काठमाडौं, ९ कात्तिक ।नेकपाका प्रदेश नम्बर २ का ईन्चार्ज एवम् प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले राजपा र फोरमको सीके राउत र सशस्त्र समूहरुसँग अन्तरसम्बन्ध रहेको आरोप लगाएका छन् ।
उनले भने,‘संविधान दिवसको दिन जनकपुरको रामानान्द चोकमा सीके राउतले मधेशलाई आजादी चाहिएको छ भनेर हिन्दीमा भाषण ठोके । छुट्टै देश बनाउनुपर्छ भनेर भाषण ठोके तर त्यसको २ नम्बर प्रदेशको सरकारले निन्दा र भत्र्सनापनि गर्न सकेन ।’
त्यस्तै उनले प्रदेश नम्बर २ को सरकारको ०७५÷७६ को बजेटमा हिन्दीमा कोटेशन फिट गरिएको भन्दै आपत्ति पनि जनाए । मण्डलले थपे,‘अब हामीलाई शंका लाग्न थालेको छ । मधेशी दलहरुको सीके राउतसँग अन्तरसम्बन्ध छ । उहाँहरुको अप्रत्यक्ष रुपमा देश टुक्रयाउन सहयोग छ भन्ने कुरा अहिले आएर मलाई विश्वास भयो । राष्ट्रमा संकट खडा गर्न उनीहरुको भूमिका छ।’
उनले भने,‘२ नम्बर प्रदेशमा राजपा र फोरमको संयुक्त सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभामा निम्तो गरियो, उहाँले सम्बोधन गर्दा विरोध गरियो । उनीहरुले नौटंकी देखाए । संविधान दिवसको दिन कालो झण्डा बोक्नु कतिको उचित हो ?’
त्यस्तै उनले प्रदेश नम्बर २ को सरकारले नीति आयोग बनाएकोमापनि आपत्ति जनाए । उनले भने,‘२ नम्बर प्रदेशमा योजना आयोगको नाम बदलेर नीति आयोग नाम राखियो । यो नीति आयोग नाम किन राखियो भनेर हामीले जिज्ञासा राख्दा उहाँहरु बिहारमा नीति आयोग छ भन्नुहुन्छ । यो प्रदेश कसले चलाएको छ ?’ मण्डलले २ नम्बर प्रदेशमा सत्तारुढ दल फोरम र राजपाले प्रथम चौमासिक बजेटको ७५ प्रतिशत बजेट एनजिओलाई बाँडेको पनि आरोप लगाए ।
फरक प्रसँगमा उनले २ नम्बर प्रदेशले प्रहरी ऐन ल्याउँदा आफूहरुले विरोध नगरेको जनाए । यद्धपी उनले अहिले हतार नगरौं भनेर बारम्बार आग्रह गरेको स्पष्ट पारे । उनले भने,‘२ नम्बर प्रदेशमा अस्थिरता नआओस् भनेर हामीले बजेट ल्याउँदापनि विरोध गरेनौं । कहिल्यैपनि हामी विरोधमा गएका छैनौं । अहिलेपनि प्रदेश लोकसेवा आयोग ऐन ल्याएको छैन् । मधेशका जनताको हितमा काम गर्नुपर्छ । तर, हामीले अहिले प्रक्रियामा विरोध गरेका छौं ।’