कम उमेरमै बलात्कारको शिकार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १० गते, शनिबार १२:५०

काठमाडौँ : बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या यसैको एउटा उदाहरण हो । देशलाई नै तरङ्गीत पार्ने यस्ता घटना दैनिकजसो घटिरहेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार जबर्जस्ती करणीका पीडित १८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत रहेका छन् । करणीमा १८ देखि २५ वर्षका १८ प्रतिशत र २६ देखि ३५ वर्षका १० प्रतिशत पीडित छन् ।

बलात्कारका घटनामा बढी बालिका पीडित भइरहँदा पीडक भने १६ देखि २५ वर्षका व्यक्तिको संलग्नता ४० प्रतिशत बढी छ । “तथ्याङ्कले १८ वर्ष कम उमेरका बढी जोखिममा रहेको पाइयो, त्यसैले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम पनि स्कुल केन्द्रित गर्न लागिएको हो”, महानिरीक्षक खनालले भने।

आपराधिक घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले यही कात्तिक ११ गतेबाट उक्त कार्यक्रम देशैभरि लागू गर्ने तयारी गरेको छ । खनालले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईलगायत विभिन्न मन्त्रालयका सचिव र उपत्यकाको स्थानीय तहका प्रमुखलाई समेत उक्त विवरण प्रस्तुत गर्दै समुदायसँग मिलेर आपराधिक क्रियाकलाप रोक्न प्रहरी लागिपरेको जानकारी गराएका छन् ।

आव २०७४/७५ मा जबर्जस्ती करणीका एक हजार ४८० मुद्दा दर्ता भएका छन् । जसमा १० वर्षमुनिका २६१ र ११ देखि १६ वर्षका ५५० जना जबर्जस्ती करणीबाट पीडित भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । अरु १० प्रतिशत १७ देखि १८ वर्षका छन् । करणी उद्योगतर्फ ७२७ मुद्दा दर्ता भएका छन् ।

जबर्जस्ती करणीमा १६ वर्षभन्दा कम उमेरका सात प्रतिशतको संलग्नता रहेको पाइएको छ । सबैभन्दा बढी १६ देखि २५ वर्षका ४० प्रतिशत बलात्कारमा संलग्न छन् । हत्यामा १६ देखि २५ वर्षका ३० प्रतिशत र मानव बेचबिखनमा २३ प्रतिशतको सहभागिता छ ।लागुऔषधमा १८ वर्षभन्दा कम उमेरका नौ प्रतिशत र १९ देखि २५ वर्षका ४७ प्रतिशत संलग्न रहेको प्रहरीले जनाएको छ । कतिपय अझै पनि गुपचुपमै रहने गरेकाले पनि जघन्य अपराध बाहिर नआएको अधिवक्ता फूलमायाँ रानाभाट बताउँछन् ।

आपराधिक घटनामा १६–२५ वर्षका बढी 

विभिन्न आपराधिक घटनामा १६ देखि २५ वर्षका व्यक्तिको सहभागिता ३८ प्रतिशत रहेको पाइएको छ । प्रहरीले उनीहरुलाई केन्द्रित गरेर साझेदारी अभियान शुरु गर्न लागेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बताउँछन् । घटनामा २९ देखि ३५ वर्षका व्यक्तिको सहभागिता भने ३० प्रतिशत रहेको पाइएको छ । कुल अपराध पिडितमा १६ देखि २५ वर्षका २४ प्रतिशत, २६ देखि ३५ वर्षका २८ प्रतिशत र ३६ देखि ४५ वर्षका २२ प्रतिशत भेटिएका छन् । बलात्कार घटनामा १६–२५ वर्षका ४० प्रतिशतको संलग्नता छ । हत्याका घटनामा पीडितको अवस्था २६ देखि ३५ वर्षका २७ प्रतिशत रहेको प्रहरीले जनाएको छ । प्रहरीको दिएको तथ्याङ्कअनुसार गएको आवमा ३९ हजार ३१५ वटा विभिन्न आपराधिक घटना भएका छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु