलचित्र हेरेपछि सवैको बोलीमा बिर्को लाग्ने बताइसकेकी छिन् । यसअघि उनले कुनै प्रतिक्रिया दिएकी थिइनन् । उनले आफूले कथा काठमाण्डू गर्न पाएकोमा गर्व महशुस गरेको समेत बताएकी छिन् । चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएपछि प्रियंका र आयुषमानलाई लिएर धेरै नकारात्मक प्रतिक्रिया पनि सार्वजनिक भएका थिए ।
तर, यस विषयमा आयुष्मानले पनि कुनै चित्त दुखाएका छैनन् । यसर्थ कलाकार भएपछि कलाकारिताको धर्म निभाएको बुझिन्छ । त्यतिमात्र नभएर आयुष्मानले उनको अभिनयको प्रसंसा गर्नुले चलचित्र वास्तवमै सन्देशमुलक रहेको हुनसक्ने अनुमान छ । चलचित्रमा आफूले एउटा हिंसा सहेर बसेको यूवतीको भूमिका निभाएको प्रियंकाले बताएकी छिन् ।
निर्देशक संगीता श्रेष्ठले फिल्म भिन्न भिन्न तीन कथालाई अगाडि ल्याउने कोसिस गरेको बताइन् । यो चलचित्रले मनोरञ्जन मात्र नभई एउटा संदेश पनि दिने निर्माण पक्षलको दाबी छ । काठमाडौंलाई आफ्नो कर्मभुमि बनाएर बसिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ ।
चलचित्रमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन ।
फिल्मलाई लुजा सिंहले खिचेका हुन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् । ‘कथा काठमाण्डौं’मा तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको छ । ‘लष्ट, लभ र लाइभ’लाई उठान गरेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् ।
त्यस्तै, नेपाली पत्रकारिता क्षेत्रमा सफलता पाएका पत्रकार धमलाको अग्नि परीक्षा पनि शुरु भएको छ । पत्रकारितासँगै चलचित्र निर्माणमा होमिएका धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’मा उनकी श्रीमती एलिजा गौतमले मुख्य अभिनेत्रीको भूमिका निभाएकी छिन् । चलचित्रको प्रमोसनका लागि निर्माण पक्षको खटानलाई हेर्ने हो भने अनुरागले पनि दर्शकको मन जित्ने अपेक्षा छ ।
अनुराग टोलीले काठमाडौंमा मात्र नभएर मोफसलका दर्शकसँग पनि प्रत्यक्षा साक्षात्कार गरेको थियो । पत्रकार धमलाले भने ‘अनुराज माया गर्नेहरुको लागि बनाइएको फिल्म हो’ ‘जसले प्रेम गर्छ, त्यसले देशलाई पनि माया गर्छ ।’ उनले फिल्म मनोरञ्जनको लागि मात्र नभई सन्देश मूलक पनि भएको बताए । एरिका फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको चलचित्र अनुरागमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्मका निर्माता भरत गौतम र गीता भेटवाल हुन् । ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।
यस्तै यो शुक्रबारबाट प्रदर्शनमा अर्को चलचित्र ‘छिरिङ्ग’ पनि सामाजिक कथावस्तुबाट प्ररित चलचित्र रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा अरुणा लामा र रुद्र गुरुङ्गको दशक अगाडिको चर्चित गीत ‘ए कान्छा‘’ को पहिलो हरफलाई रि–रेकडिङ गरी समावेश गरिएको छ । यशकुमारको अपोजिटमा देखिएको नायिका कामना भुजेलले यो चलचित्रबाट डेब्यु गरेकी छिन् । यो फिल्मले बहुपतिप्रथाको कथा भन्छ । गायक तथा अभिनेता निमा रुम्बा पनि फिल्ममा लिड रोलमा छन् ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् ।
‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो ।
श्राेतः janasawal.com