‘निर्मला पन्तको हत्यारालाई राज्यले बचाउन लागिरहेको छ’
काठमाडौं, २० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले पार्टीको केन्द्रिय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचनमार्फत चयन गर्नुपर्ने स्पष्ट पारेका छन् ।
शनिबार नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान आयोजित कार्यक्रममा नेता पौडेलले पार्टीभित्र अहिले आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने मुख्य चूनौति रहेको बताए । उनले भने,‘आन्तरिक लोकतन्त्र सुदृढ गर्नु अहिलेको चूनौति हो । त्यसैले हामीले अब सबै पदाधिकारी, केन्द्रिय समितिलगायतमा प्रत्यक्ष निर्वाचित प्रणाली स्थापित गर्नुपर्छ ।’
समितिका सभापति भीमबहादुर थापाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीभित्र यतिवेला अनुशासन उल्लंघन भैरहेकोले अनुशासन कायम गर्नको लागि पनि शक्तिशाली अनुशासन आयोग गठन गर्नुपर्ने पनि धारणा अघि सारे । उनले थपे,‘शक्तिशाली आयोग बनाउनुपर्छ, र यसले सबैलाई अनुशासनको दायरामा राख्छ । सभापतिलाईसमेत अनुशासनभित्र राख्न सक्नुपर्छ ।’ अब सभापतिले टिका लगाएर कोहीपनि नियुक्त गर्न नहुने उनको भनाई छ ।
पार्टीभित्र बसेर गलत गर्ने र अनुशासन नमान्नेहरुलाई कारबाही गर्न सक्ने मान्छे मात्रै अनुशासन समितिको नेतृत्वमा बस्नुपर्ने उनको भनाई छ । पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्नेबारेमा आफूहरुले यतिवेला छलफलमै रहेको पौडेलले सुनाए । उनले भने,‘पार्टीको सबै विद्यानहरुलाई हुबहु लागु गर्न नसक्नु पार्टी नेतृत्वको कमजोरी हो । अब पार्टीको विधान नवौंपटक संशोधन हुँदैछ । यसमा कुनै विमति छैन ।’
फरक प्रसंगमा उनले सत्तारुढ दल नेकपा र यसका नेताहरु अहिले पतनको बाटोमा अग्रसर रहेको आरोप लगाए । उनले भने,‘अहिले सत्तारुढ दल नेकपाका नेताहरु पतनको बाटोमा छन् । सरकारले अहिलेसम्म एउटापनि राम्रो काम गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले चुनावमा घोषणा गरेका प्रतिबद्धताबमोजिम कुनैपनि काम गर्न सक्नुभएन ।’ प्रधानमन्त्री ओलीले अहिलेसम्म सम्झनलायक एउटापनि राम्रो काम गर्न नसकेको उनको आरोप छ । उनले भने,‘मेलम्ची खानेपानी परियोजनापनि हाम्रै पालामा भएको हो । नारायणघाट–मुग्लिन सडक खण्डको स्तरोन्नती हाम्रै पालामा भएको हो । यो सरकारले के नयाँ काम गरेको छ र ?’
वर्तमान सरकारले चीन र भारतबाट रेल ल्याउने भनेर चर्चामात्रै गरेको सुनाउँदै उनले भने,‘भाषण गरेरमात्रै रेल आउँदैन् । रेल ल्याउने प्राविधिक पक्ष, लागतलगायत अन्य विषयमा कुनैपनि छलफल तथा अध्ययन भएको छैन् ।’ सरकारले बिना टेण्डर र बिना सूचना बुढीगण्डकी जलविद्युत परियोजना एकलौटी रुपमा चिनियाँ कम्पनीलाई दिएको भन्दै पौडेलले कडा आपत्ति जनाए । उनले भने,‘प्रधानमन्त्रीलाई यो अधिकार कसले दियो ?’
उनले प्रधानमन्त्री ओली अहिले सफल हुने दिशामा नरहेको समेत स्पष्ट पारे । उनले थपे,‘नेकपाभित्रै यतिवेला प्रधानमन्त्रीको कामकारबाही र कदमलाई लिएर माधव नेपाल पक्षले गम्भिर कुरा उठाएको छ । नेकपाभित्र अहिले विद्रोहको स्थिति सिर्जना भएको छ ।’ त्यस्तै उनले कोशीमा पानीको गहिराइ नभएकोले कसरी पानीजहाज चल्छ भन्दै उनले प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरे । नेता पौडेलले ३३ केजी सुन प्रकरण कोट्याउँदै भने,‘यो सुनकाण्ड कहाँ पुग्यो ? सिण्डिकेटको चर्चा सेलायो ।’
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण उल्लेख गर्दै उनले भने,‘सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्ने कुरा साँचो हौईन, खोज्न नसकेर होईन, नचाहेर नखोजेको हो । राज्य अपराधीलाई संरक्षण गर्न चाहन्छ । यस्ता कुराले राज्यमा विद्रोह पैदा गर्छ ।’
कार्यक्रममा बोल्दै नेपाली काङग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिको तर्फबाट बोल्दै प्रदिपराज अधिकारीले काङग्रेसलाई देशको मुलधारको राजनितीमा ल्याउनु अपरिहार्य रहेको बताएका छन् । पार्टीभित्रको आन्तरिक कमजोरी सबैलाई थाहा रहेकोले अब सबै मिलेर पार्टीलाई जनतामा लैजानुपर्नेमा जोड दिए ।
त्यस्तै, सुनसरी–काठमाडौ सम्पर्क समितिको तर्फबाट बोल्दै बिष्णु कार्कीले अहिलेको अवस्थामा पार्टीलाई एकमतको आवश्यक्ता रहेको बताए । उनले भने,‘बर्तमान अवस्थामा पार्टीभित्रको विवाद साम्य पारेर नयाँ योजनाको साथमा जनातामा जानु नै हो ।’ जनताले आफ्नो पार्टीले बिगतमा गरेका कामहरुको उचित मुल्याङकन गरिरहेकाले अबको निर्वाचनमा देश काङग्रेसमय बनेर उदाउने विश्वास दिलाए ।
शुभकामना आदान प्रदानको क्रममा बोल्दै सम्पर्क समन्वय समितिका सभापति एवम् रौतहट–काठमाडौँ सम्पर्क समितिको तर्फबाट बोल्दै सुवास कोईरालाले नेपाली काङग्रेस विचारले र भावनाले पछि नपरेको बताए ।
पाँच जना मानिस भएको ठाँउमा कसरी तीन जना कम्युनिष्टहरु रहेको छन भनि प्रति प्रश्न गर्दे उनले भने,‘हामीले सम्पर्क समितीमा रहेर राजनिती रोजेका छैनौ, निर्वाचनको बेला पार्टीले आफ्ना कार्यकर्तालाई गृह जिल्लामा फर्काउन महत्वपूर्ण भुमिका खेल्न सक्नुपर्नेछन ।’ सबै मिलेर पार्टीलाई माथि लैजान आवश्यक रहेको उनले बताएका थिए ।
कार्यक्रममा जिल्ला कार्यसमिति धनकुटाका सदस्य निर्मलप्रसाद ओझा, जिल्ला कार्यसमिति सदस्य विजय सन्तोषी राई, नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाका सल्लाहकार गोपालप्रसाद अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा समितिले नेता पौडेललाई सम्मानसमेत गरेको थियो ।