काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गैरआवासीय नेपाली विज्ञको विश्व सम्मेलनबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरेर ज्ञान, सीप र प्रविधिमा अधिक लगानी गरी नेपालको समृद्धिमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समितिका पदाधिकारीले दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि लगानीमैत्री नीति र वातावरण तयार गर्न सरकारलाई आह्वान गर्दै जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउन सकिने पत्रकार सम्मलेनमा बताए । समृद्ध नेपाल सुखी नेपाली बनाउने वर्तमान सरकारको सपना साकार पार्न संघले सक्दो सहयोग गर्ने बताउँदै नेपालको विकासको अबको कार्यसूची आर्थिक समृद्धि नै हुनुपर्नेमा जोड दिइएको छ । यसको साथै, सम्मेलनले विदेशी ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा विशेष जोड दिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको उक्त सम्मेलनमा विश्वभरका चार सय जना विज्ञको सहभागिता रहेको थियो ।
विभिन्न सत्रमा गरी १ सय ६० वटा कार्यपत्र प्रस्तुत गरिएको उक्त सम्मेलन निकै फलदायी र उपलब्धीमूलक भएको सम्मेलनमा सहभागी विज्ञहरुले बताएका छन् । एनआरएनलाई ब्यापारीको मात्र संस्था भएको भन्दै आलोचना भइरहेको बेला पहिलो पटक आयोजना गरिएको विज्ञ सम्मेलनले अब एनआरएनमा विज्ञहरुको प्रवेशसँगै एनआरएन नयाँ ढंगले अगाडि बढ्ने विज्ञहरुले बताएका हुन् । यस्तै, सम्मेलनमा सहभागी धेरैजसो विज्ञहरुले विश्वभरी छरिएर रहेका विज्ञहरु समेट्ने कार्यको थालनी भएकोमा खुसी ब्यक्त गरेका छन् । नेतृत्व तहमै विज्ञहरुको खाँचो रहेको र एनआरएनमार्फत नेपालमा विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याएर आर्थिक सम्मृद्धि गर्नुपर्ने धारणा राखेका छन् । सम्मेलनमा सहभागी अमेरिकामा बस्दै आएका रवर बैज्ञानिक तिलक भण्डारी विज्ञ सम्मेलन निकै फलदायी र उपलब्धीमूलक भएको बताउँछन् । एनआरएन स्थापना भएको पन्ध्र वर्षपछि पहिलो पटक विज्ञहरुलाई समेट्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन निकै फलदायी र विदेशी पूँजीसँगै ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा सहयोगी बनेको भण्डारीले प्रतिक्रिया दिए ।
नेपालमा रवर खेतीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका भण्डारीले अब एनआरएनमा विज्ञहरुको प्रवेश भएको र विज्ञहरु भित्र्याउने अभियान शूरु भएको बताए । एनआरएन अभियानमार्फत नै विदेशी ज्ञान, सिप र प्रविधि नेपालमा भित्र्याउन सकिने एक मात्र फोरम भएको उल्लेख गर्दै पहिलो सम्मेलनले समेट्न नसकेका र सम्पर्क मा नरहेका विज्ञहरु पनि विस्तारै यो फोरममा ल्याउनुपर्नेमा जोड दिए । सम्मेलनमा सहभागी अर्का विज्ञ श्रीराम भगत माथे एनआरएनको विज्ञ सम्मेलनप्रति आफू निकै उत्साहीत भएको बताउँछन् । नेपालमा विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउन नसक्दा नेपाल पछाडि परेको बताउँदै विज्ञ सम्मेलनले सम्मृद्ध नेपाल, खुसी नेपाली अभियानलाइ सघाउ पुगेको बताए । क्याम्बोडीयामा बस्दै आएका शिक्षा विज्ञ माथेले सम्मेलनमा शिक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालमा शिक्षा क्षेत्रको बृहत्तर विकास नगरी सम्मृद्ध नेपालको कल्पना गर्न नसकिने बताउँदै शिक्षा गुणस्तरीय हुनुपर्ने खाँचो औल्याए । शिक्षामा विभेद हुन नहुने र सबैलाई समान शिक्षा दिएर शिक्षाको माध्यमबाट नैतिक ज्ञान दिन भने अत्यन्तै आवश्यक भएकोमा जोड दिए । क्याम्बोडीयाको उदाहरण पेश गर्दै माथेले दुई वर्षमा सो देशले शिक्षामा फड्को मारेको बताए । उनले सम्मृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि गुणस्तरीय शिक्षा आवश्यक भएको बताउँदै नेपालले विदेशी अनुभवबाट पाठ सिक्न जरुरी रहेको बताए । उनले सम्मेलनले अझै धेरै विज्ञहरुलाई समेट्दै लैजानुपर्ने बताउँदै एनआरएनमार्फत ज्ञान, सिप र प्रविधि भित्र्याउने बताए ।
सम्मेलनमा कोरियाबाट सहभागी भएका इनभारोमेन्ट ईन्जिनियर शेर बहादुर तामाङ्गले एनआरएनको विज्ञ सम्मेलनले विज्ञहरुलाई समेट्ने कार्य गरेकोमा खुसी ब्यक्त गरे । उनले कोरियाको अनुभव नेपालको लागि निकै उपयुक्त रहेको भन्दै एनआरएनले गरेको सम्मेलन राम्रो भएपनि यसलाई सरकारले कार्यान्वयनमा लगे मात्र सार्थकता पाउने बताए । हरेक दुई दुई वर्षमा सम्मेलन हुनु निकै राम्रो भएपनि सरकारले यस्तो सम्मेलनलाई कती महत्व दिन्छ र कार्यान्वयनमा लग्छ भन्ने विषयले सम्मेलनको अर्थ राख्ने बताए । उनले एनआरएनमा विज्ञहरुको पनि प्रवेश गराउने अभियान सुरु भएकोमा अब विज्ञहरु विस्तारै एनआरएन फोरममार्फत ल्याउनुपर्ने बताए । समाजिक वन विज्ञान विज्ञ कृष्णप्रसाद पोखरेल एनआरएनलाई लाग्दै आएको ब्यापारीको संस्था अब त्यो अवस्थाको अन्त्य भएको बताउँछन् । पहिलो विज्ञ सम्मेलनले एनआरएन अब ब्यापारी मात्र नभई विज्ञहरुको पनि संस्था रहेको अनुभव गरेको पोखरेलको प्रतिक्रिया छ । विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याएर नेपालको आर्थिक सम्मृद्धि गर्न सकिने र विस्तारै अन्तराष्ट्रिय बजारमा पुर्याउने काममा सघाउ पुग्ने बताए । पहिलो विज्ञ सम्मेलन भएकाले सम्मेलनमा व्यवहारिक भन्दा बढी सैद्धान्तिक कार्यपत्र प्रस्तुत भएपनि आगामी दिनमा परिस्कृत हुँदै जाने धारणा राखे ।
एनआरएन विज्ञ सम्मेलनका संयोजक एवं आइसिसी उपाध्यक्ष कुमार पन्तले विज्ञ सम्मेलन भब्य रुपमा सम्पन्न भएको दाबी गरे ।
एनआरएनमा विज्ञ सम्मेलनको प्रस्ताव विगतदेखि नै आफूले राखेको बताउँदै लामो समयको प्रयासपछि पहिलो विज्ञ सम्मेलन सफल भएको बताए । एनआरएनलाई फरक तरिकाले लैजानुपर्छ भन्ने उद्देश्यले विगतदेखि आफूले यस्तो प्रस्ताव राखिएको उपाध्यक्ष पन्तको भनाई छ । उपाध्यक्ष पन्तले एनआरएनमा अब विज्ञहरुको प्रवेश शूरु भएको बताए । नेपालको आर्थिक सम्मृद्धिलाई टेवा पनि पुग्ने र एनआरएनमा विज्ञहरुलाई समेट्न हरेक दुई–दुई वर्ष आयोजना हुने बताए । उनले सम्मेलनसँगै अब एनआरएनको नेतृत्व तहमै विज्ञहरु आउने विश्वास ब्यक्त गरे ।
‘विश्वभरी बसोबास गरिरहेका नेपाली विज्ञहरु हरेक क्षेत्रमा रहेको पाइएको छ, कतीपय एनआरएनमा टच नै नभएका विज्ञहरु पनि सम्मेलनमार्फत समेटीनु भएको छ’, उनले भने ‘पहिलो भएकाले सबैलाई समेट्न नसकिएको पनि हुन सक्छ । अब विस्तारै यो अभियानको थालनीले सम्र्पकमा नआएका विज्ञहरु आगामी सम्मेलनमा समेटने प्रयास गर्नेछौ ।’ उनले अब हरेक दुई दुई वर्षमा सम्मेलन हुने बताउँदै कहाँ कहाँ नेपाली विज्ञहरु छन भनेर एनआरएनले खोज्दै जाने जानकारी गराए ।
सम्मेलनमा प्रस्तुत विषयमा सरकारले कार्यान्वयनमा लगे मात्र सार्थकता पाउनेछ । हरेक दुई–दुई वर्षमा सम्मेलन हुनु सकारात्मक हो । सरकारले यस्तो सम्मेलनलाई कती महत्व दिन्छ र कार्यान्वयनमा लग्छ भन्ने विषयले सम्मेलनको अर्थ राख्नेछ ।