कर्मचारीले क्षमताअनुसार देशको मुख्य सचिव हुन पाउनुपर्छ : अध्यक्ष बानियाँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ५ गते, बिहीबार १८:५६

काठमाडौं, ५ पुष । विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष टोपबहादुर बानियाँले अध्यादेशले कर्मचारीलाई विभेद गरिएको गुनासो पोखे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारले दुईतिहाइको दम्भमा कर्मचारीमाथि भय र त्रास उत्पन्न गरी बलमिच्याँइमा यो अध्यादेश ल्याईएको छ ।’

कर्मचारीलाई खुसिकासाथ, आत्मसम्मानपूर्वक जनताको सेवा गर्ने उचित वातावरण सिर्जना नगरे सम्पूर्ण देशभक्त, प्रगतीशील, लोकतन्त्रवादी कर्मचारीहरु एकजुट भएर आन्दोलनमा उत्रिनुको विकल्प नहुने उनको भनाई छ । उनले भने,‘त्यो अवस्था नआउन दिन सरकार सजक हुनुपर्छ । अध्यादेशको विरुद्धमा स्वतस्र्फुत रुपमा कर्मचारीहरु आन्दोलित भैसकेका छन् ।’

उनले खरिदारमा सेवा प्रवेश गरेको कर्मचारीले क्षमताअनुसार देशको मुख्य सचिव हुन पाउनुपर्ने पनि धारणा राखे । उनले थपे,‘खरिदारबाट सेवा प्रवेश गरेको कर्मचारीसँग क्षमता छ भने उसले मुख्यसचिव हुन पाउनुपर्छ, तल्लो तहको कर्मचारीदेखि माथिल्लो तहसम्मको कर्मचारीबीच ठूलो विभेद छ, यो विभेदलाई अन्त्य गर्न सरकारले उचित कदम चाल्नुपर्छ, अध्यादेश सच्याउनुपर्छ ।’ बानियाँले अध्यादेशमा गोलमोटल भाषा प्रयोग गरिएको भन्दै आपत्ति पनि जनाए ।

गत मङ्सिर २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ को विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु