काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत प्रधानमन्त्री ओलीले सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गरेका छन् । उनले दङ्गा, हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले सुशासनलाई बिथोल्ने जनाउँदै शान्ति सुव्यवस्था भङ्ग गर्ने आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिने र विकासको मार्ग भत्किनेतर्फ सबैलाई सचेत गराएका छन् ।
चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने उल्लेख गर्दै उनले विगतमा झैँ समग्र देशवासीबाट सहयोग र सद्भाव निरन्तर पाउने अपेक्षा गरेका छन् । प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चारमाध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनशाय भएका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ । यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’
प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुन सक्ने सङ्क्रमणको रोकथामका लागि आफू उपचार गराइरहेको उल्लेख गरेका छन् । उनले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेता, संवैधानिक अङ्ग, विदेशी कूटनीतिक नियोग, कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्वयाद ज्ञापन गरेका छन् ।
स्वास्थ्यस्थिति सुधारोन्मुख
प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको सो अस्पतालले जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको सङ्क्रमण नियन्त्रण गरी उनको स्वास्थ्यलाभ गराउनु पहिलो प्राथमिकता भएकाले उनलाई भेटघाट गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्ने महानुभावको आकाङ्क्षालाई आत्मसात् गरिए तापनि भेटघाट गराउन नसकिने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीका विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पक्राउ
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा भ्रमपूर्ण समाचार लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ’भ्रमपूर्ण समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जनमा गरेको’ भन्दै पाथिभरा अनलाइन डटकमका सम्पादक हरि प्रसाद मानन्धरलाई पक्राउ गरिएको हो । उनलाई विद्युतीय अपराध तथा कसुर अन्तरगत कारबाही सुरु गरिएको बताइएको छ ।
ओलीसँगको भेटघाटमा रोक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ । धेरै व्यक्ति सँगको सम्पर्कले संक्रमण बढन सक्ने बताउँदै अस्पतालले ओलीसँगको भेटघाटमा रोक लगाएको हो । मंगलबार दिउँसो अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौँ ।’
प्रधानमन्त्री ओली कात्तिक १२ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत छन् । त्यस्तैगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गरेका छन् । अर्यालले जारी गरेको नोटमा प्रधानमन्त्रीओलीले देश भित्र र बाहिरबाट आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्ने सम्पूर्ण नेपाली दिदीभाइ–दाजुबहिनी तथा विदेशीमित्रप्रति आभार प्रकट गरेको उल्लेख गरेका छन् । अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य क्रमिक सुधार भएको समेत जानकारी गराउँदै अस्पतालले समय समयमा सार्वजनिक गर्ने विज्ञप्तिबाट आधिकारीक जानकारी पाउन सकिने बताएका छन् ।
श्राेतः janasawal.com