काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ को सुरुवात गरेका छन्। काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले आधिकारिक रुपमा यसको शुभारम्भ गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तामझामका साथ यस कार्यक्रम सुरु गरेको भन्दै सरकार कँहा छ भनेर प्रश्न गर्नेहरुलाई थाहा दिन तामझाम गरिएको बताए।
प्रधानमन्त्री ओलीले सरकारले गरेका काम सबैलाई जानकारी दिन तामझाम गरिएको भन्दै अर्को कार्यक्रम नौमती बाजा बजाएर घोषणा गर्ने बताए। जनतालाई निराश बनाउने प्रयास भएको भन्दै सरकारको कामलाई आलोचना गर्नेहरुले समाजलाई बिखन्डन गर्न लागेको आरोप लगाए। सरकारले महिना गर्नु पर्ने काम सरकारले गरेको बताउदै प्रधानमन्त्री ओलीले अब नेपाली समाज अब नअल्मलिने र सरकारसँग विचारको पनि प्रष्टता रहेको दाबि गरे।
सरकारले जनतालाई निराश हुन नदिने भन्दै उनले यदि त्यसो भएमा त्यो खतरनाक हुने र जनता निराश हुनुपर्ने कुनै कारण नरहेको बताए । देशमा प्रणाली भत्काइएको बेला त्यसलाई सच्याउन समय लाग्ने बताउदै उनले जनताका सपना, आशालाई मुर्तरुप दिन सरकार लागिरहेको बताए।
उदारीकरणको नक्कलले देशको अर्थतन्त्र ध्वस्त बनाइएको, सार्वजनिक संस्थानहरु कौडीको मुल्यमा बेचिएको अवस्थामा सरकारले नयाँ प्रणाली सुरुवात गर्न खोजेको भन्दै सरकार आफ्नो काममा दिनरात लागेको बताए। प्रधानमन्त्री ओलीले लोकतन्त्र विरोधी क्रियाकलाप बन्द गर्न आग्रह गर्दै आन्दोलनले स्थापित गरेका गणतन्त्रका सम्मानित संस्थालाई सरकारले व्यवस्थित गर्ने बताए। पछाडी परेको बर्ग र समुदायलाई अगाडी ल्याउन सरकार लागेको बताउदै उनले राज्य जनताको रक्षक भएको बताए।
प्रधानमन्त्री ओलीले समाज विकसित हुदै जादा समाजमा आएको अविश्वासको वातावारणलाई तोड्न यस कार्यक्रम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। आफुले पहिलो पटक प्रधानमन्त्री हुदा नै सामाजिक सुरक्षाको कार्यक्रम ल्याउने घोषणा गरेको स्मरण गर्दै प्रधानमन्त्रीले अहिले आएर सरकारले यो कार्यक्रमको थालनी भएको बताए। प्रधानमन्त्री ओलीले सरकारी सेवामा हुनेलाई सुबिधा र अन्य क्षेत्रमा काम गर्नेलाई केहि नहुने चलनको अन्त्य गर्दै यस कार्यक्रमले नयाँ व्यवस्था गर्दै यो विभेदको अन्त्य गर्ने कुराको थालनी भएको बताए।
सरकारको आलोचना गर्नेहरुलाई व्यंग्य गर्दै हेर्दिन भन्दा पनि सरकार नदेखी सुख नहुने बताउदै श्रमिक, श्रमजीवी, मजदुरहरुलाई सरकार कँहा छ भन्ने थाहा भएको बताए। सरकार श्रमजीवीहरुको बीचमा रहेको बताउदै सडकको धुलो पनि सफा गरिने र नागढुंगा कलंकी सडक पनि बन्ने बताए।
प्रधानमन्त्रीले यस कार्यक्रमलाई सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन्। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आजको दिन श्रम गरेर जीविकोपार्जन गर्ने र रोजगार दिने दुवैको लागि महत्वपूर्ण दिन भएको बताए।
श्रमिकहरु सुरक्षित भविश्य हुनेपछि उनीहरुको काममा गुणस्तर आउने र यसले देशको समृद्धिमा योगदान गर्ने बताउदै मन्त्री विष्टले यस ऐतिहासिक दिनबाट नेपाल एक ऐतिहासिक युगमा प्रवेश गरेको बताए। यस कार्यक्रमले नेपाली जनताको दैनिकीमा आमुल परिवर्तन ल्याउने बताउदै मन्त्री विष्टले यस कार्यक्रमले वैदेशिक रोजगारमा मात्र भरपर्नु पर्ने अवस्थाको विस्तारै अन्त्य हुने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ रोजगार प्रवर्धन परिषदका प्रमुख चन्द्र ढकालले सामाजिक सुरक्षा कार्यक्रमलाई सफल बनाउन कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउदै कार्यक्रमलाई सफल महासंघको तर्फबाट पुरा सहयोग गर्ने बताए। त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष हरि शर्माले कार्यक्रमले नेपालको श्रम बजारलाई व्यवस्थित गर्ने भन्दै यसको सफल कार्यान्वयनमा जोड दिएका थिए। कार्यक्रममा उद्योग महासंघकी अध्यक्ष भवानी राणाले कार्यक्रमको कार्यान्वयनमा जोड दिदै सम्पूर्ण उधमीहरुको यस कार्यक्रममा सहयोग हुने बताइन् ।
कार्यक्रममा विभिन्न ट्रेड युनियन संघ संगठनहरुका प्रतिनिधिले कार्यक्रमले लामो समयको प्रयासपछि सामाजिक सुरक्षाको शुभारम्भ भएकोमा शुभकामना तथा प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित मन्त्रीहरु, सांसद तथा सरकारी अन्य निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।