काठमाडौं–सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै श्रम स्वीकति दिन थालेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले सरकारले आइतबारदेखि पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराउन थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
‘श्रम स्वीकृति प्रदेश तहबाट दिने प्रकृया आज जनकपुर र बुटवलबाट सुरु गरियो । अब केही दिनमा बाँकी सबै प्रदेशबाट पनि सुरु गरिनेछ । प्रदेशबाट उपलब्ध गराइने श्रम स्वीकृतिको व्यवस्थाले युवाहरूमा सहज सुविधा पुग्ने कुरामा आशा राखेको छु’, श्रम, रोजागार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने । ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए ।
अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पु(याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने उनले बताए। प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन । यसैबीच वैदेशिक रोजगारीमा जानेहरुको लागि जनकपुरबाटै काम हुन थालेपछि सेवाग्राहीहरु खुसी भएका छन् । प्रदेशबाट सेवा पाइँदा समय र रकमको बचत भएको सेवाग्राहीले बताएका छन् ।