म्याग्दी, २७ असोज । म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु भएको छ। टोलीमा ५ कोरियाली नागरिक तथा बाँकी नेपाली रहेका छन्। धवलागिरि गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले ९ जनाको शव फेला परेको आफूले सूचना पाएको बताइन्। हावाहुरी आएका कारण टेन्टसमेत उडाएको भन्ने खबर आयो, उनले भनिन्। काठमाडौंको ‘प्रोजेक्ट वे’ नामक ट्रेकिङ एजेन्सीबाट १२ जना गुर्जा हिमाल आरोहणका लागि गए पनि अन्य ३ जना भने बीच बाटोबाटै फर्किएका थिए। म्याग्दी प्रहरीले घटनास्थलमा पुग्नका लागि प्रयास भइरहेको जनाएको छ। उद्धारका लागि घटनास्थलमा नेपाली सेनाको हेलिकोप्टर पठाइए पनि अवतरण गर्न नसकेपछि फिर्ता आएको छ। घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्यमा कठिनाइ हुने बताइएको छ। गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट असोज २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो। टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए। तर, उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए।
janasawal.comबाट