काठमाडौं–इलाम स्थित फिक्कलमा रहेको १७ आना जग्गा किर्ते गरी अर्कैको नाममा किनबेच भएको छ । मदन लामाको नाममा रहेको सो जग्गा झापा निवासी सुवास मैनालीले किर्ते गरी १२ आना जग्गा बेचेका छन् भने बाँकी रहेको ५ आना जग्गा भने मैनालीले श्रीमति सावित्रा तामाङको नाममा दर्ता गरेका छन् । बेचिएको १२ आना जग्गा निलमकुमार सिटौलाले किनेका हुन् । वास्तविक जग्गा धनि लामाले आफ्नो जग्गा किर्ते गरि बेचिएको बताउँदै २०७४ साल भदौ १६ गते जिल्ला अदालत झापामा मुद्दा दर्ता गरेका छन । हाल आएर उक्त जग्गा अदालतले रोक्का गरेको छ भने मुद्दा विचाराधिन रहेको छ ।
मैनालीले लामाको नाममा रहेको साविक फिक्कल गाविस वडा नं ६(ग)को कित्ता नं २८३ को १२ आना जग्गा र कित्ता नं ३५० को ५ आना जग्गाको २ लाख रुपैयाँमा बेच्ने डुब्लिकेट करारनामा बनाएका थिए । उनले बनाएको उक्त करारनामामा १ लाख ९५ हजार बैना र बाँकी ५ हजार रुपैयाँ एक साता भित्र तिर्ने कागज समेत बनाएका थिए । त्यो बाँकी रहेको ५ हजार रुपैया तिरेपछि त्यो जग्गा मैनालीको नाममा राजीनामा गर्नुपर्ने डुब्लिकेट करारनामामा उल्लेख छ । उनले यो कागज २०७२ साल मंसीर ३ गते बनाएका हुन् । उनको त्यो करारनामामा साक्षि गोबिन्द तामाङ र तुलसीराम दाहाल राखेका छन् । सम्भवतः २ लाख पर्ने जग्गाको ९५ प्रतिशत बैना दिएको यो नै पहिलो पटक हो । मैनालीले लामाको हस्ताक्षर भने मालपोत कार्यलयका कर्मचारीलाई प्रलोभनमा पारी जग्गा किन्दा गरेको हस्ताक्षर जस्तै गरी किर्ते गरेको लामाले बताए ।
लामा विगत २५ वर्षदेखि परिवार सहित भारतको सिलुगढीमा व्यापार गर्दै आएका छन् । उनी कहिलेकाहीँमात्र नेपाल आउने गरेका थिए । मैनालीले लामाले आफ्नो करारनामा अनुसार उक्त जग्गा आफूलाई नदिएको भन्दै २०७२ साल फागुन २७ गते जिल्ला अदालत झापामा मुद्दा दर्ता गरेका थिए । लामाले बाँकी रहेको ५ हजार रुपैयाँ पनि लिन नआएको भन्दै ५ हजार रुपैयाँ अदालतलाई बुझाएका थिए ।
अदालतले उनलाई चैत्र १९ गते उपस्थिति गराउन आदेश दिएको थियो । तर लामा सिलिगुढीमा रहेका कारण उनले यसको अत्तोपत्तो पाएनन् उनी वेपत्ता भएको ठहर गर्दै चैत्र २१ गतेको अदालतको निर्णय अनुसार चैत्र २२ गते पत्रिकामा उपस्थिति हुने बारे सुचना प्रकाशित भएको थियो । ती समयमा आफू विरामी भएको र यसबारे कुनै पनि जानकारी प्राप्त नभएकाले लामा अदालतमा उपस्थिति हुन नसकेकोे आफुले कसैलाई पनि जग्गा बैना नगरेको पिडित लामाले बताएका छन् । यसरी उनी अदालतमा उपस्थिति नभएपछि, अदालतले २०७३ साल असार २७ सुवास मैनालीको नाममा दर्ता गर्न इलाम मालपोत लाई आदेश दिएको थियो । यसरी मैनालीले असार २७ गते मालपोत कार्यालय इलामबाट लामाको नाममा रहेको जग्गा आफ्नो नाममा सारेका थिए ।
जब उनी साउनमा नेपाल आउँदा जग्गाको कर तिर्नु प¥यो भन्दा मैनालीले मुद्दा दर्ता गरी जग्गा आफ्नो नाममा बनाएको छिमेकीले उनलाई बताएका थिए । यसपछि उनी साउन २० गते जिल्ला अदालत गई हेर्दामात्र थाहा पाएको बताउँदै आफुले सहिछाप र ल्याप्चे नलगाई आफ्नो नामको जग्गा बिक्रि भएको भन्दा अचम्म मानेका छन् ।
उनले आफ्नो नामको लालपुर्जा देखाउदै भने आफुसंग लालपुर्जा पनि भएको र आफुले कसैलाई पनि जग्गा बैना नगरेकोमा जग्गा बिक्रीले आफु नै आस्चर्य परेकोले आफु अदालत गएको बताए, मैनालीले भदौ २७ गते आफ्नो नाममा रहेको जग्गा आफ्नै श्रीमति सावित्रा तामाङको नाममा राजीनामा गरी विक्रि गरेका थिए । मैनालीले सावित्रा तामाङको नाममा राजीनामा गर्दा तिरिएको मालपोतको राजश्व रसिद नं ५६७ हो । यसैगरी, तामाङको नाममा जग्गा दर्ता भएपछि मैनालीले २८३ कित्ता नंमा रहेको को १२ आना जग्गा असोज १७ गते निलमकुमार सिटौलालाई राजीनामा पास गरी बेचेका थिए ।
उनले मुद्दा दर्ता गरेपछि सुवास मैनालीले उनलाई मुद्दा फिर्ता लिन धम्की दिँदै आएका छन् ।
त्यस्तै, मैनाली समुहले मिलापत्र कागज गर्न दबाब दिँदै आएको लामाले बताए । लामा आफू पीडित भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि मैनालीसँग सहमति नगर्ने बताएका छन् । उनले आफ्नो जग्गा अदालतले आफुलाई दिलाउनेमा पूर्ण आशाबादी भएको बताए. लामाले बजार दर नै पचास लाख भन्दा बढी पर्ने जग्गा दुइ लाखको डुप्लिकेट कागज तयार पारेर पास गरेकोमा आफै पनि अझै आश्चर्य चकित परेको बत्ताए, कुनै पनि जग्गाको बहिना गर्दा दुई लाखको जग्गामा एक लाख पन्चान्नब्बे हजार बैना कसैले पनि दिदैन फेरी पचास लाख भन्दा बढी पर्ने जग्गा दुई लाखमा सहमति हुदा, हस्ताक्षर डुब्लिकेट हुदा र ल्याप्चे नहुदा समेत कसरि जग्गा पास हुन्छ स्थानिय पदाधिकारीले पनि बुझनुपर्ने कुरा हो लामाले दुखेसो पोखे. उनले आफ्नो जग्गा उपलब्ध गराउन सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् ।
श्राेतः janasawal.com