काठमाडौँ — कतारी राजदूत युसुफ बिन अल हैलले नेपाली र कतारी नागरीकबीच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । कतारको राष्ट्रिय दिवसको पूर्वसन्धामा राजदूत हैलले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई पनि कतारको समर्थन र सहयोग रहने बताएका छन् ।
‘नेपाल प्रकृतिले दिएका अनुपम उपहार हो। पर्यटनबाटै नेपालले ठूलो धन राशी भित्र्याउन सक्छ। नेपालको नेपाल भ्रमण वर्ष २०२० लाई हामी खुलेर सहयोग गर्छौ। २० लाख पर्यटन भित्र्याउने नेपालको लक्ष्यलाई हामी सबै मिलेर पुरा गर्नुपर्छ,’ उनले भने।
राजदूत हैले कतारमा रहेको नेपाली समुदायले त्यहाँ सौहार्द्रता, भाइचारा र कल्याणकारी व्यवहार प्रदर्शन गरेका भन्दै प्रशंसा पनि गरेका थिए। ‘सबै तहका नेपाली र कतारी नागरीकबीचको घनिष्ठसम्बन्ध छ,’ हैलले भने, ‘हामी कतारी नागरीकले नेपाली समुदायको इमान्दारिताको उच्च मुल्याकंन गरेका छौं। नेपालीको कामप्रतिको लगाव अतुलनीय छ। यो पृष्ठभुमिमा नेपाल र कतारबीचको सम्बन्धलाई नयाँ ढंगबाट बढाउँदै अपासी हितमा अघि बढ्नुपर्छ।’
उनले दुई देशबीचको सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने कामलाई प्राथमिकता दिइरहेको बताए। ‘नेपाल र कतारबीचको सम्बन्ध निकै नै घनिष्ठ र प्रगाढ छ। नेपाल र कतारबीचको सम्बन्ध कति प्रगाढ छ भन्ने देखाउन अहिले कतारमा कार्यरत ५ लाख बढी नेपालीको संख्या नै काफी हुन्छ। जसले यो सम्बन्धको महत्वलाइ पनि दर्शाउँछ।’
उनले दुवै देशबीच उच्च तहमा सवांद हुन थालेको पनि जानकारी दिए। ‘राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भ्रमणपछि सम्बन्धलाई थप उचाइ दिन हामी केही हदसम्म सफल भयौं। दुवै देशमा उच्च तहका भ्रमण गराउन र आपसी समझदारी बढाउँदै सम्बन्ध विस्तार र विकासका काममा पनि अघि बढ्ने हाम्रो कोशिस रहनेछ,’ उनले भने।
राष्ट्रपतिको भ्रमणका बेला कतारसँग नेपालले कुटनीतिक राहदानी बाहकका लागि भीसा नचाहिने व्यवस्थामा सहमति, सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारीमा समेत हस्ताक्षर गरेको थियो।
राजदूत हैलले नेपालको कृषि उत्पादन, शुद्ध खानेपानी, कपडा र कार्पेट उत्पादनले कतारको बजार पाउने बताए। ‘व्यापार विस्तार गर्न कतार र नेपाल चेम्बरबीच दुई पक्षीय व्यापार विस्तार बारे सहमति भइसक्यो,’ उनले भने।
कतारले आफ्नो राष्ट्रपिता शेख जासिम बिन मोहम्मद अलथानीको जन्मोत्सव (१८ डिसेम्बर)लाई हरेक वर्ष राष्ट्रिय दिवसका रुपमा मनाउने गर्छ।
कतारमा आयोजना गरिएको राष्ट्रिय दिवसको कार्यक्रममा यो वर्ष नेपालीहरुको पनि उल्लेखनिय सहभागिता रहेको थियो। उनीहरुले राजधानी दोहामा आयोजित कार्यक्रममा मार्चपास समेत गरेका थिए।