• नेपाल श्रमिक आपूर्तिकर्ता संघले आज प्रथम स्थापना दिवस मनायो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १८:५८

    काठमाडौं, ९ पुस । नेपाल श्रमिक आपूर्तिकर्ता संघले आज आफ्नो प्रथम स्थापना दिवसलाई “श्रमिक आपूर्तिकर्ता दिवस’’ को रुपमा मनाएको छ । संघले अबदेखि हरेक वर्ष पुष ९ गतेलाई “श्रमिक आपूर्तिकर्ता दिवस’’ को रुपमा मनाउने घोषणासमेत गरेको छ ।

    सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि संघले प्रथम स्थापना दिवस मनाउनको लागि जानकारी गराएको हो । संघले श्रमिक आपूर्ति व्यवसायमा समर्पित व्यवसायीहरुको हकहित संरक्षण गर्ने मूल उद्देश्यलाई आत्मसात गरी ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को राष्ट्रिय अभियानलाई साकार पार्न “नेपाल श्रमिक आपुर्तिकर्ता संघ’’ विधिवत् अस्तित्वमा आएको पनि विश्वास दिलाएको छ ।

     

    कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष रामेश्वर शाहले नेपालको श्रमबजारबाट विदेशिने नेपालीहरुलाई लक्षित गरेर आफूहरुले यो संस्थालाई सञ्चालनमा ल्याएको जिकिर गरे । उनले भने,‘सरकारले व्यवस्था गरेको श्रम ऐनअनुसार नै हामीले सेवा प्रवाह गरिरहेका छौं ।’

    संघको तर्फबाट अध्यक्ष शाहको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘श्रमिक आपूर्तिकर्तामार्फत रोजगारदाताले आफ्नो व्यवसायको ‘मुख्य कामबाहेक अन्य काममा मात्र लगाउन सकिने’ तथा एउटा ‘कम्पनीले दुई भन्दा बढी काम वा सेवाको लागि श्रमिक आपूर्ति गर्न नपाउने’ व्यवस्था नागरिकको निर्वाध रुपमा पेशा र व्यवसाय गर्न पाउने संविधानप्रदत मौलिक हक र कर्तव्य प्रतिकुल रहेको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन विचाराधीन रहेतापनि ऐन र नियमबमोजिम सरकारले आव्हान गरेको इजाजत प्रक्रियामा व्यवसायीहरु एक ढिक्का भएर सहभागी भएका छन् ।’

    सरकार आफूहरुलाई अब श्रमिक आपुर्तिकर्ताको ईजाजत दिने तयारीमा रहेको सुनाउँदै उनले भने,‘अहिले १ सय २४ जना व्यवसायीहरुले ईजाजतको लागि निवेदन दिनुभएको छ ।’ संघको स्थापनाको यो एक वर्षमा आफूहरुले १३ वटा जिल्लामा शाखाहरु सञ्चालनमा ल्याएको पनि अध्यक्ष शाहले जनाए ।

    हालै लागु गरिएको न्युनतम पारिश्रमिक तथा सेवा सुविधा लागु गर्नेप्रति मुख्य रोजगारदाताको उदासिनताले यस क्षेत्रमा व्याप्त समस्यालाई अझ जटिल तुल्याएको उनको भनाई छ । विज्ञप्तीमा थप भनिएको छ,‘यी विषयहरुलाई तत्काल सम्बोधन नभए श्रमिक आपुर्ति सम्बन्धी व्यवसाय नै धरापमा पर्ने समेत महसुस गरिएको हुदाँ यस प्रति सम्बन्धित सबैको समयमै ध्यानाकर्ष्ण हुन् अनुरोध गर्दछौ ।’

    त्यस्तै कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष अजयराज जोशीले आफूहरुले यो एक वर्षको अवधिमा उल्लेख्य काम गरेको स्मरण गर्दै आगामी दिनमापनि संघले आफ्नो स्तरोन्नती र विस्तार गर्नेमा विश्वास दिलाए ।

    महिला व्यवसायी पुष्पा कुमारी कोइरालाले समृद्ध नेपाल निर्माणको लागि व्यवसायी र रोजगारदाताहरुबीच सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् ।

    उनले भने,‘हाम्रो संघले शैक्षिक तथा अर्धशैक्षिक बेरोजगारीलाई न्यूनिकरण गरिरहेको छ । व्यवसायीहरुबीच यसले पुलको काम गरेको छ ।’ दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारीको वातावरण बनाउनपनि संघले सकारात्मक भूमिका निर्वाह गर्नेपनि उनले जनाईन् ।

    अखिल नेपाल सेक्युरिटी संघका अध्यक्ष घनश्याम ठकुरीले पनि आफ्नो धारणा राखेका थिए । उनले भने,‘हामी पनि केन्द्रिय संगठनहरु आधिकारिक रुपमा सँगै जान खोजेका छौं । हाम्रो संघ भनेको कुनै उद्योग होईन् । सामाजिक सुरक्षाको कार्यक्रम ल्याउनको लागि धेरै मेहनत गर्यौं । यसले व्यवसायी तथा श्रमिक आपुर्तिकर्तालाई सहयोग पुग्नेछ ।’ सामाजिक सुरक्षा कार्यक्रमले गर्दा स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नेपनि उनले विश्वास दिलाए ।

    श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र श्रम मन्त्रालयका सचिव महेशकुमार दाहालले पनि संघको प्रथम स्थापना दिवसको अवसरमा शुभकामना दिएको संघले जनाएको छ ।

                                                                                          प्रेस विज्ञप्ति
    “व्यवस्थित श्रम बजार सम्वृद्धिको आधार“ भन्ने मूलमंत्रका साथ २०७४ साल पौष ९ गते का दिन स्थापित नेपाल श्रमिक आपूर्तिकर्ता संघ आफ्नो प्रथम स्थापना दिवसलाई “श्रमिक आपूर्तिकर्ता दिवस“ को रुपमा मनाउदैछौ। यस अवसरमा सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ ।

    राष्ट्रिय आवश्यकता एवम् बदलिदो परिस्थितिअनुरुप श्रमिक आपूर्तिकर्ताको कामलाई सुव्यवस्थित, सुदृढ एवम् अझ बढी व्यापक पार्दै राष्ट्रको श्रमिक आपूर्तिकर्ताको क्षेत्रलाई वैधानिक किसिमले विकाश गरी राष्ट्रिय अर्थतन्त्रलाई दरिलो पार्न ठोस योगदान पुर्याउने र श्रमिक आपूर्ति व्यवसायमा समर्पित व्यवसायिहरुको हकहित संरक्षण गर्ने मूल उद्देश्यलाई आत्मसात गरी समृद्ध नेपाल तथा सुखी नेपालीको राष्ट्रिय अभियानमा लाई साकार पर्न “नेपाल श्रमिक आपुर्तिकर्ता संघ’’ विधिवत् अस्तित्वमा आएको हो ।

    लामो राजनैतिक संक्रमण पश्चात देश समृदीको मार्ग्तिर उन्मुख छ । यस अवधीमा अझ वढी रोजगार सिर्जना हुने र श्रम बजारमा थप जनशक्तिको मागसँगै आपूर्ती पनि हुने निश्चित छ । श्रम बजारलाई अझ सुव्यवस्थित गर्नुपर्ने चुनौती हाम्रा छदैछ । यसै परिप्रेक्ष्यमा श्रम क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाल सरकारले हालै जारी गरेको श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ ले पहिलो पटक गरेको “श्रमिक आपुर्ति सम्बन्धि व्यवस्था“ लाई ऐतिहासिक उपलब्धीको रुपमा लिएकाछौ । यसको सफल कार्यान्वयनको लागि नेपाल सरकारका सम्बन्धित निकायहरुसँग मिलेर काम गर्न संघ सदा उत्सुक र तम्तययार रहेको छ ।

    श्रम ऐन-२०७४ ले “श्रमिक आपूर्तिकर्ता“ को ऐतिहासिक व्यवस्था गरेसंगै सिङ्गो आपूर्तिकर्ता व्यवसायीहरुमा नयाँ तरङ्ग सृजना भयो । अब यो क्षेत्रले नयाँ गती र उचाई हासिल गर्छ भन्नेमा आम चासो रहन थाल्यो । तर श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ का कतिपय व्यवस्थाहरु अझै श्रमिक आपूर्तिकर्तामैत्री देखिएका छैन । श्रमिक आपूर्तिकर्तामार्फत रोजगारदाताले आफ्नो व्यवसायको ’मुख्य कामबाहेक अन्य काममा मात्र लगाउन सकिने’ तथा एउटा ’कम्पनीले दुई भन्दा बढी काम वा सेवाको लागि श्रमिक आपूर्ति गर्न नपाउने’ व्यवस्था नागरिकको निर्वाध रुपमा पेशा र व्यवसाय गर्न पाउने संविधान प्रदत मौलिक हक र कर्तव्य प्रतिकुल रहेको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन विचाराधीन रहेतापनि ऐन र नियमबमोजिम सरकारले आव्हान गरेको इजाजत प्रक्रियामा व्यवसायीहरु एक ढिक्का भएर सहभागी भएका छन् ।

    व्यवसायिक इजाजत लिन आवश्यक पर्ने मोटो रकमको धरौटी वा बैंक ग्यारेण्टी, नियम र प्रकृया मिलाउनमै खर्चिएका इजाजत लिने छ महिने समयावधि, भए गरेका व्यवसायलाई समेटिने किसिमको श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई लगाउन सकिने कामको सुची, झन्झटिलो इजाजत प्रकृया, लगायतका बिषयहरु अझै सम्बोधन हुन् बाँकी नै रहेकोछ भने हालै लागु गरिएको न्युनतम पारिश्रमिक तथा सेवा सुविधा लागु गर्नेप्रति मुख्य रोजगारदाताको उदासिनताले यस क्षेत्रमा व्याप्त समस्यालाई अझ जटिल तुल्याएको निवेदन गर्न चाहन्छौ । यी विषयहरुलाई तत्काल सम्बोधन नभए श्रमिक आपुर्ति सम्बन्धी व्यवसाय नै धरापमा पर्ने समेत महसुस गरिएको हुदाँ यस प्रति सम्बन्धित सबैको समयमै ध्यानाकर्ष्ण हुन् अनुरोध गर्दछौ ।

    हामी हाम्रा श्रमिकहरुको हक अधिकारको सम्मान गर्छौ र उहाँहरुले पाउने सेवा सुविधाहरुप्रति सदा सकारात्मक रहन्छौ । राष्ट्रियस्तरका ट्रेड यूनियनहरुप्रति हाम्रो उच्च सम्मान रहनुको साथै रचनात्मक सहकार्य सम्बन्धको विस्तार गर्न चाहन्छौँ । मूख्य रोजगारदातालाई श्रम ऐन २०७४ ले श्रमिक आपुर्तिकर्ताको अभिभावकको रुपमा स्थापित गरेको विषयलाई स्वागत गर्दै यस संघसँग आवद्ध संस्थाहरुको अझ बढी विकासको लागि प्रेरक एवम् सेतुको रुपमा रही सहयोग पाउने विश्वास समेत प्रकट गर्दछौ । धन्यवाद ।

    रामेश्वर शाह
    अध्यक्ष, नेपाल श्रमिक आपुर्तिकर्ता संघ
    ९ पौष २०७५, काठमाण्डौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु