मेलवर्नमा ‘नेपाल फेस्टिवल २०१८’ सुरू भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आयोजना तथा भीक्टोरिया राज्य समितिको संयोजनमा उक्त फेस्टिवल सुरु भएको हो । कार्यक्रममा नेपालको चर्चित अभया सुब्बाको ब्यान्डका साथै स्थानीय कलाकारको प्रस्तुति रहेको छ। ‘एक देश, धेरै कथाहरू’ भन्ने नाराका साथ आयोजित फेस्टिवलमा विभिन्न नेपाली परिकारहरुको साथै सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिनेछ।
आयोजक समितिका संयोजक केशव कडेंलका अनुसार महोत्सवले नेपालको पूर्ण झल्को एकै साथ दिनेछ। नेपाली खाना, गीत, संगीत र कला संस्कृतिको जर्गेनाका साथै मुलुकको परिचय स्थापित गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका निभाउँदै आएको संयोजक कडेँलले जानकारी गराए।
मेलवर्नबासी नेपालीको बाक्लो उपस्थिति रहेको महोत्सवमा नेपालका चर्चीत युवा क्रिकेटर सन्दीप लामिछाने, अस्ट्रेलीयाका सफल ब्यवसायी शेष घले र भीक्टोरियाका माहाबाणिज्यदूत चन्द्र योन्जन, एनआरएन क्षेत्रीय संयोजक धर्मराज अधिकारी, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेललगायतको सहभागिता थियो।
एनआरएन अस्ट्रेलियाले नेपालीको बाक्लो बस्ती रहेको महत्वपूर्ण राज्यहरुमा सन् २००६ देखि हरेक दुई–दुई वर्षमा महोत्सवको आयोजना गर्दै आएको छ।एनआरएनए अस्ट्रेलिया भिक्टोरिया राज्य समन्वय समितिको आयोजनामा सम्पन्न महोत्सव अगाडि बिभिन्न भेषभुषा र झाँकीसहित परेडको आयोजना गरिएको थियो। परेडमा पहिलो पटक नेपाली झन्डासहित कर्मभूमि अस्ट्रेलीयाको झन्डा पनि फहराईएको थियो। परेड मेलवर्नको सिटीस्थित स्टेट लाइब्रेरीबाट सुरू भई शहरको परिक्रमा गर्दै आयोजनास्थलमा पुगेर समापन भएको थियो।