वर्ष २०१८ को इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले प्राप्त गर्नु भएको छ । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रमका विच इन्टेग्रीटी आइडल २०१८ घोषणा गरिएको हो । इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न अकाउन्ट्विलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ । ्
इन्टेग्रीटी आइडल २०१८ को उपाधी पाउन सफल कुरुम्बाङ्गले कार्यक्षेत्रमा खटिएर गएपछि त्यहाँको भौगोलिक, सांस्कृतिक, आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवाग्राहिको हितमा काम गर्दै आउनु भएको छ । कामकै सिलसिलामा पौडेलले विभिन्न जिल्लामा बसेर जनताका लागि उदाहरणीय र प्रशंसनीय काम गर्नु भएको छ ।
नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि इन्टेग्रिटी आइडलको सुरु गरेको हो । इन्टेग्रिटी आइडल २०१८ मा यस वर्ष १५ जनवरी २०१८ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्र्तगत ७२ जिल्लाबाट १०६२ वटा मनोनयन प्राप्त भएको थियो ।
यस वर्षको उत्कृष्ट पाँचमा तरकारी बाली विकास केन्द्र, खुमलटार, ललितपुरका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरकार्यपालिकाको कार्यालय, टीकापुर कैलालीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार,काठमाण्डौका उपसचिव महेन्द्र प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्ग र वीरेन्द्रनगर नगर नगरस्वास्थ्य कार्यालय, सुर्खेतका सिनियर अ.न.मी. सिता कुमारी शर्मा पर्न सफल हुनुभएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशि राज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्य प्रसाद न्यौपाने र पूर्र्व सचिव जीवनप्रभा लामा सदस्य रहनु भएको निर्णायक मण्डलले उत्कृष्ट छनोट गरेको हो । विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक समितिले विभिन्न मापदण्डका आधारमा प्रतिष्पर्धी मध्यबाट अन्तिम पाँचको छनोट गर्नुभएको थियो ।
अन्तिम पाँच मध्ये सर्वोत्कृष्ट अर्थात् इन्टेग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त जनताको मतका आधारमा गरिएको हो । यसवर्ष एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको १ लाख ३२ हजार २ सय ५६ मत मध्ये कुल १ लाख १९ हजार ४ सय ७८ मत सदर भएको थियो । सो मध्ये विजयी बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्गले सवैभन्दा बढि अर्थात् ५७ हजार १ सय ५४ मत पाउनु भएको थियो ।
सम्मान कार्यक्रममा पाँचै जनालाई प्रशंसापत्र र ट्रफी सहित सम्मान गरिएको थियो । विजेता तथा पाँचै जना आइडललाई बधाई तथा शुभकामना दिदै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि माननिय लालबाबु पण्डीतले भन्नुभयो, “ईन्टेग्रीटी आईडलबाट सम्मानित हुनुभएका सबैले आ–आफ्नो क्षेत्रमा दक्षता हाँसिल गर्नुभएको छ । वहाँहरूको सुझाव संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुन्नेछ र साथसाथै वहाँहरूलाई आवश्यक परेको सहयोग सरकारले गर्नेछ । यो अभियान एकदमै सकारात्मक छ र यसलाई अँझै प्रभावकारी बनाउन आयोजक संस्थालाई आवश्यक परेको सहयोग पनि सरकारले गर्नेछ ।”
आइडलको सम्मान ग्रहण गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्गले जहिले पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गरे । उनै सेवाग्राहीले आज सम्मान दिंदा आजैबाट जिम्मेवारी अँझै बढेको महसुस भएको बताउनुभयो ।
जनताप्रति सरकारी अधिकारीलाई उत्तरदायी बनाउने ध्येयले सन् २०१४ देखि इन्टेग्रिटि आइडलको शुरुवात गरिएको थियो । सन् २०१४ मा पाँचथरका तात्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, सन् २०१५ मा गुल्मीका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल र सन् २०१६ मा पनि गुल्मीकै प्रधानाध्यापक डोरविक्रम श्रीस र सन् २०१७ मा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले इन्टेग्रिटि आइडलको उपाधी हासिल गर्नु भएको थियो । नेपालबाट सुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान, माली, दक्षिण अफ्रिका, नाइजेरिया, श्रीलंका लगायतका देशमा विस्तार भैसकेको छ र सन् २०१९ मा मेक्सीकोमा पनि यो कार्यक्रम सुरु हुने प्रकृयामा रहेको छ ।
“हामीले मनोरञ्जन, खेलकुद र अन्य क्षेत्रका प्रतिभाहरूको सफलतालाई आत्मसाथ गरिरहेका हुन्छौ । उत्सवको रुपमा मनाईरहेका हुन्छौं भने, सरकारी सेवामा रहेका व्यक्तिको कर्तव्यनिष्ठालाई उत्सवको रुपमा किन नमनाउने ? जव निष्ठालाई आत्मसाथ गरेर का मगर्ने व्यक्ति अगाडी आउछन, भ्रष्टाचार पछाडी पर्दै जान्छ । ईन्टेग्रीटी आईडलको लक्ष भनेको राम्रा अभ्यासलाई आत्मसाथ गर्ने र नेपालको सरकारी संयन्त्र भित्रै परीवर्तनका लागि एकजुट भएर का मगनेृ संस्कृतीको विकास गर्ने हो ।” आयोजक संस्था एकाउन्ट्याविलिटी ल्याबका प्रमुख नारायण अधिकारीले बताउनु भयो ।