भीमदत्तनगर –कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान अधिकृत कृष्णराज ओझाले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विष्ट, उनका छोरा किरणराज विष्ट र भीमदत्तनगरका स्थानीय युवा आयुश विष्टको डिएनए रिपोर्ट आएको जानकारी दिए । प्रहरी नायब उपरीक्षक ओझाले तीनै जनाको रिपोर्ट मेल नखाएको बताए । “हिजो काठमाडौँबाट प्राप्त भएको रिपोर्ट आइतबार बिहान जिप्रकामै खोलेर हेर्दा नेगेटिभ देखियो,” उनले भने, “घटनाको सुक्ष्म अनुसन्धान तीव्र गतिमा हुदैछ ।”
गत साउन १० गते बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी निर्मलाको साउन ११ गते शव भेटिएको थियो । यसअघि घटनाको मुख्य अभियुक्त बनाइएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको पनि डिएनए परीक्षण गरिएको थियो । विष्टको पनि रिपोर्ट मेल नखाएपछि उनलार्ई हिरासतमुक्त गरिएको थियो । भीमदत्तनगरमा आन्दोलनका क्रममा प्रहरी उपरीक्षक विष्टकै डिएनए परीक्षण गर्नुपर्ने माग उठेपछि केही समयअघि परीक्षणका लागि रगत लिइएको प्रहरीले जनाएको छ । “रिपोर्ट जस्तो आए पनि प्रहरीको अनुसन्धान चलिरहेकै छ,” ओझाले भने, “प्रहरीका धेरै टिम अनुसन्धानमा जुटेका छन् ।” कञ्चनपुरमा अहिले पनि विभिन्न महिला एवं दबाब समूहले निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
सरकारले आँखामा छारो हाल्ने काम गरेको आरोप
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको ‘भेजिनल स्वाव’ र तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि निर्मलाका बाबु यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको प्रतिकृया दिएका छन् । ‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, त्यहि भएर विशेष परीक्षणका लागि उनीहरुको डिएनए विदेशमा लगेर टेष्ट गर्नुर्ने मैले काठमाडौमा मन्त्रीलाई नै भनेको हुँ । तर, मेरो कुरा सुनिएन । आखिर मैले जे सोचेको थियो रिपोर्ट त्यहि आयो’ निर्मलाका बाबु यज्ञराजले भने, ‘अब त सरकारले न्याय देला भन्ने लाग्नै छोड्यो ।’
यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले जेजति गरेको देखाएपनि त्यो सबै आँखामा छारो हाल्न मात्र गरेको बताए । ‘हामीले घटनाको सुरुवात कहाँबाट भएको र को को मानिस जोडिएका छन् भनेर पहिलेदेखि नै भनेका हौँ । तर हामीलाई आशंका लागेका व्यक्तिहरुमाथि गहिरो अनुसन्धान नै गरिएन’, उनले बम दिदीबहिनीप्रति संकेत गर्दै भने, ‘प्रमाणहरु नष्ट गरिएको छ । निर्मलाका लुगा अझै भेटिएका छैनन, पोष्टमार्टम गर्ने डाक्टरहरुलाई नै खेदिएको छ ।
यस्तो सरकारले कसरी तथ्य सार्वजनिक गर्छ र हामीले न्याय पाउछौ ?’ उनले भावुक हुँदै भने । बम दिदी बहिनीको घरमा अझै खानतलासी नगरिएको भन्दै उनीहरुलाई पनि अनुसन्धानका नाममा बोलाएर त्यसै छाडिएको यज्ञराजले गुनासो गरे । बम दिदी बहिनीलाई छाड्ने र एसपी विष्टसहितको डिएनए परीक्षण गर्न ढिला गर्नुलाई आफुले न्याय मार्न गरिएको षड्यन्त्रका रुपमा बुझेको निर्मलाका बाबु यज्ञराजले दावी गरे । अहिलेसम्म सञ्चारमाध्यमले आफूलाई ठूलो सहयोग गरेको भन्दै पन्तले अझैपनि सहयोग गरिदिन र आफूलाई न्याय दिलाउन आग्रह गरे ।
‘सञ्चारमाध्यमकै साथ पाएर हामी यहासम्म आएका छौँ, अझैपनि तपाईँहरुको सहयोग पाए केही हुन्छ की भन्ने छ । सरकारले त न्याय देला भन्ने अब टुटिसक्यो’ पन्तले भने । निर्मला पन्त त एक उदाहरणमात्रै हुन् । त्यस घटनापछि पनि धेरै निर्मलाहरुको बलात्कार भइरहेको भन्दै उनले त्यस्ता अपराधीहरुलाई सरकारले कानुनी कठघरामा नल्याएकोमा चिन्ता व्यक्त गरे । ‘म पनि नेपाली नै हुँ, तर मलाई नेपाली नभएर अरु नै देशको जस्तो व्यवहार सरकारले गरेको मैले महशुस गरेको छु’, उनले भने, ‘ मेरी छोरीको आज यो हालत भयो, अपराधीलाई सरकारले नै लुकायो ।
त्यो अपराधीले अव अरु कति निर्मलालाई बलात्कार गर्छ यो ठुलो चिन्ताको विषय हो ।’यज्ञराजले निर्मलाका बास्तविक हत्यारा र बलात्कारी पहिचान नभएसम्म राज्यसँग लडिरहने पनि बताए । उनले बास्तविक हत्यारा पहिचानका लागि महेन्द्रनगरमा आन्दोलन जारी रहेको पनि बताए । निर्मला पन्तको बलात्कार–हत्या छानविनका लागी गठित सह–सचिव हरि मैनाली नेतृवत्को समितिको सुझावपछि गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर शुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गर्न निर्देशन दिएका थिए ।
आशंका गरिएका तीनै जनाको नमुना संकलन गरेर त्रिवि शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका प्राविधिकहरुले संयुक्त रुपमा डिएनए परीक्षण गरेका थिए । ‘एसपी विष्ट सहित तीनै जनाको डिएनए रिपोर्ट मेल खाएन’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले भने, ‘काठमाडौंबाट पठाइएको शिलबन्दी रिपोर्ट हामीले खोलेर हेर्दा डिएनए रिपोर्ट नमिलेको देखियो ।’ निर्मला पन्तको गत साउन १० गते साथी रोसनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । ११ गते उनको शव उखुबारीमा भेटिएको थियो । तीन जनाको डीएनए रिपोर्ट नेगेटिभ आएसँगै कञ्चनपुर घटना थप रहस्यमय बनेको छ ।
श्राेतः janasawal.com