हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

कांग्रेस महासमिति : पेश भए थप तीन प्रतिवेदन, बन्दसत्रमा धर्म बहस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २ गते, सोमबार ०८:५०

काठमाडौं : शनिबारदेखि सुरु कांग्रेस महासमिति बैठकमा धर्मको मुद्दा पनि प्रवेश गरेको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे।

धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो । महामन्त्री कोइरालाले महासमिति बैठकमा पनि आफूले यसबारे बोल्ने बताए ।

बैठक स्थलबाहिर हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै महासमिति सदस्यकै हस्ताक्षर संकलन थालिएको छ । हस्ताक्षर संकलनको नेतृत्व काठमाडांै महानगरमा मेयर उम्मेदवार रहेका नेता राजुराज जोशीले गरिरहेका छन् । उनले सोमबार बैठकमा लिखित रूपमै हस्ताक्षर पेश गर्ने तयारी रहेको बताए ।

हस्ताक्षर गर्नेमा चीरञ्जीवी वाग्ले, पुष्पा भुसाल, अजय चौरसिया, तारानाथ रानाभाट, इन्द्र बानियाँ, शंकर भण्डारीलगायत छन् । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्लले पनि हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका छन् । आइतबार साँझसम्म ६ सय नेताले हस्ताक्षर गरिसकेका छन् ।

महासमितिमा पेश भएको राजनीतिक प्रस्तावमा धार्मिक स्वतन्त्रताको मुद्दा समेटिनुपर्ने भनी बिहीबार केन्द्रीय समिति बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत र उपसभापति विमलेन्द्र निधिबीच भनाभन भएको थियो । महतले शनिबारको बैठक उद्घाटन सत्रमा पनि धार्मिक स्वतन्त्रताका पक्षमा बोलेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार अन्नपूर्णसँग कुरा गर्दै पार्टीभित्र देखिएको धार्मिक स्वतन्त्रताको पक्षमा आफू पनि रहेको बताए । पौडेलले धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रताको बाटोमा अघि बढ्नुपर्ने खाँचो देखिएको बताए ।

महामन्त्री कोइरालाले महासमिति सदस्यले धर्म विषयमा जे राय दिए पनि आफू धार्मिक स्वतन्त्रताका पक्षमा अडिग भएर उभिने बताए । कोइरालाले संविधानमा रहेको धर्मनिरपेक्षता संशोधन गरेर धार्मिक स्वतन्त्रता ल्याउनुपर्नेमा जोड दिए ।

 

प्रवक्ता विश्वप्रकाश शर्माले धार्मिक स्वतन्त्रतासहित सबै विषयमा महासमिति सदस्यले खुला विचार राखेको र अन्तिम छिनोफानो अन्त्यमा हुने बताए । बन्दसत्रमा चितवनका दिनेश कोइरालासहितका सहभागीले धार्मिक स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए ।

पेश भए थप तीन प्रतिवेदन

बन्दसत्रमा महामन्त्री कोइरालाले संगठनसम्बन्धी प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन र सहमहामन्त्री महतले आर्थिक नीतिसम्बन्धी प्रतिवेदन पेश गरे ।

शनिवार उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव पेश गरेका थिए । महासमिति सदस्यले आइतबार दिउँसोदेखि यी चारवटै प्रतिवेदनमाथि धारणा राख्ने क्रम सुरु भएको छ ।

बन्दसत्रमा हरेक जिल्लाबाट संघीय निर्वाचन क्षेत्रलाई प्रतिनिधत्व गर्ने गरी बोल्नेको नामवली तय गरिएको प्रवक्ता शर्माले बताए । बोल्न चार मिनेट समय छुट्याइएको छ । चार मिनेट पुगेपछि माइक आफै बन्द हुने व्यवस्था छ ।

विधानमा सहमति जुटाउन दिनभरि गृहकार्य

महासमिति भेलामा पेश गरिने विधान मस्यौदामा पार्टीको शीर्ष नेतृत्वबीच आइतबारदेखि पुनः अनौपचारिक संवाद सुरु भएको छ । केन्द्रीय समितिबाट पारित गर्न नसकेपछि महासमिति बैठकमै सहमति जुटाउन प्रयास थालिएको हो ।

आइतबार सभापति पक्षका महामन्त्री तथा विधान मस्यौदा संयोजक पूर्णबहादुर खड्का र सभापतिइतर नेताहरूबीच अनौपचारिक बैठक भएको थियो । त्यसमा सदस्यतासम्बन्धी विवादसहित केही बुँदामा सहमति जुटे पनि पदाधिकारी मनोनित गर्ने कि निर्वाचित भन्नेमा कुरा मिलेको छैन ।

पदाधिकारी संख्या बढाउन सहमत देखिएको सभापति पक्षको आधा पदाधिकारी निर्वाचित र आधा मनोनित गर्नुपर्ने मत छ । इतर पक्ष सबै निर्वाचित गर्नु पर्नेमा अडिग छन् । सिंहदरबारस्थित कांग्रेसको संसदीय दलमा भएको अनौपचारिक बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले सोमबार बिहान पुनः बसेर सहमति कायम गरिने बताए ।

चौधरी र वाग्लेसहित ६ जना महासमितिमा

पार्टी सभापति देउवाले आइतबार उद्योगपति विनोद चौधरी र अर्थविद् स्वर्णिम वाग्लेलाई महासमितिमा मनोनित गरेका छन् । चौधरी कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद छन् । वाग्ले योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

वाग्ले महासमिति भेलामा पेश भएको आर्थिक नीति बनाउने समितिमा समेत सहभागी थिए । देउवाले अनिल रूंगटा, दीपक अधिकारी, शम्भुलाल श्रेष्ठ र सुरेन्द्र चौधरीलाई पनि महासमिति सदस्यमा मनोनित गरेका छन् । उद्योगी रूंगटा पर्साबाट निर्वाचित पूर्वसभासद् हुन् । दीपक अधिकारी सर्लाहीका कांग्रेस नेता हुन् भने नेविसंघका पूर्वनेता रहिसकेका छन् । पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ सर्लाहीका नेपाली कांग्रेस नेता हुन् । पर्साका सुरेन्द्र चौधरी पूर्वमन्त्री हुन् ।

श्राेतः sagarmathapost.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु