प्रदर्शनअघि नै ‘छक्का पञ्जा ३’को रकेर्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २३ गते, मंगलवार १५:०४

काठमाडौं । हास्ँयकलाकारहरुको टीमले बनाएको पाचौँ चलचित्र ‘छक्का पञ्जा ३’ घटस्थापनाको दिनबाट प्रदर्शन हुदैँछ । आफ्नो चलचित्र कसरी प्रचार गर्नुपर्छ भनी जानेको टीम यतिबेला प्रचारप्रसारको अन्तिम चरणमा छ । भोलीबाट प्रदर्शन हुदैँ गरेको चलचित्रको अग्रिम टिकट बुकिङ सोमबार अर्थात हिजोबाट खुलेको हो । चलचित्रले अग्रिम बुकिङमा पाएको शो र टिकट बुकिङको रफ्तार देख्दा चलचित्रले बम्पर ब्यापार गर्ने निश्चित छ ।

हरेक चलचित्रबाट एक न एक रेकर्ड बनाउँदै आएको ‘छक्का पञ्जा’ को तेश्रो सिरिज ‘छक्का पञ्जा ३’ले पनि प्रदर्शन अघि नै रेकर्ड बनाएको छ । चलचित्रको पहिलो गीत ‘पहिलो नम्बरमा’ सर्वाधिक छोटो समयमा १ करोड युट्युब भ्युज पाउने पहिलो गीत बन्यो । यस्तै अहिले चलचित्रले मल्टिप्लेक्समा पाएको शो संख्याले पनि रेकर्ड कायम गरेको छ ।

सर्वाधिक शोः
नेपाली चलचित्रको इतिहासमा आजसम्म पनि कुनैपनि चलचित्रले यति धेरै शो संख्या नपाएको दीपकको दाबी छ । ‘अहिलेको शो संख्या नेपाली चलचित्रले पाएको सबैभन्दा धेरै शो हो’ दीपकले भने, ‘टिकट बुकिङको रफ्तार पनि बढीरहेको छ ।’ भोलीदेखि देशब्यापी रुपमा प्रदर्शन हुन लागेको चलचित्र १ सय ४५ भन्दा बढी हलहरुमा प्रदर्शन हुने दीपक बताउँछन् । चलचित्रलाई क्युएफएक्समा मात्र ३० शो दिएको छ । यस्तै राजधानी र राजधानी बाहिरका अन्य क्युएफएक्सहरुमा पनि शोले सर्वाधिक शो पाएको छ ।

कथाबस्तुः
चलचित्र ‘छक्का पञ्जा ३’ नेपालको शैक्षिक अवस्थाको कथामा बनाईएको हो । चलचित्रमा कमेडीसँगै कन्टेन्टलाई पनि ध्यान दिईएको दीपकको भनाई छ । ‘हाम्रो यसअघिका चलचित्रहरुमा १० प्रतिशत कन्टेन्ट र ९० प्रतिशत कमेडी हुन्थ्यो ।’ दीपक थप्छन्, ‘तर यो चलचित्रमा ५० प्रतिशत कमेडी र बाँकी ५० प्रतिशत कन्टेन्ट छ ।’

 

चलचित्रको ट्रेलर तथा पोस्टरमा कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार प्रसाद घिमिरे र बुद्धि तामाङ कहिले विद्यार्थी त कहिले शिक्षकको भेषमा देखिएका छन् भने नायिका दीपिका प्रसाइँ शिक्षिकाको भुमिकामा देखिएको अनुमान लगाउन सकिन्छ । यस्तै देशका सामुदायिक विद्यालयमा पढाईको स्तरको पनि चलचित्रले हाँस्यशैलीमा हाँस्यशैलीमा उदाङ्गो पार्ने धेरैको अनुमान छ ।

प्रचारप्रसारः
प्रचारप्रसारलाई तीव्रता दिईरहेको चलत्रिचले आजबाट भने प्रचारलाई तुलनात्मक रुपममा कम पारेको छ । यसअघि आक्रामक प्रचारप्रसार गरेको चलचित्रको प्रचारप्रसारको काम सकिएको निर्मातामध्येका एक दीपक राज गिरी बताउँछन् । ‘हामीले जे–जति गर्नु थियो गरिसक्यौँ ।’ दीपक भन्छन्, ‘अब चलचित्र दर्शकसामु गइसकेको छ ।’ दर्शकहरु पनि चलचित्र हेर्न आतुर भएको दीपकको आशा छ ।

आमा सरस्वती मुभिज र आइएमइको ब्यानरम बनेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको चलचित्रलाई सुमन गिरी ‘भाञ्जा’, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजगाइँ ‘निशान’, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनियाँ र केशब न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको यसअघि सार्वजनिक गीत र ट्रेलरलाई पनि दर्शकहरुले खुब रुचाएका छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु