कतार। राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक भएकी छन् । राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गरेका थिए । उक्त फाउण्डेसन अन्तर्गत विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सञ्चालित छन् जहाँ ९० भन्दा बढी देशका विद्यार्थीहरू विभिन्न संकायमा अध्ययनरत छन् । यसै बीच यस फाउण्डेसनकी अध्यक्ष शेख मोजा बिन्द नसिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । सो अवसरमा उनीहरूबीच विज्ञान, प्रविधि, खाद्यसुरक्षा लगायातका क्षेत्रमा दुई देशबीच अनुसन्धान र सहकार्य गर्ने विषयमा छलफल भएको वार्तामा सहभागी भएको परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवालले जानकारी दिएका छन् ।
यसै गरी महिला सशक्तीकरण र बालशिक्षाका क्षेत्रमा समेत दुई देश बीच सहकार्य गरेर अगाडि बढ्न सकिने विषयमा समेत छलफल केन्द्रित रहेको अधिकृत सिलवालले बताए । राष्ट्रपति भण्डारीले त्यस फाउण्डेसनको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । फाउण्डेसनकी अध्यक्ष नसिरले राष्ट्रपति भण्डारीलाई मायाको चिनो समेत प्रदान गरेका छन् । सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य सहभागी थिए ।
यस्तै राष्ट्रपति भण्डारीले बुधबार दोहास्थित राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन गरेकी छन् । अत्याधुनिक र अत्यन्त आकर्षक शैलीमा निर्मित पुस्तकालयमा अरबी, अङ्ग्रेजीलगायत विभिन्न भाषाका १० लाखभन्दा बढी पुस्तक छन् । विद्युतीय पुस्तकालय र बालबालिकालाई क्रीडास्थलसहितको आकर्षक सुविधा सो पुस्तकालयको प्रमुख विशेषता रहेको पुस्तकालयका कर्मचारीले जानकारी दिए ।
पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यति विशाल र आधुनिक पुस्तकालयमा एउटा पनि नेपाली भाषाको पुस्तक नहुनु दुःखको कुरा भएको बताउँदै चार लाखभन्दा बढी नेपाली कामदार रहेको देशको प्रमुख पुस्तकालयमा नेपाली भाषाका पुस्तक उपलब्ध गराउन सरकार र दूतावासको ध्यानाकर्षण गराइन । उनले यस किसिमको बाल पुस्तकालय र क्रीडास्थल नेपालमा पनि सान्दर्भिक रहेकाले यसको अध्ययनका निम्ति नेपाली टोली छिट्टै यहाँ पठाइने बताइन ।
राष्ट्रपति भण्डारीले पुस्तकालयको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नाका साथै आफ्नो धारणासमेत लेखेकी छन् ।
उनले यस किसिमको पुस्तकालय सबैका निम्ति आवश्यक र उदाहरणीय रहेको विचार व्यक्त गरिन । पुस्तकालयको भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुस्तकालय अत्यन्त व्यवस्थित, आकर्षक र पठनमैत्री रहेको बताउँदै छ ।सभ्यता र अध्ययनशीलताको सूचक पुस्तकालयको विकास र विस्तारमा सरकार जागरुक रहेको स्पष्ट गरे । पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यहाँको राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गरे । आधुनिक शैलीमा निर्मित सङ्ग्रहालयमा पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्वका वस्तु व्यवस्थित र फराकिलो गरी राखिनु सबैका लागि अनुकरणीय हुने राष्ट्रपति भण्डारीले बताइन । चारदिने कतार भ्रमण सकेर राष्ट्रपति भण्डारी बिहीबार (आज) स्वदेश फर्कने कार्यक्रम छ ।