काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए)ले संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्माको शीघ्र रिहाईको माग गरेको छ । कतारको सुरक्षा निकायले गिरफ्तार गरेर राखेकोमा एनआरएनएले आपत्ति जनाएको हो । संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनलाई सम्पर्क बाहिर राखेकोमा आपत्ति जनाएको हो । उनलाई अक्टोवर १८ तारिखमा कतारको सुरक्षा निकायले पक्राउ गरेको थियो । उनलाई किन गिरफ्तारी गरियो भन्ने विषयमा त्यहाँको सरकारी निकायले आधिकारिक जानकारी गराएको छैन । गिरफ्तार गरिएको तेस्रो दिन छोटो समय परिवारका सदस्यसँग कुरा गर्न दिए पनि कतारमा दशैं अगाडि आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएको र सुरक्षित रहेको बाहेक अन्य जानकारी पाउन नसकेको पारिवारिक स्रोतले जनाएको छ ।
उनी अक्टोवर ५ तारिखमा दोहामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाको आयोजनामा भएको एक साँस्कृतिक कार्यक्रममा सहभागी भएका थिए । त्यस कार्यक्रममा रोजगारदाताले नेपाली कामदारलाई दिएको पीडाको विषय समेटिएको थियो । शर्मा त्यस कार्यक्रमको विशेष अतिथिका रुपमा उपस्थित थिए । उनी बाहेक उक्त कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई पनि त्यहाँको सुरक्षा निकायले त्यस कार्यक्रम पछि नियन्त्रणमा लिएको बुझिएको छ । गत विहिबार संयोजक शर्माले करिब १५ मिनेट परिवारका सदस्यहरुसँग कुरा गरेको र नेपाली समुदायको नेतृत्वकर्ता भएर पनि त्यस किसिमको कार्यक्रम किन रोक्ने प्रयास नगरेको भन्ने विषयमा नै कतार प्रहरीको सोधखोज केन्द्रित रहेको शर्माले परिवारका सदस्यहरुलाई गराएकोे बताइएको छ ।
उनको गिरफ्तारी पछि संघले कतारस्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायहरुमा उनको अवस्था एकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै आएको छ । संघले प्रेस विज्ञप्ति मार्फत संघका मध्यपूर्व संयोजक शर्मा र हिरासतमा रहेका अन्य नेपालीहरुको शिघ्र रिहाइका निम्ति जोडदार अपील गरेको छ । यस्तै, संघले प्रेस विज्ञप्ति मार्फत कसैले पनि व्यक्तिको स्वाभिमानमाथि चोट पुग्ने गरी संघ र संघका पदाधिकारीहरुलाई समेत जोडेर काल्पनिक, आधारहिन र भ्रामक समाचार संप्रेषण तथा टिका टिप्पणी नगरि दिन आग्रह गरेको छ ।