दाङमा बस दुर्घटना, २३ जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ७ गते, शनिबार १५:३४

दाङ , ७ पुस ।  दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुकी भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ जना पुगेको छ । १४ जना गम्भिर घाइते भएका छन् भने १२ जनाको सनाखत भएको छ ।

कृष्णसेन ईच्छुक पोलिटेक्निकल इनिष्टिच्यूडका विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस राम्रीमा दुर्घटना भएको हो। दुर्घटनाका १९ पुरुष र ४ महिलाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १७ गैरागाउँस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन वातवरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको वनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मृत्यु हुनेमा बसचालक घोराही उपमहानगरपालिका ३ का मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका १७ का २८ वर्षीय प्रदिप घिमिरे, रुकुम भुमे गाउँपालिका ६ का २८ वर्षीय नरेश वली,विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ वर्षीय बबिता खत्री, दंगिशरण गाउँपालिका १ का २० वर्षीय सञ्जीत रत्गैयाँ, जुम्ला चन्दननाथ नगरपालिका ६ का १६ वर्षीया कुशुम रावल, जाजरकोट भेरीगंगा नगरपालिका ४ का १७ वर्षीय आतिस नेपाली, कञ्चनपुर कृष्णपुर नगरपालिका ५ का १७ वर्षीय खेमराज भट्टको मृत्यु भएको छ।

त्यसैगरी, जुम्ला चन्दननाथ नगरपालिका ३ का १७ वर्षीय हिम्मत बोहरा, जुम्ला कन्कासुन्दरी गाउँपालिका ५ का २० वर्षीय विरेन्द्र कन्डरा र जुम्ला हिमा गाउँपालिका ५ का १७ वर्षीया शैलजा शाहीको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

दुर्घटनामा गम्भिर घाइतेहरुको कोहलपुर र नेपालगञ्जमा उपचार भइरहेको छ। बसमा ३३ विद्यार्थी, २ शिक्षक र बसका २ जना स्टाप गरि ३७ जना रहेको बुझिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु