काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समितिको बैठक सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको स्थायी समितिको सोमबारको बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, हरिवोल गजुरेल, अग्नी सापकोटा, शक्ति बस्नेत लगायत १० जना नेताहरुले बोलेका थिए । हरिवोल गजुरेलले भने लिखित ‘डकुमेन्ट’सहित सुझाव पेश गरेको बताइएको छ ।
यसअघि शनिबार बसेको बैठकमा दुवै अध्यक्षले संयुक्त रुपमा राजनीतिक प्रस्ताव भने बामदेव गौतमले फरक राजनीतक प्रस्ताव प्रस्तुत गरेका छन्। दुवै प्रस्ताव अहिले स्ठायी समितिका सदस्यलाई पढ्न दिइएको बताइएको छ । स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ। नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठका अनुसार बैठकमा बोल्ने हरेक सदस्यलाई २० मिनेटको समय दिइएको छ ।
बैठकमा सोमबारबाट सदस्यहरुले धारणा राख्न सुरु गरेकोमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । बोल्नेमध्ये अधिकांश नेताहरु नेतृत्व (अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड) विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । बैठकमा बोल्ने क्रममा नेता घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको भन्दै सरकार र नेतृत्वको कडा आलोचना गरे । उनले पार्टी नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके पार्टीलाई ठूलो नोक्सान पुग्ने खतरा औंल्याए । बैठकमा सहभागि एक नेताका अनुसार नेता हरिबोल गजुरेल र अग्निप्रसाद सापकोटा नेतृत्वको सवालमा केही नरम जस्तो देखिएपनि सरकारको ‘परफर्मेन्स’को सवालमा भने खुलेर विरोधमा उत्रिएका थिए । उनीहरुले नेतृत्वले आत्मआलोचना गर्दै पार्टीलाई एकजुट भएर अघि बढाउन पहल गरिनुपर्नेमा जोड दिएका थिए ।
यस्तै नेता बामदेव गौतम आफैंले पूरक प्रस्तावको रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्यामा केन्द्रीत रहेका थिए । उनको प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिइएको छ । यस्तै बैठकमा युवराज ज्ञवाली, मुकुन्द न्यौपाने गणेश साह, वेदुराम भुषाल र अष्ठलक्ष्मी शाक्यले पनि सरकारको कार्यशैलीको कडा रुपमा आलोचना गरेको बैठकमा सहभागि ती नेताले जानकारी दिए ।
‘बैठकमा बोल्ने शक्ति बस्नेत बाहेकका सदस्यहरुले दुई अध्यक्षले पेश गर्नुभएको प्रतिवेदनमा असन्तुटि जनाउनु भएको छ । पार्टी एकलौटी बनाएको, विधि र प्रक्रियाअनुसार पार्टी नचलेको जस्ता गुनासो र आक्रोश उहाँहरुको थियो’ ती नेताले भने, ‘सरकारको समेत नेतृत्व गरिरहेको नाताले ओली प्रति असन्तुष्टि बढी देखियो ।’ बैठकमा बोल्ने नेताहरुले गौतमको पूरक प्रस्ताव समग्रमा सही भएपनि बढी नकारात्मक रहेको र सबै विषयलाई नकारात्मक रुपमा पनि लिन नहुने धारणा राखेका थिए ।
सोमबारको बैठकमा ९ नेताहरु पार्टी नेतृत्व र सरकारको आलोचनामा एकमत हुँदा मन्त्रीसमेत रहेका नेता शक्ति बस्नेत भने बचाउमा देखिएका थिए । उनले पार्टी नेतृत्वको सरकारले विस्तारै बाटो लिँदै गरेको भन्दै यसैलाई लिएर आलोचना गरिहाल्नु हतार हुने धारणा राखेका थिए । अर्को बैठक मंगलबार बिहान ८ देखि ११ बजेसम्म फेरि बस्ने छ । यसैबीच सोमबारको बैठकको समापनमा अध्यक्ष ओलीले छोटो मन्तब्य राखेका थिए ।