काठमाडौं, ८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्य भरत बहादुर खड्काले प्रदेश सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार दिन कञ्जुस्याँई गरेको आरोप लगाए ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले झगडा गर्ने बेला होईन । संघीय सरकारले प्रदेशलाई अधिकार दिनुपर्छ । कञ्जुस्याँई गर्नुहुँदैन् ।’
प्रदेश अहिले पनि प्रभावहिन रहेको उनको गुनासो छ । उनले भने,‘७ नम्बर प्रदेशमा हामीले २ पटकसम्म बजेट ल्याईसक्यौं । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन् । बजेट कार्यान्वयन गर्ने संयन्त्र नै छैनन् । त्यतातिर संघीय सरकारले ध्यान दिनुपर्यो ।’ प्रदेशप्रति जनताको अहिले वितृष्णा बढेको उनको भनाई थियो ।
उनले अहिलेपनि मुलुक संक्रमणकै अवस्थामा रहेको बताए । उनले भने,‘यस्तो अवस्थामा तीनै तहबीच सहकार्य, समन्वय र एकता हुनुपर्छ । अहिले झगडा गर्ने बेला होईन् । तर, केन्द्रिय सरकारको नेतृत्वकर्ताले अहिले पनि निरंकुशता सोच राख्नुभएको छ । यही तरिकाले गयो भने ठूलो दुर्घट्ना हुन्छ ।’ उनले संघीय मोडेल फेल खायो भने मुलुक फेल खाने बताए ।
प्रधानमन्त्री आफूहरुको पनि अभिभावक भएको बताउँदै उनले प्रधानमन्त्री ओलील्ले बोल्ने भाषा र बोली चित्तबुझ्दो नभएको टिप्पणी गरे । उनले भने,‘कहिले अरिंगाल भनेको छ, कहिले के भनेको छ ? सत्ताको धम्कीको भरमा सरकार चल्दैन् । दुई तिहाईको बहुमतको दम्भको बलमा सरकार चल्दैन् । संविधानको सफल कार्यान्वयनको विकल्प छैन् । संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन तथा ऐनहरु बनाउने व्यवस्था गर्नुपर्छ ।’