काठमाडौं–न्यूरोडस्थित एअरटेल सहकारी संस्थामा सयौंजना बचतकर्ताको करोडौं रकम ठगी गरेर फरार सारिका जैनका लोग्ने हेमराज जैनसहित तीन मारवाडी कालोबजारी प्रकरणमा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको प्रहरी टोलीले जैनलाई हनुमानढोका पछाडि रहेको निजकै गोदामबाट विभिन्न व्राण्डका नक्कली समानसहित पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको हो । पक्राउ पर्ने अन्य दुईमा काशी लाठ र चेतन गोयल रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरुले लोटस, पपैया लगायतका विभिन्न व्राण्डका नक्कली समान बिक्री गर्ने गरेको पाइएको छ ।
यता, कालोबजारी प्रकरणमा पक्राउ परेका तीनै जनालाई छुटाउन निकै चलखेल भइरहेको बुझिएको छ । अपराध महाशाखाले पक्राउ गरे लगत्तै जारी गर्न खोजेको प्रेस रिलिज समेत गुपचुपमै दबाउन माफिया सफल भएको छ । यसअघि राजस्व अनुसन्धान विभागले छापा हानेर पक्राउ गरेको अवस्थामा पचास लाख बराबरको रकम लेनदेन गरेर उक्त प्रकरण ढाकछोप गरिएको थियो । अहिले पनि त्यस्तै गर्न खोजिएको अवस्था सफल हुन नसकेपछि माफियाले अदालतलाई प्रभाव पार्ने प्रपञ्चमा दौडधूप गरेको स्रोतले बतायो । अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले आफूमाथि जस्तोसुकै दबाब आए पनि कालोबजारी प्रकरणमा मुद्दा चलाएरै छाड्ने अडानका साथ म्याद थप गरी मुद्दा प्रक्रिया अघि बढाएको बुझिएको छ ।
सयौं सर्वसाधारणको करोडौं रकम ठगी गरेको आरोपमा एयरटेल सहकारीका प्रवन्ध निर्देशक अशोक जैन पक्राउ परेको भएतापनि उक्त सहकारी ठगीमा संलग्न सहकारीकै अध्यक्ष सुमन केडिया तथा पदाधिकारीहरु सीमा बंशल, सारीका जैन, सुरेन्द्र अग्रवाल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दिपेन्द्र शर्मा फरार रहँदै आएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले सहकारी ठगी गर्नेहरुमाथि संगठित अपराधमा मुद्दा चलाइरहेको छ । महंगो व्याजको प्रलोभन देखाएर कयौं मारवाडी समूदायका व्यक्तिलाई रकम जम्मा गर्न लगाएर ठगी गरेको पाइएको छ ।
सहकारीमा जम्मा गराएको रकम सोही सहकारीका पदाधिकारीले आफूखुसी चलाउने गरेको यसअघि नै अनुसन्धानका क्रममा पत्ता लागेको थियो ।