पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

विदुरको सेरोफेरो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २९ गते, शनिबार ०८:५२

-डा. हरिकुमार श्रेष्ठ
नागार्जुन १०, स्युचाटार, काठमाडौँ

काम विशेषले श्रीनिवास गौतम, लभकुमार थापा, सुरेश र म नुवाकोट जिल्लाको सदरमुकाम विदुर जाने निर्णय २०७५ साल श्रावणको पहिलो हप्तामा गरेका थियौँ । यात्राको दिन (साउन १६ गते) बिहानै ८ बजे साथीहरु कलंकी भएर आएकाले म कलंकीमै मिसिएँ । भेटपछि, हामीले आफ्नो यात्राको दूरी कम गर्न टोखा–बिदुर सडक भएर जाने निधो ग¥यौँ ।

बिहानीपख नै भएकोले गाडीहरुले भीडको सामना नगरी रफ्तारमा थिए । मेरो लागि भने सो यात्राको गन्तव्य नयाँ ठाउँ भएकोले मन मथिङ्गल कल्पनाको गहिरो सागरमा डुबुल्की मारेर विदुरभित्रको बस्ति, भवन, त्रिशुली नदी, त्यहाँको खेतीपाती, बीउबिजन पसलहरुमा बीउबिजन तथा अन्य कृषि सामग्रीहरुको अवस्था, त्यहाँका किसानहरुको दिनचर्या कस्तो होला भनी चाहार्दै खनी खोतलिरहेको थिएँ । करिब ९ बजे टोखा बजार हुँदै झोर कटेर डाँडाको फेदीमा पुग्याँै । सडकको वरिपरि धान खेती हरियो गलैँचाजस्तै देखिन्थ्यो भने मकै, वर्षे तरकारीका झ्याङ्गहरु, केही नास्पतिका बोटहरुमा फलहरु लटरम्म र मनमोहक देखिन्थे । वास्तवमा, वर्षे खेतीपाती र वनजङ्गलले डाँडा नै ढकमक्क हरियो देखिन्थ्यो । कृषि कर्मक्षेत्र बनाएर हिँडेका हामीहरुलाई यो दृश्य देख्नुभन्दा लोभलाग्दो र आनन्द के हुन्थ्यो होला र ?

सडकका दायाँ बायाँतिर घरहरु सडकमै सटेका देखिन्थे । झोरबाट नै कच्ची बाटो सुरु भएकोले वर्षादको पानीले गद्दर थियो सडक । हामी विस्तारै झोरबाट उकालो लाग्दै गयौँ । हामीलाई उक्त बाटो छिचोरेर विदुर पुग्न सकिनेमा विश्वासको संकट पर्न थाल्यो । पहाडको बाटो चिर्न सुरु गर्न मात्र के लागेका थियाँै अगाडितिर गद्दर बाटोमा गाडी फसेर अगाडिका गाडीहरु कमिलाको ताँतीजस्तै लामबद्ध थियो आफ्नो गन्तव्यतिर । अब हामीलाई झनै चौपट भयो, किनकि हामीसँग समयाभावको कारण त्यहाँ लामो समय कुरेर बस्नसक्ने स्थिति नै थिएन । त्यसैले निधो ग¥यौँ पासाङल्हामू सडक हुँदै विदुर पुग्ने । त्यसपछि हामी त्यहाँबाट करिब सवा नौ बजे १८० डिग्रीमा गाडी मोडी लाग्यौँ बालाजुतिर ।

बलाजु बाइपास नजिकै मेरो ईण्टरनेशनल सीड रिसर्च एण्ड ट्रेडिड्ड सेण्टरद्वारा सञ्चालित बीउबिजन पसल –आईसीड) को पनि चर्चा चलेकोले साथीहरुलाई पसलै देखाउन नसके तापनि स्थान भने देखाएँ । त्यसपछि हामी गोलढुङ्गा हुँदै तीनपिप्ले पुग्याँै । तीनपिप्ले दोबाटोमा भएकोले हामी देब्रेतिरको सडक समायौँ । बाटोको अवस्था निकै नै त्रासदी र सकसपूर्ण थियो कच्ची बाटो हिलाम्य गद्दर र पैह्रोको कारण । कतिपय गाडीलाई त्यो हिलो सडक पार गर्न हम्मेहम्मे परेको थियो । यो समस्या आउनुमा योजनाकारमा भएको अल्पदृष्टिनै हो । हैन भने सडक मर्मत गर्दा सुरुदेखि अन्त्यसम्म भत्काएर लथालिङ्ग पार्नुभन्दा खण्ड खण्ड गर्दै काम सुरु गर्दै र समाप्त गर्दै गएको भए आज यो समस्या आउने नै थिएन र कुनै भवितव्य पनि पर्ने थिएन ।

हामी विस्तारै अगाडि बढ्दै जाँदा देब्रेतर्फ काठमाडौँको फोहोर बिसर्जन गर्ने स्थान सिस्डोल जाने पक्की सडक पनि देखियो । पहाडी बाटो भएकोले देब्रेतर्फ ओरालो लाग्दै गरेका गह्रा र कान्लाहरुको हरियो दृश्यले मन यति रमाएको थियो कि ! तर कतिपय स्थानहरु भने नयाँ वधु लाजले भुतुक्क भएर पछ्रयौरीले घुम्टो हालेझँै कुहिरोले घुम्टिएर बसेका थिए । त्यसैले कतिपय अवस्थामा डाँडाकाँडाको मुहार स्पष्ठ देख्न सक्ने स्थिति पनि थिएन । तर मेरो लागि झनै कौतुहलता जाग्न थाल्यो र कुहिरोको घुम्टो मिल्काएर ती हरिया पहाडको रुपरङ्ग हेरेर चुम्न पाए कस्तो हुन्थ्यो होला भनेर । तर प्रकृतिसँग मेरो के नै जोड जल्थ्यो र त्यसैले हामी निरन्तर अगाडि बढ्दै गयौँ ।
डाँडा, भीर, पाखा, पखेरामा कच्ची बाटो भएकोले मनमा एक किसिमको सन्त्रास फैलनु पनि स्वभाविकनै थियो । तर सुरेशजी गाडी चलाउन एकदम खप्पिस् र संयमित व्यक्ति भएकोले हामीमा त्यो समस्याले त्यति गाँज्न सकेको थिएन तापनि बाटोको अवस्थाले उनको पनि नौनाडी गलिसकेको थियो । त्यसैले उनलाई पनि यो अप्ठ्यारो सडकमा गाडी सम्हाल्न निकै नै धौधौ परेकोले कहिलेकाहिँ हामी झोलुङ्गो बन्न पुग्दथ्यौँ । शरिर भकुण्डो बन्दै गाडीभित्र ठोकिने र उफ्रनेको त सीमै थिएन । त्यसैले, मेरो देब्रे पुन्पुरो नराम्रोसँग गाडीको झ्यालसँग ठोक्किन पुग्यो र धेरै दिनपछिसम्म पनि पीडाको महसुस भइरहेको थियो ।

हामी काठमाडौँबाट प्रस्थान गरेको करिब ३ घण्टामा ११ः२० बजे ककनी डाँडामा पुग्याँै । ककनी पुग्दा कोणधारी रुखहरु (सल्लाघारी) देख्न पाइन्थ्यो । बजार भने भीरमा एकतर्फी मात्र थियो । बाटोको दाहिने माथितिर घना र हरियो जङ्गल र देब्रेतिरको तल झर्दै गरेको गह्रा र कान्लाको मनमोहक दृश्यहरुको अगाडि हाम्रा पीडाहरु गौण बनिरहेका हुन्थे । त्यहाँ ठाउँ ठाउँमा बाटो डोजरले सम्याउँदै थियो भने कतिपय ठाउँमा पैह्रो फाल्नमा व्यस्त थियो । “आफैँ बोक्सी आफैँ धामी” भनेजस्तै वडाका पदाधिकारीहरुको डोजरले ठेक्कामा काम लगाएको स्थिति भएको जानकारी आयो । तर यसको यथार्थता के हो भन्ने कुरा हाम्रो गर्भभित्रमै सीमित रह्यो । सायद झरी र कच्ची बाटोको कारणले होला सडकमा गाडिको चाप निकै नै कम थियो । त्यसैले, मेरो सोँचाईले पल्टा खायो ।

ककनी पार गरेपछि प्रहरी कार्यालयमा बाटोको अवस्थाको बारेमा जानकारी लियौँ । उनीहरुबाट जाँदा हुन्छ समस्या छैन भन्ने स्वीकृति पाएपछि हामी अगाडि बढ्याँै । जति अगाडि बढ्दै जान्थ्यौँ, सडक त्यतिनै पहिरोले पुरिएको, गद्दर र जोखिमयुक्त थियो । ठाउँ ठाउँमा माटो र ढुङ्गाले आफ्नोसँग नाता तथा सम्बन्ध तोडी पारपाचुके गर्दै बितण्डा मच्चाउँदै भागिरहेको दृश्य पनि कम डरलाग्दो थिएन । कतिखेर हामी पनि त्यहिँ स्थानमा सदाको लागि यो जीवनको भारी बिसाउनु पर्ने त हैन जस्तो लाग्थ्यो ।

जति अगाडि बढ्दै जान्थ्यौँ, शितल र मनमोहक रसिला खोल्साखाल्सी, हरिया डाँडाकाँडा, पाखापखेरा, लहलहाउँदो वर्षे खेतीपाती र भाले झ्याउँकीरीको सुमधुर आवाजले पोथी झ्याउँकीरीलाई आकर्षण गर्ने मात्र हैन हाम्रो मन र मस्तिष्क पनि चुमिसकेकोले लट्ठ थियौँ हामी पनि । तर कहिले काहिँ अगाडि झ्वास्स अजङ्गको पहाड खसेको दृश्यले मन एकतमासको सन्त्रासको पोखरीमा डुब्न पुग्थ्यो तापनि मनलाई अलि दह्रो बनाउँदै अघि बढिन्थ्यो । पहिला पनि यस्ता भीर, पखेर, कच्ची, गद्दर र पैह्रिएको बाटो नहिँडेको पनि हैन तर यसपटकको मावल अलि दर्दनाक र त्रासदीपूर्ण नै थियो । अगाडि बढ्दै जाँदा कताकति पहिलाको कालोपत्रे सडकले हामीसँग लुकामारी खेलिरहेकोले कालोपत्रे सडक झल्याकझुलुक मात्र देखिन पाइन्थ्यो ।
माटो प्रायजसो रातो रङ्गको थियो भने कतिपय ठाउँमा बलौटे माटो थियो । वर्षादको पानी निकासको राम्रो प्रबन्धका अभावमा सडकलाईनै यसले आफ्नो धावन मार्ग बनाएको हुन्थ्यो । रातो माटो भएको ठाउँमा भल पानी सुन्तलाको रसजस्तै देखिन्थ्यो । त्यो अवस्था देख्ने बित्तिकै श्रीनिवासजीले सुन्तलाको रस फेक्ट्री खोल्दा पनि हुनेजस्तो भनी हसिमजाकले एकछिन हाम्रो तनमन तान्न सफल हुनुभएको थियो । वास्तवमा टाढाबाट हेर्दा सुन्तलाको रसको बाढीजस्तै देखिन्थ्यो पनि । कतिपय ठाउँमा बलौटे माटो भएकोले बालुवा सङ्कलकहरुले नै सानातिना खोलालाई बाटो बाटो नै दौडाएका थिए । यसले गर्दा उनीहरुलाई बालुवा सङ्कलनमा लामो खेवा हुँदा धेरै ठाउँमा सहज रुपमा धेरै बालुवा सङ्कलन गर्न सक्ने रहेछन् । त्यसैले भइरहेको सडक बिगार्नमा उनीहरुको पनि भूमिका देखियो । तर यसको नियन्त्रणतर्फ कसैको सोँचाई नै नपुगेको जस्तो लाग्यो ।

सडकको किनारमा केही ठाउँमा उत्तिसको रुखहरु कटानी गरेर राखेका मुडाका चाङ्गहरु पनि देखिन्थ्यो । हामी करिब ११ः३० बजे रानीपौवा पुगियो । वास्तवमा रानीपौवा तरकारीको पकेट क्षेत्र भएकोले ताजा तरकारी पनि देखिन्थ्यो । पानी प्यास लागेकोले सुष्मा होटेलमा ४ बोतल पानी लियौँ । तर बील नभएकोले सादा कागजमा लेखेर ल्याइयो । त्यतिखेर बाक्लो कुहिरोको कारण रातै परेजस्तो भएको थियो । जति अगाडि जान्थ्यौँ, पहिरो झनै ठूलो थियो । सिमसिमे पानी मात्र परेकोले पहिरोले धन्न बाटो भने छेक्न सकेन । यसको अलावा ठाउँठाउँमा डोजर तैनाथ भएकोले पनि छिनछिनमा पैह्रो फाल्ने काममा व्यस्तै थियो ।

करिब १२ बजे दिउँसो सिस्नेरी पुगियो । त्यतातिर त पुरै पहाडमा नै बालुवा खानी भएकोले पहाडको वनावट कमजोर देखिन्थ्यो । करिब २० मिनेटमा हामी सिस्नेरीबाट ३५ किलो, जिरेथुम भन्ने ठाउँमा पुग्यौँ । बिहानको नास्ता घरमै दह्रोसँग गरे तापनि बाटोघाटोको अवस्थाले चाँडैनै भोक जागेर पेट दाबिलोजस्तो बन्दै भित्र छेपारो नाच्न थालेको थियो । यसपछिका स्थानहरु खानाको लागि त्यति राम्रो छैन भन्ने जानकारी पाएकोले पनि हामी त्यहिँ खाना खान पस्यौँ मोनिका खाजा घरमा । यात्रीको अभावमा होटेल सुनसान जस्तै थियो । त्यसैले अर्डर गरेपछि मात्र खाना तयार हुने भएकोले खाना तयार हुने बेलासम्म म बाहिर बजारतिर घुम्न गएँ र त्यहाँको अलिकति बस्तुस्थिति जाने प्रयास गरेँ । पहाडी क्षेत्रको बजार सानो भए तापनि दैनिक जीविकोपार्जनको लागि आवश्यक सबै सामग्रीहरु उपलव्ध थिए । बजारमा स्थानीयस्तरमा उत्पादित क्राँक्रो, खुर्सानी, लौका, घिरौँला, फर्सीका मुन्टा, भण्टाजस्ता तरकारीहरु लोभलाग्दा थिए ।

केही समयमा नै हाम्रो छनौट अनुसारको नेपाली दाल, भात, तरकारी, कुखुराको मासु र अचार तयार भयो । म साकाहारी बन्ने प्रयासमा थिएँ, त्यसैले माछा तथा मासुजन्य खानाको परिकार नखाएको पनि लामै समय भइसकेकोमा आज श्रीनिवासजीको आग्रह र त्यहाँको परिवेसले म पनि मांसाहारी नै भएँ । अधिकांस वस्तुहरु स्थानीयस्तरमा नै उत्पादन भएकोले खाना स्वादिष्ट नै थियो तर मलाई भने पीरोले नराम्रो झड्का दिएको थियो ।

खाना खाने बित्तिकै हामीले बिदुर, त्रिशुलीतिरको आफ्नो बाटो ततायौँ र करिब १ बजे हामी मदनपुर, नुवाकोट काट्यौँ । बाटोमा बाराही मन्दिर, कालोपत्रे सडक, मकै, तरकारी, कुखुरापालन, रेन्वोट्राउट माछापालन, साना सुर्का गह्राहरु, पानीका छहराहरु, हरियो डाँडापाखा देख्दा मन अझै चुलबुलिँदै थियो । बाटो चौडा बनाउने कार्यले त्यस क्षेत्रमा पनि सडकको कथा र व्यथा उस्तै थियो । यसको असरले बाटो माथि भएका केही घर भने पैह्रोको कारण, प्लाष्टिकले पानी तर्काए तापनि, निकै नै जोखिममा थियो । बालुवा व्यवसायीले त्यस क्षेत्रमा पनि खोलालाई बाटोमै सोझ्याएका थिए र बालुवा संकलन गरेर ठाउँ ठाउँमा थुप्रो लगाएका थिए । यसमा सुधारको लागि स्थानीयको पनि त्यति चाख नभएको हो कि जस्तो लाग्यो । सायद बालुवा तथा गिटी उद्योगमा प्रहरी तथा राजनीतिज्ञहरुको संलग्नता भएको समाचार सुनिन्थ्यो । यहाँ पनि त्यहि अवस्था भएर हो कि जस्तो पनि लाग्यो । तथापी, परिवेश त सबै ठाउँमा एकै हुन्छ भनेर भन्न त सकिन्न । तर जे होस् जे नहुनु पर्ने थियो त्यो भइरहेको थियो ।

हामी करिब १ः३० बजे दिउँसो तिगाउँ पुग्याँै । त्यस क्षेत्रमा बाख्रा, कुखुरालगायत अन्य कृषि कर्म सञ्चालनमा थिए । केही स्थानहरुमा हलगोरु, बाउसे र रोपारहरु हिलाम्य भएर धान रोपाईंमा व्यस्त भएको देख्दा जवानीमा आफू पनि आफ्नो गाउँमा त्यसरीनै काममा संलग्न भई रोपाईँमा बाउसे वा ब्वाडे हुँदा हिलाम्य भई रोपारहरुसँग हिलो खेलेको, रोपारहरुले असारे गीत गाएको, अनदी चामलको खट्टे (भुजा) खाएको याद आयो । उनीहरुले त्यतिखेर “असारै मासको दबदबे हिलो छ्या मलाई घिन लाग्यो, जेठीलाई छोडी कान्छीलाई ल्याउँदा छ–बीस ऋण लाग्यो” जस्ता गीत गाएका हुन्थे । यो त्यतिखेरको निकै नै प्रचलित गीत भए तापनि हिजोआज अस्ताइसकेको छ । काम नसकुञ्जेल हामीलाई घाम, पानी, भोक र थकानको कुनै प्रवाह हुन्थेन त्यतिखेर ।

बाटोबाट तल उत्तरतिर एकातिर हरियो समथर र लमतन्न फिँजारिएको जमीन देखिन थालेको थियो भने अर्कोतर्फ हामी यात्रारत सडकपनि पैह्रो विहीन हुँदै गएकोले हामीले अब भने पूर्णरुपमा सुरक्षाको घेराभित्र रहेको अनुभूति गर्न थाल्यौँ । तिगाउँबाट बाटो केही अगाडि बढेका थियाँै, पुन पानी पर्न थाल्यो । त्यसैले, अब त मुसलधारे पानी नै परे पनि बाटोमा ज्यान जोखिममा थिएन । तर चिन्ता भने मूक्त भएको थिएन । किनकि, त्यो बाटोमा यात्रा गर्ने अन्य यात्रीको अवस्था के होला भनेर । रातो माटोको कारण पानीको छहरा पनि अनौठो प्रक्रितिको रातै देखिन्थ्यो । धानको रोपाईँ अझै सकिएको थिएन । कतिपय खेत भने बाँझै रहने स्थिति थियो । उनीहरुलाई पनि छिमेकीलाईजस्तै सिँगारिन मन लागेको थियो होला सायद, तर … । घर धनीहरुको विदेश वा शहरतिरको पलायनले होला सायद ।

केही समयपछि हामी बेलकोटगढी कटेर धमाल हुदै तादी नदीको पुल तरी करिब २ः१० बजे पिपलटार पुग्यौँ । त्यतिखेरसम्म हावापानी, बनजङ्गल, जमीन, माटोको प्रकृति, आदिले स्वरुप परिवर्तन गरिसकेको थियो । जग्गा समथर थियो, धान, खुल्लासेचित मकै, मकै बालीभित्र बोडी, भटमास, रहर तथा कोदो रिले बाली थियो भने, आँप, केरा, लिची, भुईकटहरका दृश्यहरु पनि लोभ लाग्दै थियो । माथिबाट हेर्दा विदुर न.पा.को पिपलटार र त्रिशुलीको हरियो फाँट थियो भने आकाशले पनि रुप परिवर्तन गरी विस्तार भइसकेको थियो । त्यसैले नुवाकोट यो क्षेत्रकै खाद्यान्नको टोकरी जस्तो लाग्न थाल्यो । करिब २०४४।४५ सालतिरको कुरा हो, व्यापारीहरुले त्रिशुलीको मनसुली चामल भन्दै बेच्दथे । मैले सोँच्दथेँ पहाडी जिल्लाले कतिनै धान चामल थेग्न सक्ला र ! व्यापारीले ढाँटेजस्तो लाग्दथ्यो । तर त्यसमा अलिअलि सत्यता भने रहेछ जस्तो लाग्यो यस पटकको यात्राले ।

एकैछिनमा हामी गङटे कटेर करिब २ः३० बजे बट्टार प्रवेश ग¥यौँ । वास्तवमा यो क्षेत्र वरिपरि हरिया पहाड, तादी र त्रिशुली नदीको संगम देवीघाट र नुवाकोट साततले दरवारजस्ता ऐतिहासिक महत्वका अतिनै रमणीय ठाउँहरु समावेश छन् । प्रसिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय नाका तथा मल्लकालीन पश्चिम नेपालको मूल ढोकाको साथै नेपाल भोट (तिव्वत) वाणिज्य व्यापारको परम्परागत मूलद्वार पनि रहेको थियो ।

एकैछिनमा हामीले त्यहाँ बट्टारमा भएका चारजना बीउबिजन व्यवसायीहरु ईश्वरबहादुर राई (राई भेटेरीनरी औषधी पसल), कृष्णप्रसाद पन्थ (निरञ्जन एग्रोभेट) र रमेशकुमार श्रेष्ठ (श्रेष्ठ एग्रोभेट) सँग भेटघाट गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका थियाँै । उक्त कार्यक्रममा उनीहरुले त्यहाँ बिक्री वितरण गरेका नेपाली बीउबिजनको वस्तुस्थिति र बीउ खरीद गर्ने किसानको बारेमा जानकारी लिने जमर्को गरेका थियाँै तर त्यतिखेर उनीहरुको व्यस्त समयको कारण भोलीपल्ट भेटघाट गरी जानकारी लिने गरेर हामी बजार हुँदै त्रिशुली नदी तरेर कोलोनीतर्फको अर्को व्यवसायी सुजन शाही (सुनिता भेटेरीनरी, कोलोनी) सँग भेट गरी अन्तरक्रिया गर्न अगाडि बढ्यौँ । त्रिशुली तरेको केही समयमै दाहिनेतर्फ केही उकालो लाग्ने बित्तिकै त्रिशुली जलविद्युत आयोजनाको जलासय लमतन्न भएर फैलिएको रहेछ । हामीले उक्त जलासयलाई देब्रे पारेर लाग्यौँ कोलोनी । वास्तवमा त्यहाँ पुग्दा भारततिरका केही पुराना कोलोनीको याद दिलाउँदो रहेछ । त्यहाँ त निकै नै पुराना आँपका बगैँचा थिए, बाटोघाटो व्यवस्थित थिए । उक्त स्थान निकैनै रमणीय थियो ।

एकैछिनमा सोध्दै खोज्दै हामी सुजन शाहीलाई भेट्न पुग्याँै सुनिता भेटेरीनरीमा । हामीले हल्का कुरा मात्र के गर्न लागेका थियौँ सोको बारेमा हामीले खोजीनीति गरेका विषयवस्तुको बारेमा उनलाई जानकारी भइसकेको रहेछ । त्यसैले उनले तुरुन्तै बीउबिजन खरीद गर्ने किसानको विवरण सम्बन्धित बीउ कम्पनी, काठमाडौँलाई पठाउने भन्ने कुरा भएकोले हामीले त्यहाँ भने त्यति समय खेर फालेनौँ । त्यसपछि हामी बजारतिर झ¥यौँ । हामीलाई बेलुकी बासको लागि पनि त्यत्तिकै चिन्ता थियो कता बस्ने भनेर । त्यसैले, श्रीनिवासजीले तत्कालिन जिल्ला कृषि विकास कार्यालय, नुवाकोटका प्रमुख श्री कमलराज गैरेसँग फोनमा कुराकानी गरी उनीसँग एकैछिन जिल्ला कृषि विकास कार्यालयमा भेटी गफ गर्नको लागि हामी एकैछिनमा उनको आवासमा पुग्यौँ । केही समयको कुराकानीपछि उनैको सल्लाहबमोजिम हामी विदुर १, ढुङ्गेको त्रिशुली नदीको किनारमै अवस्थित होटल ओसनतिर त्यो दिनको रात गुजार्न लम्क्यौँ ।

होटलमा पुगेर बस्ने कोठाको व्यवस्था गरी केही समयपछि खानपानको लागि त्यहि होटलको रेष्टुरेण्टमा झ¥यौँ जि.कृ.वि.का.का कार्यालय प्रमुख सहित । वर्षादको कारण कोठाहरुमा ढुशीको गन्ध थियो तापनि अन्यत्र जाने सोँचमा हामी भएनौँ । तर मन भने त्यति चङ्ग हुन सकेको थिएन । किनकि, होटल त्रिशुली नदी किनारमा सटेको थियो । यदि नदीको माथिल्लो क्षेत्रमा ठूलै बाढी पैह्रो गएमा रातिको समय भएकोले त्यसबाट उन्मुक्ति पाउने अवस्था भने थिएन ।

शरिर भोकले लल्याङ् लुलुङ् भइसकेको थियो पेट सारङ्गीजस्तो बनेर । त्यसैले, हामी आफ्नो स्वादअनुसारको जे खाना खायौँ स्वादले रमाउँदै खायौँ । तत्कालिन जि.कृ.वि.का.का प्रमुख गैरेसँग निकै नै भलाकुसारी भयो । रामपुरबाट अध्ययन गरेका विद्यार्थीहरुको एक असल गुण र विशेष पहिचान भन्नुपर्दछ कि भेट हुने बित्तिकै मित्रभाव झक्लिहाल्ने । सोही भेटमा हामीले भोली बिहान नुवाकोट दरवार घुम्न जाने योजना पनि तय गरी सबैसँग रातभरिको लागि विदावादी भई निद्रादेवीको शरणतिर लाग्यौँ ।

भोलीपल्ट बिहानै उठेर आफ्नो नित्य कार्य सक्दा पनि साथीहरु हिजोको थकाईले होला उठ्नमा अलि ढीलो भएकोले म वरिपरि बजार क्षेत्रलाई फन्को मार्नतिर लागेँ । त्यो होटल रसुवा जाने चोकैमा थियो, त्यसैले पनि गाडिहरुको आवत जावत अलिअलि भए पनि देखिन्थ्यो । त्यहाँ ड्युटिमा रहेका प्रहरी जवानसँग केही समय भलाकुसारीपछि होटलमा फर्केर गएँ ।

हामी करिब ७ः२५ बजेतिर बजारबाट नुवाकोट दरबारतिर उकालो लाग्यौँ । बाटो कच्ची भए तापनि राम्रो र फराकिलो थियो । गाडिमा उकालो हुँईकिँदै थियौँ । नेपाली सेनाको तालिमे महिला र पुरुषहरुको लर्को थियो बाटोमा । उनीहरुको शरिरमा पसिनाले खोला बनाएको देखिन्थ्यो । त्यसैले, उनीहरु लुथ्रुक्क र निकै नै थकित देखिन्थे, जसमा महिलाहरु बढी थकित देखिन्थे । त्यसैले, कतिपय महिला सेनाको झोला र हतियार पुरुष सेनाले बोकेर सहयोग गरेको देखिन्थ्यो । कतिपय थकित महिलालाई त पुरुषहरुले हातले समाएर डो¥याएका हुन्थे भने कतिपयलाई पछाडिबाट हातले आधार दिएर अगाडि बढाइरहेका हुन्थे । मलाई लाग्दथ्यो तालीममा सेना तथा प्रहरीहरु क्रुर हुन्छन् । तर उनीहरु त निकै नै दयालु र मायालु हुने रहेछन्, त्यो हामीमा परेको भ्रम मात्र रहेछ । बाटो हिँड्ने क्रममा एकजनाको बन्दुकको कुञ्जाले सँगैको साथीलाई ठोक्न पुगेछ । सायद उ पनि थकानले होला, अर्को साथीलाई “हतियार राम्रोसँग समात है साले नत्र मुन्ट्याइदिन्छु” भन्ने शव्द पोख्दै थिए । तर उ सिथिल र लाचार थियो, कुनै प्रतिउत्तर थिएन ।

हामी करिव १० मिनेटको यात्रापछि सानातिना हरिया सालघारीका डाँडाकाँडा छिचोली दरवार नजिकै पुग्यौँ । गाडी दरवारसम्म नजाने भएकोले हामी गाडीबाट ओर्लेर करिव ५ मिनेटको चिप्लो र नाक ठोकिने उकालो चढेर दरवार परिसरमा पुग्यौँ । सुरुमै विगतको भुकम्पको असरले गाँजेर लथालिङ् र भताभुङ्ग अवस्थामा रहेको निर्माणाधिन मठ, मन्दिर, देवल र दरवारहरुको परिदृश्यले मनै खिन्न भएको थियो । तर अहिलेको कामको प्रगतिलाई हेर्ने हो भने अबको दश वर्षभित्रमा पनि सक्ने स्थिति देखिँदैन । यसको लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।

डाँडाको टुप्पामा अवस्थित ईटा र काठबाट निर्मित दरवार भुकम्पको क्षतिले जोखिमयुक्त भए तापनि निकै नै सुन्दर कला र कौसलताले भरिएको थियो । हाम्रा पूर्वजहरुको साहसी र कलापूर्ण कामप्रति नमन गर्दै मौन रुपमा उनीहरुको सम्मान गरेँ । तर हाम्रा आजको दरवार, महल तथा भवनहरु कला तथा कौसलताले भरिनुभन्दा पनि आयातित प्रविधि तथा कंक्रिट, बालुवा र सिमेण्टले भरिएका छन् । दरवार र सो क्षेत्रलाई बाहिरबाट मात्रै नियाली केही फोटाहरु के लिँदै थियौँ, हामीले बाटोमा छाडेर आएका सेनाका हुल थकाइले खुइ्य खुइ्य गर्दै लामबद्ध रुपमा दरवार क्षेत्र आइरहेको दृश्य निकै नै दयनीय र करुणदायी थियो । वास्तवमा दरवार क्षेत्रको बीच भागमा अव्यवस्थित कंक्रिटको सानो बस्तिले यात्रुहरुलाई त्यति राम्रो लाग्दो रहेनछ ।

हामी करिव ८ः३० बजेतिर दरबारबाट केही तल के झर्दै थियाँै, डाँडाबाट पहाडको चौघेरा र त्रिशुली नदीको किनारमा अवस्थित बिदुर न.पा.को. बजार क्षेत्र निकैनै सुन्दर र रमणीय देखिन्थो । सेनाका हुल पनि दौडदै ओरालो झर्दै थिए । उनीहरु ओरालोमा भने निकै नै प्रफुल्ल मुन्द्रामा थिए । कतिपय भने आफ्नो सुमधुर स्वरमा नेपाली लोक गीत गाएर जङ्गलनै गुञ्जयमान बनाएका थिए । सादा पोसाकमा हुनेहरुले सेनाको लाइनलाई नियन्त्रणमा राखेको परिदृश्यले उनीहरु कति अनुशासित छन् भन्ने कुराको झलक दिइरहेको थियो ।
हामी पनि एकैछिनमा ओरालो झरी करिव ८ः४५ बजे त्रिशुली नदीको पुल पार गरी एक मिठाई पसलमा जेरी र पुरी खाने बिहानैदेखिको धोको मेट्नतिर लाग्यौँ र स्वादले खायौँ । त्यसपछि, हामी दुई समुहमा विभक्त भयौँ । निवासजी जि.कृ.वि. कार्यालयमा सम्पर्क गरी नुवाकोटको प्याज खेती गर्ने स्थानको साथै किसानहरुको नामावली विवरण तयार गर्ने र लभकुमार थापालगायत म तादी, बाहुनबेसीको बीउ उत्पादक तथा वितरक ठाकुरप्रसाद भण्डारी (भण्डारी कृषि फर्म एण्ड एग्रोभेट) लाई भेटी बीउबिजनसम्बन्धी जानकारी लिने कार्यमा खटियौँ ।

हामी त्रिशुली राजमार्गको बट्टार बजार हुँदै गङटे पुगेपछि देब्रेतर्फ मोडिएर दुप्चेश्वर सडक समाती पहाडको फेदीको करिव २० देखि २५ वर्षे सालघारी हुँदै एकैछिनमा ढिकुरे पुग्यौँ । वर्षादको कच्ची बाटो भएकोले निकैनै कष्टपूर्ण थियो तर दाहिनेतिरको नदी र समथर हरियो धानको फाँटले भने मन लोभ्याउँदै कौतुहलता बढाएको थियो । हरियो धानको फाँटको बीचमा अवस्थित ढिकुरे सानो र सुन्दर बजार थियो । त्यसपछि हामीले त्यहाँ दुप्चेश्वर सडक छाडेर काठमाडौँतिर जाने टोखा–बिदुर सडक समातेर खानी गाउँतिर मोडियौँ र एकैछिनमा हामी तादी नदी पुल तरेर देब्रे मोडियौँ र केही समयमै तादी र लिखु नदीको संगम स्थलतिर पुग्यौँ । वास्तवमा, लिखु र तादी नदी त्यो क्षेत्रका किसानहरुको जीउने आधार रहेछन् ।

अब हामीले विस्तारै तादी नदीलाई छाडेर लिखु नदीको किनारतिर अगाडि बढ्र्दै गयौँ । एकैछिनमा टोखा–बिदुर सडकबाट चौघडा जाने चोक आएकोले हामीले अब टोखा–बिदुर सडकलाई छाडी बायाँ मोडिएर लिखु नदीको पुल तरेर तादी नदीको सामिप्यता बढाउँदै यसैको किनारमा अवस्थित चौघडा बजार पुग्यौँ । त्यसपछि धान बालीको हरियो फराकिलो र लोभलाग्दो फाँटलाई चिर्दै बानीयाटारबाट अगाडि बढेर उक्त सडकलाई छाडेर बायाँतर्फको सहरेटार हुँदै तादी नदीको पुल कटेर तादी गा.पा. ५ मा अवस्थित बाहुनबेसीका ठाकुरप्रसाद भण्डारी कहाँ पुग्यौँ ।
उक्त क्षेत्र रमणीय पहाडको फेदीमा थियो । धान खेती निकैनै रसिला र लोभलाग्दो फाँटमा आफ्नो बैँशतिर उन्मत्त भई बढी राखेको थियो । तर धान खेत मासेर नयाँ घरहरु थपिँदै गरेको दृश्यले भने केही वर्षपछि त यो ठाउँमा पनि कंक्रिट खेती मात्रै हुने हो कि जस्तो लागेर मन अलि चस्किएर आयो पनि ।

हामीले उनलाई भेटेर आफ्नो परिचयसहित भ्रमणको उद्देश्यको बारेमा कुराकानी गर्ने बित्तिकै उनले हामीलाई पहिचान गरिहाले । उनी हसिला, फुर्तिला, मिजासिला र सहयोगी थिए । त्यसैले, छोँटो समयको भलाकुसारीमै हामीले धेरै कुराको जानकारी लिन सफल भयौँ । उक्त क्षेत्रको प्रमुख बालीहरुमा धान (खुमल ४ र रामधान), मकै (रामपुर कम्पोजिट र अरुण ४), गोलभेडा (सिर्जना), प्याज (रेड क्रियल) र काउली (काठमाडौ स्थानीय) खेती गरिएको पायौँ । फलफूलमा भोगटे, आँप, रुख कटहर, केरा, नास्पती, अम्बा, निबुवा देखिन्थ्यो । बीउको अभावमा खुमल ज्यापू काउली लगाउने रहेनछन् । उनीहरुको जानकारी अनुसार भूकम्पपछि बीउ बिग्रिएर गए तापनि उत्पादित बस्तुको लागि त्रिशुली र काठमाडौँ नजिकै भएकोले बजार समस्या छैन रे । तर हरेक वर्ष बाँदर आतङ्कले बाली नष्ट गरेकोमा भने किसान निकै नै चिन्तित थिए तापनि समाधानको उपाय थिएन उनीहरुसँग ।

हामीले आफ्नो उद्देश्य अनुसारको सम्पूर्ण कामहरु सकी त्यहाँबाट करिव ११ः४० बजे प्रस्थान ग¥यौँ र तादी नदीको पुल तरेर नदीलाई दायाँ पारेर एक सानो र सुन्दर आप्र गाउँतिर लाग्यौँ । त्यसपछि करिव १२ बजेतिर हामी प्रेमचोक, चौघडा पुग्यौँ र यसको करिव १० मिनेटपछि लिखु नदीको पुल तरेर अगाडि बढ्दै टोखा–बिदुर सडकखण्ड भेट्यौँ जहाँबाट देब्रेतिर लागेमा काठमाडौँ जाने बाटो र दाहिनेतिर लागेमा बिदुर (त्रिशुली) जाने बाटो भएकोले हामी दाहिनेतिर मोडिएर बिदुरतर्फ हानियौँ । एकैछिनमा तादी र लिखु नदीको संगम स्थल पुग्यौँ जुन ठाउँ पार गरेर हामी बिदुरतिर हानियौँ ।

उक्त क्षेत्रको भौगोलिक आवहवा एकै किसिमको भएकोले बाटोमा आउँदा जाादा सबैतिर एकै किसिमको बालीनाली देखिन्थ्यो । पहाडको भित्ताभित्ता र भुईमा घरहरु तितरवितर तथा गुजुमुज्ज थिए । कतिपय आँपका बोटहरु निकैनै पुराना देखिन्थ्यो पनि । कतिपय जिल्लाहरुमा बाँझो खेत प्रशस्त देखिन्थ्यो भने यस क्षेत्रमा भने छिट्फूट् मात्र देखिन्थ्यो र धान खेतीले पूरै क्षेत्र ढाकेको देखिन्थ्यो । बाटोमा गाई, भैँसी, बाख्राहरु देखिन्थ्यो । तादी र लिखु नदीको उपस्थितिले उक्त क्षेत्र कृषिको लागि निकै नै रसिलो र उर्बर देखिन्थ्यो तापनि वर्षादको समयमा नदी किनारको क्षेत्र भने गोरखाको दराँैदी नदी आसपासको क्षेत्रजस्तै त्रासदीपूर्ण नै थियो । नदी किनारका विशाल फाँटहरु पूरै सिँचित भएर नै पो लहलहाउँदो रहेछ बालीनाली । गोरखा जिल्लातिर जस्तै यस जिल्लामा पनि मास र भटमास बाली भने खेतको आलीमा लगाउने चलन राम्रै लाग्यो ।

बाटोमा फाटफूट माइक्रो बस, मोटरसाइकल, ट्रक, बसहरु देखिन्थे । हामीहरु विस्तारै अगाडि बढ्दै गयौँ र करिव १२ः५० बजे गङटे पुग्यौँ । त्यसपछि हामी पुनः बट्टारतिर लागि बस्ने होटलतिर श्रीनिवास गौतमजीलाई लिन गयौँ र होटलबाट विदावादी भई बट्टारको होटल दरवारमा खानाको लागि लाग्यौँ । खानामा शुद्ध नेपाली दाल, भात, तरकारी र अचारको स्वादले भने आजसम्म पनि स्मरण गराइराखेको छ ।
हामी खानपीनपछि हिजोका बीउबिजन कम्पनीहरुसँग भेटघाट गरी हिजोका सम्पन्न गर्न बाँकी केही काम पनि पूरा गरी करिव २ः०० बजे बिदुरलाई वाईवाई गर्दै पासाड्डल्हामू सडकबाट नगई गल्छी–त्रिशुली–रसुवा सडक भएर फर्कने निधो गरी अगाडि बढ्दै गयौँ । करिब १५ मिनेटको यात्रापछि देवीघाट पुगियो, जहाँ सरकारी क्षेत्रबाट सञ्चालनमा रहेको वृद्धाश्रम देखियो । यस्तै वृद्धाश्रम अन्य क्षेत्रतिर पनि आवश्यकता अनुसार सञ्चालनमा ल्याउन सके वृद्धाहरुको जीवन यापनमा सहज हुने थियो ।
यसै क्रममा, देवीघाटमा जड्डबहादुर राणालाई उसको घोडासहित अन्त्यष्ठि गरिएको स्थलको बारेमा जानकारी पाइयो । त्यस्तै गरेर, मृत्यु पश्चात पृथ्वीनारायण शाहलाई पनि तादी र त्रिशुली नदीको संगम स्थलमा जलाएकोले यो क्षेत्र ऐतिहासिक रुपले निकैनै महत्वको क्षेत्र रहेछ । सडकको पारिपट्टि भने त्रिशुली नदीबाट लिफ्ट प्रविधिबाट सिँचाई गरिएको थियो । वास्तवमा नेपालमा हरेक नदीका किनारमा यसरी नै सिँचाई गर्न सकेमा कृषि उत्पादकत्व ह्वात्तै बढाउन सकिनेमा कुनै द्विविदा छैन ।

यो बाटो पनि भरखर पुनः निर्माण कार्य भइरहेकोले गद्दरै गद्र थियो । यो बाटो पहाडको फेदी वा नदीको किनारै किनार र फराकिलो भएकोले पहाडी खण्डको पासाड्डल्हामू सडकजस्तो जोखिमपूर्ण थिएन । हामी विस्तारै अगाडि के बढ्दै दूधपुरो गाउँ, रातमाटे, तारुका (नारायण खतिवडाको गाउँ) हुँदै नुवाकोटकै केउरेनी पुगेका थियौँ, त्यस आसपासमा करिव २ किलो मिटरको दूरीमा त्रिशुली नदीमा पक्की पुल बनिराखेको थियो । यसले के देखाउँछ भने विकासमा न्याय छैन । किनकि, विकट क्षेत्रहरु जस्तै कर्णालीलाई हेर्ने हो भने यसको मूल्याड्डन सहजै गर्न सकिन्छ । त्यसैले श्रीनिवाश गौतमजीले “विकासमा न्याय” शीर्षकमा एक लेख लेख्दा औधी खुसी हुने थिएँ हरिजी भन्ने कुरा भए तापनि मैले सो कुरा पूरा गर्न असमर्थ रहेँ । एक अर्थ विदको नाताले श्रीनिवासजीबाट जुन मूल्याङ्कन गरिएको थियो, त्यो निकैनै उचित थियो । वास्तवमा, विकास निर्माण र जनतालाई दिइने सुविधाहरु राजधानी र शक्तिको वरिपरिनै केन्द्रित हुने रहेछ भन्ने त्यो ज्वलन्त उदाहरण थियो । म विकासको विरोधी हैन, तर पनि विकास न्यायोचित हुनुपर्छ भन्ने श्रीनिवाशजीको कुरामा शतप्रतिशत सहमत छु । बाटो खन्दा होस् या पैह्रो व्यवस्थापन गर्दा होस्, माटो जति सबै नदीमा फालिदिने चलन रहेछ । यसलाई कुनै सार्वजनिक खाली जग्गामा व्यवस्थापन गरेर पछि आवश्यकता अनुसार प्रयोगमा ल्याउन पनि त सकिन्थ्यो । तर त्यहाँको त्यो दृश्यले मन चसक्क दुख्न पुग्यो । यस्तै कुरा श्रीनिवासजीको मनमा पनि खड्किएको रहेछ र उनले भन्न भ्याएकि, “माटो भएको देश नेपाल भएरै होकि यस्तो तमासा देख्नुपरेको” । पैह्रोले लडाएका रुखहरु पनि जम्मै नदीमा फालिएको थियो । यदि त्यसरी फाल्नुभन्दा त्यहाँका स्थानीय जनताहरुलाई उपयोग गर्न दिइएको भए पनि त के बिग्रन्थ्यो होला र ? बनको नियम कानून पनि कतिपय अवस्थामा व्यवहारिक छैन, जुन सुधारिनुपर्दछ ।

हामी करिव ४ः०० बजेतिर धादिड्डको निवुवावोटे पार गरी फौदसिँहले डाँडा काटेर बनाएको गल्छीको पुल पार गरी पृथ्वी राजमार्गमा पुग्यौँ र राहतको स्वास फे¥यौँ । अनि बीचमा चियापानको साथै केही समय विश्राम गरेर सरर काठमाडौँतिर लाग्यौँ र बेलुकीपख आरामले घर पुग्यौँ ।
अन्तमा, यो भ्रमण निकैनै जोखिमयुक्त भए तापनि हामी टिममा थियौँ र पो त्यत्तिकै फलदायी र आनन्ददायक थियो यात्रा । अझ, लभकुमार थापा र श्रीनिवासजीको वार्तालापले यात्रालाई निकै नै रोचक र जीवन्त बनाएको थियो । रोचक कुरा त, नुवाकोट प्रवेश गर्ने तीनवटै सडकखण्डहरु एकैचोटी निर्माणधिनको लागि पुरै सडक वल्लो छेउदेखि पल्लो छेउसम्म भत्काइएको र निर्माण कार्यमा भएको ढिलासुस्तिले नुवाकोटलाई जोखिमयुक्त र नाकाबन्दी बनाइएको जस्तो भान हुँदोरहेछ । यदि एउटा सडकको निर्माण कार्य सम्पन्न भएपछि अर्को सडकको निर्माण कार्य सुरु भएको भए निकैनै राम्रो हुने थियो । यसको अलावा, एकै सडक निर्माण कार्य पनि पूरै लम्बाई भत्काएर निमाण कार्य गर्नुभन्दा ४–५ किलो मीटरको दुरी भत्काउँदै निर्माण कार्य सम्पन्न गरी भूक्तानी दिँदै निर्माण कार्य गर्न सकेमा कम जोखिम र खर्चमा छिटो सम्पन्न हुने थियो । यो सडकको वस्तुस्थिति र समस्याबारे नुवाकोटबाट काठमाडौँ फर्कने बित्तिकै त्यस जिल्लाकी सभासद् राधिका तामाड्डसँग पनि फोनबाट जानकारी दिएको थिएँ । उहाँको कुराअनुसार त्यहाँ संलग्न गिरोहको कारण यस्ता समस्याहरु भएको कुरा स्वीकार्नुभयो ।

भ्रमण क्षेत्रको समग्र कृषि क्षेत्रको अवस्था हेर्दा नुवाकोटलाई पहाडको अन्न भण्डारको रुपमा लिन सकिन्छ । उक्त क्षेत्रमा हाईब्रीड जातभन्दा पनि खुल्लासेचित जातहरुनै बढी प्रयोग भएको पाइयो । मकैमा त रामपुर कम्पोजिट र अरुण २ खुल्लासेचित जातहरुनै बढी प्रचतिल थिए । त्यस्तै गरेर, धानमा मकवानपुर १, राम, सावित्री, राधा ४ र खुमल ४ प्रचलित जातहरु थिए । काउलीमा वर्णसङ्कर जातहरु निकै नै प्रख्यात भए तापनि काठमाडौँ स्थानीय पनि चलनचल्तिको जात पर्दोरहेछ । त्यस्तै गरेर, प्याजमा रेडक्रियल, र गोलभेडामा सिर्जना, कविता र डालिला थिए ।

नुवाकोटमा हाईब्रीडको तुलनामा स्थानीय जातको प्रयोग बढी हुनुमा रोगकीराको कमीले भण्डार क्षमता बढी हुने र किसानले आफै बीउ सञ्चय गरेर पुनः प्रयोग गर्नसक्ने रहेको छ । तर किसानले चाहेका बढी उत्पादन दिने जातहरुको गुणस्तरीय बीउको अभाव, प्राविधिक ज्ञानको कमी, भूकम्पको असर र कतिपय क्षेत्रमा बाँदरको समस्याले गर्दा पनि बीउ बिक्री वितरणमा असर परेको देखिन्थ्यो । त्यस्तै गरेर, उनीहरुमा बीउबिजन नीति, ऐन, नियमावली तथा कार्यविधिहरुको बारेमा पनि जानकारी नभएकोले अधिकांश बीउको प्याकेटमा समेत उचित संकेतपत्र लगाइएको थिएन । यसको सुधारको लागि नेपाली नयाँ जातको स्थलगत जातीय तथा बीउ उत्पादन प्रदर्शन, बीउबिजन ऐन नियमसम्बन्धी तथा गुणस्तरीय बीउ उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरणसम्बन्धी तालीमको साथै स्थलगत रुपमा बीउ बिक्री वितरणको साथै बाँदर नियन्त्रणको लागि प्रचारात्मक अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ । यसको लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु