३३ केजी सुन तस्करी प्रकरण : एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १८ गते, बिहीबार ०३:२८

काठमाडौं– गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ । २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको गृह सचिव प्रेमकुमार राईले बताए ।
उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । गृहन्त्रालयले एस्एसपी लोहनी र एसपी खनालको कारवाही फुकुवा गरेपनि डिएसपी केसीबारे केही खुलाएको छैन ।
गृह सचिव राइले लोहनी र खनालले दिएको निवेदनका आधारमा कारवाही फुकुवा गरेको जानकारी दिए । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी तत्कालीन अवस्थामा अपराध अनुसन्धान महाशाखा र खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका थिए ।

पाँच किलो सुनसहित तामाङ पक्राउ  
काठमाडौँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ । परिसरले बुधबार पत्रकार सम्मेलन गरी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कडाइ गरेपछि केरुङ नाका हुँदै भित्रिने क्रम बढेको जानकारी दिएको छ ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पेटीमा बाँधेर सार्वजनिक यातायातमा चढेर सुन ल्याएको अवस्थामा पाँच किलोग्राम सुनसहित रसुवा गोसाइकुण्ड–९ घर भएका सोबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिए । “प्रतिकिलोग्राम रु ५० हजार पाउने आशमा सुन ओसारपसार गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले सुनसहित एक थान मोबाइलसमेत बरामद गरेको छ । यसअघि असोज ९ गते परिसरको टोलीले मोटरसाइकलमा तीन किलोग्राम सुन ल्याउँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको थियो । सोही समयमा केरुङ नाकाबाट सुन तस्करी भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा रसुवा गोसाइँकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई नियन्त्रणमा लिएको थियो ।

परिसरका प्रमुख लामा सुनको मालिक अर्को भएको र भरियालाई मात्र प्रहरीले नियन्त्रणमा लिएको बताउँछन् । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ । पक्राउ व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) अनुसार एक करोडभन्दा बढी पाँच करोडसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु