काठमाडौं– कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी बिहिबार साँझ स्वदेश फर्केकी छन् । कतारका राष्ट्रपति अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार त्यसतर्फ गएकी थिइन् । कतारमा रहँदा राष्ट्रपति भण्डारीले कतारका अमिर पत्नीलगायत कतारका उच्च सरकारी अधिकारीसँग आपसीहितका विषयमा छलफल गरेकी थिइन् । परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको कतार भ्रमणले सम्बन्ध थप उचाइमा पुगेको दाबी गरेको छ ।
राष्ट्रपति फर्के लगत्तै उनीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मी समक्ष भ्रमणको सफलता सुनाए । राष्ट्रपतिले औपचारिक भेटघाटको साथै कतारमा रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन् । भ्रमणका क्रममा उनले त्यहाँ रहेका नेपालीका समस्या पनि सुनिन् । कतारमा तीन लाख बढी नेपाली कार्यरत छन् । उनले कतारमा सिकेको सीप र यहाँको लगानी लगेर नेपाल बनाउने कार्यमा इँटा थप्न पर्ने बताइन् । सबैको सहकार्यमा मात्र नेपाल बन्ने धारणा उनले व्यक्त गर्दै मुलुकमा सरकारले लगानीको वातावरण बनाउदै लगेको सन्देश दिइन् । उनले सबै नेपाली र कतारीलाई समेत ढुक्क भएर नेपालमा लगानी गर्न समेत आग्रह गरिन्। नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले अब सरकार विकास र निर्माणका लागि लगानीमैत्री कानुन र वातावरण बनिसकेको उनको भनाइ छ ।
नेपाली समुदायलाई सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कतार नेपालको विश्वासिलो मित्र रहेको र श्रम सम्बन्धले यसलाई थप प्रगाढ बनाएको बताए । दुईपक्षीय विभिन्न सहमति र समझदारीले पनि सम्बन्धलाई अझ फराकिलो पारेको उनको धारणा छ ।
श्राेतः janasawal.com