गोरखा –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूभित्रको गुट उपगुट त्याग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । शनिबार गोरखामा कार्यकर्तालाई प्रशिक्षण मन्तव्य दिँदै अध्यक्ष प्रचण्डले गुटले आफूलाई नै कमजोर बनाउने बताए । ‘हामीले राजनीतिक हिसाबमा असाधारण काम गरेका छौं, अहिले सबैको विश्वास हामीमाथि छ’ उनले भने, ‘अब काम गरेर देखाउने बेला आएको छ, गुट र स्वार्थ त्याग्ने बेला भयो, यसले कसैलाई फाइदा गर्दैन ।’
बाम एकताप्रति जनताको ठूलो विश्वास रहेको भन्दै प्रचण्डले यसलाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् । पछिल्लो समय संसारभरका प्रतिकृयावादीहरुको टाउको दुखाईको बिषय बाम एकता बनेको भन्दै उनले काम गर्न नदिने खेल सुरु भइसकेकाले सजग रहन कार्यकर्तालाई आह्वान समेत गरेका छन् । ‘अहिले सबैको टाउको दुखाई हामी र हाम्रो एकता बनेको छ, प्रतिकृयावादीको आँखा हामीमाथि परेको छ, सबै सजग रहनुहोला, काम गर्न नदिने खेल सुरु भइसकेको संकेत हामीले पाएका छौं,’ उनले भने ।
देश सम्वृद्धिको महाअभियानमा प्रवेश गरेको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताको आवश्यकता अनुसार काम गर्नुपर्ने बताएका छन् । प्रतिकृयावादीलाई फाइदा हुने गरी काम नगर्न पनि कार्यकर्तालाई उनले निर्देशन दिएका छन् ।त्यस्तै उनले पार्टी एकतापछि तल्लो तहसम्म पनि नेतृत्वलाई विवादरहित रुपमा टुंग्याउन आह्वान गरेका छन् । केन्द्रमा नेतृत्वको बिषयमा कुनै विवाद नरहेको बताउँदै उनले पार्टी्भित्र गुट र उपगुटको खेलमा नलाग्न समेत सबैलाई निर्देशन दिए ।
गोरखा चेम्बर अफ कमर्सले शनिबारबाटै गोरखामा आयोजना गरेको दशैं सस्तो बजार तथा सडक महोत्सवको उद्घाटन गर्दै प्रचण्डले सार्वजानिक–निजी क्षेत्रको सहकार्य आजको आवश्यकता रहेको बताएका छन् । ‘देश नयाँ अध्यायमा प्रवेश गरिसकेको छ, अब सरकार र निजी क्षेत्रको साझेदारी र हातेमालो जरुरी छ’ उनले भने, ‘देश बनाउने जिम्मेवारी सबैको काँधमा छ, यसलाई पूरा गर्नुपर्छ ।’ देशमा रोजगारी र उत्पादन सिर्जना गर्न आवश्यक रहेको बताउँदै प्रचण्डले अहिलेको अवसरलाई गुमाउन नहुनेमा जोड दिएका छन् । ‘हामीलाई विकास र सम्वृद्धि चाहिएको छ, यसमा कसैको दुई मत छैन, अब विकास गर्ने अवसर मिलेको छ, यसलाई गुमाउनुहुँदैन्’ उनले थपे, ‘सरकार र निजी क्षेत्रको सम्बन्धलाई गुणात्मक रुपमा विकास गर्दै साझेदारी बढाउनु पर्छ ।’
प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुङ्ग्याउँछौ ः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताएका छन् । वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार यहाँ आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उनले भने, “पार्टी एकतालाई सुदृढ गरिन्छ, हिजो मात्रै प्रधानमन्त्रीसँग छलफल भएको छ, आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश जिल्लाको पार्टी एकता र जन सङ्गठनको एकतालाई छिट्टै टुङ्याउने गरी जाँदैछौ, यसमा कुनै समस्या छैन ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सरकारको काम कारवाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको उल्लेख गरे ।
“सरकारको कामलाई प्रभावकारी बनाउन हामी समीक्षा गर्दैछौँ, मानिसले विभिन्न प्रश्न उठाएका छन्, तर हामी सबै एकै ठाउँमा छाँै, समृद्धि, सामाजिक, न्याय र सुशासनको विषयमा सैद्धान्तिक र राजनीतिक रूपमा कुनै द्वीविधामा छैन तर, त्यसलाई कार्यान्वयनको प्रभावकारिता ठीक ढङ्गले जनताले महसुस गर्ने गरी कार्यान्वयनको चुनौतीलाई सँगै अगाडि बढाउँछौँ”, उनले भने । जनताले विश्वासका साथ पार्टीलाई मत दिएर शक्तिशाली बनाएको भन्दै उनले जनताको विकास निर्माण, सुशासन र समृद्धिको अपेक्षालाई पूरा गर्न नेतृत्व र सबै सचेत नागरिक एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले लामो सङ्घर्ष र बलिदानीपश्चात् नेपालमा अहिले विशिष्ट प्रकृतिको असाधारण राजनीतिक परिस्थिति सिर्जना भएको बताउँदै त्यसको महत्व र गहिराइलाई गम्भीर चिन्तनमनन गरेर सम्भावनासँगै ठूल्ठूला चुनौतीको सामनाका साथ अघि बढ्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्यूठान जिल्लाको प्रतिनिधित्वको हिसाबले आफूले अघि सारेको विकास निर्माणको प्रतिवद्धताअनुरूप बाँकी काम पूरा गर्न सक्रिय ढङ्गले लाग्ने बताए । नेकपाका केन्द्रीय सदस्य विजय गुरुङ, सांसद कृष्णध्वज खड्का, युवा नेता भोजविक्रम बुढालगायतले पार्टीको तल्लो तहसम्मको एकता प्रक्रियालाई चाँडो टुङ्ग्याई जनताको समृद्धिको अपेक्षालाई सार्थक तुल्याउन नेतृत्व वर्ग र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्यूठान जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
श्राेतः janasawal.com