काठमाडौं : काठमाडौं विश्वका १० उत्कृष्ट घुम्न लायक शहरको सूचीमा परेको छ । घुमफिरका गन्तब्यबारे जानकारी सार्वजनिक गर्दै आएका अमेरिकी ट्राभल गाइड ‘लोन्ली प्लानेट’ले सन दुई हजार १९ मा घुम्न लायक भनेर सार्वजनिक गरेको दश शहरको सुचिमा राजधानी काठमाडौं पनि समावेश भएको हो ।
काठमाडौँ सूचिको पाँचौँ नम्बरमा छ । सूचिको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्बियाको नोवी साद तथा अमेरिकाको मायामी चौथो नम्बरमा छन् ।
त्यस्तै छैटौ नम्बरमा मेक्सिकोको मेक्सिको सिटी, सातौमा सेनेगलको दाकार, आठौंमा अमेरिकाको सियाटल, नबौंमा क्रोएसियाको जादार र दशौंमा मोरक्कोको मेक्नेस शहर परेका छन् ।
लोन्ली प्लानेटले आफ्नो बेवसाइटमा तीन बर्षअघिको भुकम्पलाई भुलेर काठमाडौं विश्वभरका पर्यटकलाई स्वागत गर्न आतुर रहेको उल्लेख गरेको छ । अधिकांश ऐतिहासिक क्षेत्र पर्यटकीय क्षेत्र भुकम्पपछि पुर्ननिर्माण भएको र केही हुन नसकेको पनि उसले उल्लेख गरेको छ ।
लोन्ली प्लानेटले काठमाडौमा विद्युत आपूर्ति र इन्टरनेट सुबिधा पनि राम्रो रहेको जनाएको छ । लोन्ली प्लानेटले हरेक वर्ष उत्कृष्ट शहरहरुको सूचि निकाल्ने गरेको छ ।