काठमाडौं – नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइड बडी जहाजको निगमलाई प्राप्त स्वामित्व अन्तर्राष्ट्रिय मान्यता अनुसार नै भएको बताएका छन् । कंसाकारको भनाई अनुसार एयरबस कम्पनीले हाइफ्लाईएक्सलाई स्वामित्व हस्तान्तरण गरे लगतै हाइफ्लाइएक्सले निगमलाई स्वामित्व हस्तान्तरण गरिएको हो । हाइफ्लाइएक्सले उक्त विमान बुझेर लिनु अघि निगमको एक प्राविधिक टोली र हाइफ्लाइएक्सको टोलीले संयुक्त रुपमा टेक्निकल इन्स्पेक्सन गरिएको र त्यसपछि बाँकी रकम भुक्तानी गरिएको हो । त्यसपश्चात एयरबस कम्पनीले हाइफ्लाइएक्सको नाममा नामसारी गर्ने कार्य सम्पन्न भएको लगत्तै हाइफ्लाइएक्सको नामबाट निगमको नाममा नामसारी अथवा स्वामित्व हस्तान्तरण भएको हो ।
यो हस्तान्तरण अन्तर्राष्ट्रिय मान्यता अनुसार खरिद सम्झौतामा नै समावेश गरिएको ढाँचामा बिल अफ सेल्समा हस्ताक्षर गरि नामसारी कार्य सम्पन्न गरिएको हो । यो प्रकृया इंगल्याण्डको कानून (द ल अफ इंगल्याण्ड एण्ड वेल्स) अनुसार गरिएको र सो बमोजिम कुनै प्रकारको कंपनी स्टाय्म्प वा छापको आवश्यकता नहुने हुँदा युरोपमा हस्ताक्षर गरिएको कुनै पनि कागज पत्रहरुमा हाइफ्लाइएक्स र निगम दुबै तर्फबाट कुनै स्टाम्प नलगाइएको हो ।
यसरि निगम र हाइफ्लाइएक्स बिच ट्रान्सफर अफ टाइटल अथवा बिल अफ सेल्स कार्य सम्पन्न भैसकेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार उक्त विमान निगमको स्वामित्वमा आएको स्वतः ठहर हुन्छ । यसैको आधारमा फ्रान्सको टुलुस शहरमा नै नागरिक उड्डयन प्राधिकरणका एक पदाधिकारीले सर्टिफिकेट अफ रेजिस्ट्रेसन जारी गरिएको र उक्त सर्टिफिकेटमा विमानको स्वामित्व निगमको नाममा दर्ता गरिएको उल्लेख छ । वास्तवमा उक्त विमान निगमको नाममा दर्ता नभएसम्म अन्तर्राष्ट्रिय कानुन अनुसार फ्रान्सबाट उडाएर नेपाल लग्न फ्रान्सको नागरिक उड्डयन नियमन निकायले उडान अनुमति नै दिन पाइदैन ।
पछिल्लो समय निगमले खरिद गरेका वाइडबडी जहाजको स्वामित्वबारे उठेको विवादलाई कंसाकारले अनावश्यक र स्वार्थ समूहको प्रोपोगोण्डा मात्र भएको पनि बताए । ‘सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली र निगमको आर्थिक विनियमावलीको हरेक दफा हूबहू पालना गरेर टेण्डर आव्हान गरिसकेपछि ६ वटा मूलूकको ११ वटा कम्पनीले प्रस्ताव पेश गरेकोलाई ती ११ वटा कम्पनीले कंसाकारको निर्देशनमा एक आपसमा मिलोमतो गरी टेण्डर प्रस्ताव पेश गरेको भन्नु केटाकेटीपनको पराकाष्ट नै मान्नू पर्ने हुन्छ’, कंसाकारले बताए । कंसाकारले पछिल्लो समय विभिन्न स्वार्थ समूहले निगमलाई बदनाम गरेर आफ्नो स्वार्थपूर्ति गर्ने र निगमलाई धराशायी बनाउने लक्ष्यका साथ वाइडबडी जहाज खरिदबारे तथ्यहिन र दुराशययुक्त अफवाह फैलाइरहेको आरोप पनि कंसाकारले लगाए ।