‘हाम्रो पार्टीले कसैलाई जोगाउँदैन, दोषीलाई कारबाही हुनुपर्छ’ : सांसद भट्टराई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २१ गते, शनिबार १८:४९

काठमाडौं, २१ पुस । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले एक स्वरमा वाईडबडी खरिद प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिनुपर्ने स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी देखिने कसैलाईपनि उन्मुक्ति दिन नहुने धारणा राखेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लेखा समितिका सदस्य एवम् नेकपाका सांसद विशाल भट्टराईले वाईडबडी खरिद प्रकरण नेपालको ईतिहाँसमा कलंक भएको टिप्पणी गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘यो नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो भ्रष्टाचारको नमूना घट्ना हो । नेपाल एयरलायन्सको ईतिहाँसमा अरु थुप्रै काण्डहरु छन् । वाईडबडी खरिद प्रक्रियामा ठूलो घोटाला भएको छ । ठूलो अनियमितता भएको छ । यसमा कुनै द्धिविधा छैन । दोषीहरुलाई कारबाही गर्नुपर्छ ।’
उनले आफुहरुले कसैलाई पनि नजोगाउने स्पष्ट पारे । उनले भने,‘बदमास गर्नेजति सबैलाई कारबाही गर्नुपर्छ । हामी कारबाही गर्छौं । यो विषय कसैकोलागि पनि क्षम्य हुँदैन् ।’
आफ्नो पार्टीले कसैलाईपनि जोगाउने वा बचाउने काम नगर्ने उनको भनाई थियो । उनले भने,‘नेकपाले कसैलाई छुट दिँदैन् ।’ यद्धपी उनले लेखा समितिद्धारा गठित छानबिन उपसमितिको प्रतिवेदन संशोधनसहित आउनुपर्ने धारणा राखे । भट्टराईले भने,‘प्रतिवेदन संशोधनसहित आउँछ । हामी प्रतिवेदनलाई सोमबारको बैठकमा निश्कर्षमा पुर्याउँछौं ।’

त्यस्तै उनले यो प्रकरणका सबैभन्दा ठूला डिजाईनर वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकार भएकोपनि आरोप लगाए । उनले भने,‘तर, उपसमितिको प्रतिवेदनमा कंशकार, सचिव प्रेम राई र अरुलाई एउटै बुँदामा हाल्ने काम भयो । उपसमितिको प्रतिवेदन समितिमा आउनुपुर्व मिडियामा आयो । कसरी मिडियामा आयो ? यसमापनि हामीलाई आश्चर्य लागेको छ ।’

उपसमितिको प्रतिवेदनलाई अंकुश लगाउनको लागि वा लेखा समितिको समानन्तर समितिको रुपमा सरकारले उच्चस्तरीय छानबिन न्यायिक समिति गठन नगरेकोपनि उनले स्पष्ट पारे । उनले भने,‘सरकारले गठन गरेको उच्चस्तरीय समितिबाट हाम्रो समितिलाई अंकुश लगाउने कुनै काम हुँदैन् । यो त राजनीतिक समिति हो । यसले सबै अन्तरकुन्तर खोज्ने काम गर्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु