• स्वास्थ्य नीति यही महिनाभित्रै आउँछ, शारिरीक र मानसिक स्वास्थ्य बराबरी प्राथमिकतामा : उपप्रधानमन्त्री यादव

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार २०:१४

    काठमाडौं, १३ पुस । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यही महिनाभित्र स्वास्थ्य नीति ल्याउने स्पष्ट पारेका छन् । उनले भने,‘सबै तयारी भैसकेको छ । हामी यही महिनामा स्वास्थ्य नीति ल्याउँछौं । अब आउने स्वास्थ्य नीतिले शारिरिक र मानसिक स्वास्थ्य दुवैलाई बराबरी प्राथमिकता दिन्छ ।’

    शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा मन्त्री यादवले मानसिक र शारिरीक दुवै स्वास्थ्य महत्वपूर्ण पक्ष भएको बताउँदै भने,‘हाम्रोमा शारिरीक स्वास्थ्यबारे धेरै हस्पिटल छन् । डाक्टरहरु पनि छन् । सहयोग गर्ने संघसंस्थाहरु पनि छन् । तर, मेन्टल हेल्थमा हामी धेरै पछाडी छौं ।’

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले किशोर किशोरीहरु खासगरी युवाहरुमा मेन्टलसम्बन्धी केशहरु पाईएको जनाए । यादवले भने,‘गरिबी, बेरोजगारी, राजनैतिक अस्थिरता, राम्रो स्वास्थ्य अभाव, शिक्षाको अभाव र भोजनको अभावका कारण मानसिक स्वास्थ्यको समस्या देखिएको छ ।’ नेपालमा भविष्यप्रतिको अनिश्चितताको कारणलेपनि मानसिक स्वास्थ्यको समस्या देखा पर्ने गरेको र विकसित मुलुकमा भने पारिवारिक असन्तुष्टिका कारण देखिने गरेको यादवले सुनाए । मानसिक स्वास्थ्यको क्षेत्रमा सुधार गर्नको लागि ठूलै लगानी गर्नुपर्ने उनको भनाई छ ।

    यादवले भने,‘युवा उमेरमा मानसिक स्वास्थ्यको देखा परेको पाईन्छ, यसको प्रोपर ट्रिटमेन्ट आवश्यक छ ।’ सरकारी स्वास्थ्य क्षेत्रमा अहिले दर्दानक अवस्था रहेको उनले बताए । उनले भने,‘अस्पतालहरु छन्, तर डाक्टहरु छैनन् । ६ वर्षअघि करोडौं लगानी गरेर रौतहटमा अस्पताल बनाईएको रहेछ, पाँच वर्षदेखि चुहिरहेको छ । सिरहाको अस्पतालको पनि त्यस्तै अवस्था छ ।’

     

    उनले ठाउँ–ठाउँमा सरकारकी अस्पतालमा डाक्टरहरुको अभाव रहेको बताउँदै भने,‘जनशक्तिको ठूलो अभाव छ ।’ आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क दिने वा उपलब्ध गराउने आफ्नो तयारी रहेको पनि मन्त्री यादवले सुनाए ।

    उनले भने,‘सरकारी अस्पतालका अस्पतालमा सुधार गर्नुपर्छ । यसको लागि ठूलो लगानी गर्नुपर्छ । एक चौथाईपनि जनशक्ति छैन्।’ प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेन्टर बनाउनेपनि तयारी गरिएको उनले जनाए ।

    जिल्ला र क्षेत्रीय अस्पतालहरुलाई सुधार र स्तरोन्नती गर्नुपर्ने आवश्यकत्ता उनले सुनाए । उनले भने,‘राम्रो उपकरण र दक्ष जनशक्ति राख्नुपर्छ । यो तत्काल गर्नुपर्ने आवश्कत्ता छ ।’ त्यस्तै, उनले हरेक प्रदेशमा मेन्टर हेल्थ सेन्टर बनाउने कुरालाई पनि आफूले अभियानको रुपमा अघि बढाउन लागेको उनले जनाए ।

    सरकारी अस्पतालहरुको अवस्था दर्दनाक भएको सुनााउँदै उनले अहिलेसम्म पशुपतिनाथले चलाईरहेकोजस्तो लागेको पनि टिप्पणी गरे । शिक्षा र स्वास्थ्य क्षेत्र सवल भयो भनेमात्रै देश बन्ने उनको भनाई छ । उनले भने,‘मान्छे ज्ञानी र स्वस्थ भयो भने उसले संसार बदल्छ ।’
    अहिलेसम्म स्वास्थ्य क्षेत्रलाई सबैभन्दा कम प्राथमिकतामा राखिएको र त्यसपछि शिक्षालाई राखिएको गुनासो पोखे ।

    उनले भने,‘अब स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । चीन, जापान र सिंगापुरजस्ता विकसित देशहरुले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यही भएर उनीहरु विकसित भएका हुन् । नेपालमा यी दुवै क्षेत्रमा लगानीको आवश्यकत्ता छ। अहिले धेरै कम भएको छ ।’

    यद्धपी यादवले जनस्वास्थ्यको क्षेत्र भने नेपालमा राम्रो भएको स्पष्ट पारे । उनले भने,‘स्वास्थ्य शिक्षा पनि ठिककाठै छ । अब ट्रिटमेन्टमा सुधार गर्नुपर्छ ।’ डाक्टर, नर्सलगायत नेपालका दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ ।

     

    कार्यक्रममा कोशिश नेपालका संस्थापक अध्यक्ष मातृका देवकोटाले मानसिक स्वास्थ्यप्रति सरकार गम्भिर बन्नुपर्ने धारणा राखे । उनले पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढिरहेकोले यसको रोकथामको लागि सरकारले बेलैमा उपयुक्त कदम चाल्नुपर्ने बताए ।

    प्रहरीको डाटा सुनाउँदै उनले भने,‘गत आर्थिक वर्षमा मात्रै ५ हजारले आत्महत्या गरेका छन् । दिनमा १५ जनाले आत्महत्या गरिरहेका छन् । आत्महत्या महामारीझैं देखिएको छ । सरकारले अब समन्वय गरेर प्रभावकारी कदम चाल्नुपर्छ ।’ महिलाहरु लैङिक हिंसाका कारण आत्महत्या गरिरहेको उनले सुनाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु