काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए ।
गत वर्ष सङ्घ र प्रदेशको निर्वाचनको कारणले चियापानको आयोजना गरिएको थिएन । चियापानको तयारीबारे बुधबार नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गरे।
चियापानका लागि नेकपाले करीब ५० हजारलाई निम्ता गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार चियापानमा करीब ३५ हजार सहभागी हुने छन् । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ ।
केन्द्रीय सदस्य श्रेष्ठले दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको बताए । दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुने छन् ।
चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयम्सेवक परिचालन गरिने छ ।