काठमाडौं, १७ कात्तिक । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्य भएर अस्पतालबाट आज डिस्चार्ज भएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार विहान साढे ४ बजे महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको आजको परीक्षणका रिपोर्टहरु अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएपछि डिस्चार्ज गरिएको हो । सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री पहिलेको जस्तै अवस्थामा आएको बताएका छन्। प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न रहेका थिए । प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ साल असारमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। गतवर्ष पुस अन्तिम साता थाइल्यान्डको बैंककस्थित बुम्रुङग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा उनको फलोअप चेकअप भएको भएपनि दोस्रो पटक प्रधानमन्त्री भएपछि नेपाल मै चेकअप गर्दै आएका छन्।
श्राेतः janasawal.com