काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढि गफ गरिरहेको आरोप लगाए ।
उनले भने,‘गफ गरेर समृद्धि आउँछ? समृद्धि हाँसिल गर्नको लागि त काम गर्नुपर्छ । हामी गफ होइन, काम गर्छौं ।’ वर्तमान सरकारले मुलुकमा लगानीको वातावरण बनाउन नसकेको, शान्ति, सुरक्षा कायम गर्न नसकेको भन्दै उनले सरकारलाई असफलताको संज्ञा दिए ।
उनले भने,‘ओली सरकारले दुई तिहाईको महत्व बुझ्न सकेन । सरकारकै कारण मुलुकमा लगानीको वातावरण बनेको छैन् ।’ उनले आगामी दिनमा आफ्नो पार्टी एक ढिक्का भएर मुलुक र जनताको हितमा लाग्ने विश्वास दिलाए । उनले भने,‘कांग्रेसले काम गरेर जनताको मन जित्छ । समृद्धि कसरी आउँछ भन्ने कुरा हामीलाई थाहा छ।’
उनले सबै जनताको घरदैलामा समृद्धिको पाईला पुगोस भन्दै तिहारको शुभकामना दिए । उनले भने,‘कांग्रेस लोकतन्त्रमा आधार रहेर अग्रसर हुन्छ । विपीले भनेजस्तो सबै नेपालीलाई समृद्ध बनाउन चाहन्छौं । विपक्षीमा रहेरपनि हामी नडगमगाईकन आफ्नो भूमिका निर्वाह गर्छौं ।’