पोखरा: पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले पहिलो जित निकालेको छ । पोखरा रंगशालामा आज भएको खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गरेको हो । यो सँगै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित निकालेको हो ।
१९४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट धनगढीले १६ दशमलव २ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन मात्रै बनाउन सक्यो । धनगढीले सुरुवातीदेखि नै विकेट गुमाएको थियो । शून्य रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले दोस्रो विकेटको रुपमा डेन लवारेन्सलाई पनि शुन्य रनमै गुमाएको थियो । चौथो ओभरको चौथो बलमा टिमको स्कोर ७ रन हुँदा सन्दीप सुनारलाई गुमाएपछि दबावमा आएको थियो । धनगढीका शीर्ष स्थानका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । कप्तन दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने सौरभ खनाल ८ र दिलिप नाथ शुन्य रनमै आउट भए ।
विदेशी खेलाडी पिटर ट्रेगोले २७ रन बनाउँदै इनिङ्सलाई सम्हाल्ने कोशिस गरेका थिए तर, उनी पनि भुवन कार्कीको बलमा क्याच आउट भए । त्यस्तै योगेन्द्रसिंह कार्कीले १७ रन बनाए । बलिङतर्फ चितवनका लागि सुन्नी पटेलले ४ विकेट लिए भने भुवन काकी र स्मित पटेलले समान २–२ विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । उसको सुरुवात निकै राम्रो रहृयो । अनिलकुमार साह र हरिशंकर साहले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरे ।