काठमाडौँ :प्रमुख चाडबाडको मुखमा निजी हवाईसेवा कम्पनीहरूले अरू बेला बेच्ने गरेको आन्तरिक हवाई उडानको टिकट बन्द गर्नाले मारमा परेको यात्रुहरूको गुनासोकाबीच विमान कम्पनीहरूले सधैँ सस्तो टिकट दिने बाध्यता नभएको भन्दै आफ्नो बचाउ गरेका छन्। व्यस्त हुने समयमा सस्तो दरको टिकट बन्द गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको वायुसेवा सञ्चालक संघको भनाइ छ। सडकको दुरावस्थाका कारण बस यात्रा पनि कठिन हुने हुँदा खासगरी ठूला चाडका बेला हवाई यात्रा गर्नेको संख्या पछिल्ला वर्षमा ह्वात्तै बढेको पाइन्छ।
आपसी सहमति
यस वर्षको दशैँ, तिहार र छठका बेला आन्तरिक हवाई यात्रुको संख्या डेढ लाखको हाराहारी हुने अनुमान छ। तर अरू बेला ग्राहक तान्न सस्तो दरका टिकट बेच्न प्रतिस्पर्धा गर्ने निजी विमान कम्पनीहरूले यही बेला नर्मल फेयर अर्थात सबैभन्दा उच्च मूल्यका टिकट मात्र बेच्न आपसी सहमति गरेको ग्राहकहरूको गुनासो पाइन्छ। तर सस्तो टिकट बेच्ने नबेच्ने कम्पनीको इच्छामा निर्भर हुने विमान कम्पनीको भनाइ छ।
बुद्ध एयरकी बजार व्यवस्थापक विनिता थापा भन्छिन्, हामीले यो सुविधा दिइरहेको हो। त्यो सधैँ दिनै पर्छ भन्ने जरुरी होइन। दशैँ तिहार भनेको हाम्रो मुख्य व्यापारको समय भएकोले यो बेला चाहिँ हामी छूट दिन्नौँ। हवाई टिकटको मूल्य नागरिक उड्डयन मन्त्रालय, प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपालको सहमतिमा निर्धारण हुन्छ।
प्रचलन
निजी हवाई जहाज सञ्चालकहरूको संस्था वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले यात्रुको चाप बढी भएका बेला भाडा वृद्धि हुने अन्तर्राष्ट्रिय प्रचलन नै रहेको बताउँछन्।उनले भने, संसारभरि नै माग बढेको बेला मूल्य उच्च हुने गर्छ। कम माग भएका बेला विमान कम्पनीबीच मूल्य घटाउने विषयमा चर्को प्रतिस्पर्धा नै हुने गर्छ।
अहिले नेपाल वायुसेवा निगम र पाँचवटा निजी विमान कम्पनीले देशका मुख्य शहरमा आन्तरिक उडान गर्दै आएका छन्। सरकारी वायुसेवाले भने पहाडी क्षेत्रको उडानमा छूट दिने गरेको छ। विमान कम्पनीहरूका अनुसार गत वर्ष दशैँताका झन्डै एक लाखले हवाई यात्रा गरेकोमा यो वर्ष त्यो संख्या डेढ लाख पुग्ने अनुमान छ। पछिल्ला वर्षहरूमा सडकको खराब अवस्था अनि औसत नेपालीको आम्दानी बढ्दै गएकोले हवाई यात्रुको संख्यामा वृद्धि भइरहेको बताइन्छ।
श्राेतः janasawal.com