प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १३ गते, मंगलवार ०८:२३

काठमाडौँ, १३ कात्तिक । धपेडी र आरामको कमीले प्रधानमन्त्री अस्वस्थ हुनुभएको डाक्टरहरुले बताएका छन् । दसैँको बेला टीकाटालो र भेटघाटमा बढी नै व्यस्त हुनुभएकाले उहाँलाई संक्रमण देखिएको हो ।

डाक्टरहरुले भेटघाट कम गर्न र पर्याप्त आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्रीले पहिलेजस्तै भेटघाटलाई निरन्तरता दिनुभएको थियो । राति पनि कम सुत्नुहुन्थ्यो । मौसमी रुघाखोकीले समेत असर गरेपछि शुक्रबारदेखि उहाँको स्वास्थ्य कमजोर बन्दै गएको हो ।

अस्वस्थ भएपछि शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि उहाँ सहभागी हुन सक्नुभएन । सोमबार बिहान उहाँलाई अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको र स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको डाक्टरहरुले बताएका छन् ।

११ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई तीन वर्षअघि फंगल इन्फेक्सन भएको थियो । थाइल्यान्डमा लामो समय उपचार गराएपछि उहाँको स्वास्थ्यमा सुधार आएको थियो ।

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा बेलाबेला विभिन्न समस्या देखिरहने डाक्टरहरु बताउँछन् । ११ वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले वर्षैपिच्छेजस्तो थाइल्याण्ड, भारत र सिंगापुरमा स्वास्थ्य जाँच गराउँदै आउनुभएको छ । गएको पुषमा पनि उहाँ थाइल्याण्ड जानुभएको थियो ।

अंग प्रत्यारोपण गरेका व्यक्तिको स्वास्थ्य अवस्था संवेदनशिल हुने भएकाले धेरै दौडधुप नगर्न, खानपानमा ध्यान दिन र भिडभाडमा नजान डाक्टरले सुझाव दिन्छन् । तर प्रधानमन्त्री ओली भने नियमित कार्यक्रममा जाने, धेरैजनासँग भेटघाट गर्ने र आराम भने कम गर्नुहुन्छ । यसपटक पनि उहाँ गएको मंगलबारदेखि नै सामान्य अस्वस्थ हुनुभएको थियो ।

डाक्टरहरुले आराम गर्न सुझाव दिएका थिए । तर उहाँले ख्याल नगर्दा चिसो लाग्यो, खोकी लाग्यो र छातीमा संक्रमण देखियो । उहाँको समस्या पत्ता लागेको र आत्तिनुपर्ने अवस्था नरहेको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा।डा। उत्तमकृष्ण श्रेष्ठले बताउनुभयो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु