हङकङ–हङकङमा आयोजना भएको गैरआवासीय नेपाली संघ (एनआरएन) एसिया प्यसिफिकको छैठौ तथा प्रथम क्षेत्रीय महिला सम्मेलनको आज उद्घाटन हुँदैछ । सम्मेलनकालागि एनआरएनका आइसिसी पदाधिकारी, क्षेत्रीय स्तरका संयोजक, विभिन्न एनसिसीका अध्यक्ष तथा पदाधिकारी, एसिया प्याशेफिकका विभिन्न देशका प्रतिनिधिहरु हङकङ आइपुगेका छन् । अहिले विश्वभरिका एनआरएनहरु हङकङमा भेला भएका छन् भने गत ४ तारिखदेखि हङकङ उत्रिन थालेका विश्वभरीका एनआरएनहरु अझै आउने क्रम जारी रहेको छ ।
त्यस्तै, सम्मेलनमा प्रमुख अतिथिको रुपमा कृषि मन्त्री चक्रपाणि खनाल‘बलदेब’ शनिवार हङकङ आइसकेका छन् । मन्त्री खनालले आज सम्मेलनको उद्घान गर्ने कार्यक्रम छ । एनआरएन एसिया प्यासिफिक सम्मेलन तयारी समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) का अनुसार सम्मेलनमा एनआरएन संस्थापकदेखि वर्तमान अध्यक्षसम्म सबै सहभागी रहनेछन ।
एनआरएन आइसिसीकोतर्फबाट सम्मेलनमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, शेष घले, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, ओसेनिया क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधान, सचिव जानकी गुरुङ, आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए मलेसिया अध्यक्ष खगेन्द्र न्यौपाने, डिआरसी अध्यक्ष पारसमणि पोखरेल, बिनोद कुँवर एनसिसि बेल्जियम अध्यक्ष लोक थापा, कोरिया अध्यक्ष लक्ष्मी गुरुङ हङकङ आइसकेका छन् । वर्तमान अध्यक्ष भवन भट्ट भने आज हङकङ आइपुग्ने कार्यक्रम रहेको सम्मेलन तयारी सदस्य सचिव टिका गुरुङले जानकारी गराइन ।
सम्मेलनको पहिलो दिन शनिवार रजिष्टे«शनलगायतका कार्यक्रम सम्पन्न भएका छन् भने आज सम्मेलनको उद्घाटन गरिने कार्यक्रम छ । यस पटक सम्मेलनमा सोचेभन्दा धेरै पाहुनाहरु सहभागी भएको देखिएको छ । हङकङबाट भिसा अप्लाई गरेभन्दा बढी नै पाहुनाहरु ब्यक्तिगत रुपमासमेत भ्रमणको लागि आइरहेका आयोजकले बताएका छन् । सम्मेलनको अवसर पारेर हङकङ भ्रमण गर्ने एनआरएनको संख्या बाक्लो हुँदा हङकङमा रौनक बढेको छ ।
सम्मेलनमा क्षेत्रीय समितिमा आबद्ध चीनसहितका प्रतिनिधि गरि तीन सयभन्दा बढीको सहभागिता रहनेछ । एसिया प्यासिफिकबाट मुख्यभूमी चीन, हङकङ, मकाउ, दक्षिण कोरिया, जापान, मलेशिया, म्यानमार, फिलिपिन्स, थाइल्यान्ड लगायतका देश तथा अन्य मुलुकहरुबाट सहभागिता रहेको छ । एनआरएन एसिया प्याशेफिक संयोजक किरण थापाले सम्मेलनमा विभिन्न क्षेत्रका विषयमा छलफल हुने जानकारी दिए । विशेष गरि सम्मेलनमा मलेसियाको सवाल, युवा, महिलालगायतका विषयमा छलफल गरिने र अन्य क्षेत्रको सम्मेलनभन्दा विल्कुल फरक हुने संयोजक थापाले बताए । परापूर्वकालदेखि एसिया प्याशेफिकमा २० लाख भन्दा बढी नेपाली बसोबास गर्ने भएकाले उनीहरुको समस्या पहिचान गर्नेतर्फ केन्द्रित हुने संयोजक थापाको भनाइ छ ।
सम्मेलन यही डिसेम्बर ८ र ९ तारिखका दिन हङकङमा हुँदैछ । गैरआवासीय नेपाली संघको एसिया क्षेत्रीय सम्मेलनको तयारी समेत पुरा भएको छ ।सम्मेलन तथा बैठक हङकङस्थित हार्वर ग्राण्ड कौलँन होटलमा शनिबार र आइतबार हुँदैछ । “समृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार” भन्ने मुल नारा रहेको यो सम्मेलनको मुख्य एजेण्डा नै यही भएको सचिव राधिका गुरुङ (टिका) ले जानकारी दिइन । बैठक तयारीका लागि क्षेत्रीय संयोजक किरण थापा, सह–संयोजक विनोद कुँवर र पारसमणि पोखरेल साथै प्रत्येक देशका अध्यक्षसहितको समिति समेत गठन गरिएको छ । सम्मेलनमा चीन, हङकङ, जापान, मकाउ, मलेशिया, म्यानमार, फिलिपिन्स, साउथ कोरिया, सिंगापुर र थाइल्याण्ड समेत १० मुलुकीय एनसिसी गरी लगभग २० भन्दा बढी मुलुकबाट करिव ३०० जना प्रतिनिधीको सहभागिता रहने अनुमान गरिएको छ । हङकङबाट लगभग १५० जना सहभागिता रहने अनुमान छ ।
श्राेतः janasawal.com