
खगबहादुर खत्री
विश्वसाइकल यात्री
नेपालको सुन्दर पहाडी जिल्ला बागलुङमा जन्मेर समथर नवलरासीमा हुर्केका खगबहादुर खत्रीको चाहना शान्ति, समानता र भाइचाराको सन्देश विश्वव्यापी रुपमा फैलाउनु हो । विश्व शान्ति र मानवीय भाइचारा सन्देशसहित विश्व साइकल यात्रा अभियानमा आफूलाई सहभागी गराइरहेका खत्री सन २००० बाट सुरु भएको आफ्नो साइककल याात्रामा क्रममा अनवरत पाइडल चालिरहेका छन् । नेपालको पूर्वी झापाबाट पूर्वी बोर्डर क्रस गरेर बङ्गलादेश हुँदै थाइल्यान्ड, र थाइल्यान्डबाट मलेसिया, सिंगापुर हुँदै उनको साइकल यात्रा विभिन्न देश पुगिसकेको छ । साइकल यात्राबाटै विश्वलाई शान्तिको सन्देश दिने र विश्वभर नेपाली माटोको सुगन्ध छर्ने अभियानमा निरन्तर लागिरहेका खत्रीसँग उनको उद्देश्य, सपना, वर्तमान र भविष्यबारे जनसवाल दैनिकले गरेको कुराकानीको सारसंक्षेप :
यहाँको विगत र वर्तमान बारे बताईदिनुस न ?
सर्वप्रथम त यहाँहरू लगायत सबैमा हार्दिक नमस्कार । सबै नेपालीजनहरुमा, मेरा शुभचिन्तकहरू र सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरू सबैमा मेरो अभिवादन । म खगबहादुर खत्री । यहाँ गल्फमा मलाई यस्मीन मामा भनेर चिन्नुहुन्छ । म जन्मेको बाग्लुंगमा भए पनि नवलपरासीमा हुर्किए । म सुरुमा कामकै सिलसिलामा गल्फ आएको थिए । दुई वर्ष बसेपछि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावले नेपाल गए । म सानैदेखि फोटोग्राफी, भ्रमण, एडभेन्चर र साइक्लीङमा रुचि राख्थे । र, आज मैले आफ्नो रुचिअनुसारको कर्म गर्न सफल पनि भए । म ज्यादै खुसी छु कि– आफ्नो देशको विभिन्न जाति, धर्म, पेसा, प्रकृति र भूगोलको कला र संस्कृतिलाई हृदयमा बोकेर विश्व शान्ति र मानवीय भाइचारा सन्देश सहित विश्व साइकल यात्रा अभियानमा आफूलाई सहभागी गराउन सके । अझ भनु त म सामाजिक कार्यमा सहभागी हुन एकदमै रुचाउने । सोही अनुसार विभिन्न सामाजिक कार्यहरू– बाटो घाटो, मठ मन्दिर, शिक्षा लगायत क्षेत्रमा जो सकेको स्वयंसेवी भूमिका निर्वाह गरे । मैले प्रवाह गर्न खोजेको मूल सन्देश भनेकै– शान्ति, समानता र भाइचाराको हो । म विभिन्न कुलतहरूबाट आफूलाई जोगाउन सफल मान्छे हुँ, त्यसर्थ सबै नेपालीजनहरुमा समाजमा सर्वशान्ति स्थापना गर्नकोनिमित्त विभिन्न खाले कुलतहरूमा नफसौ भन्ने पनि मेरो सन्देश हो ।
विश्व साइकल यात्रामा निस्कन यहाँलाई केले प्रेरित गर्यो ?
मरेर लानु केही छैन, बरु बाँचुन्जेलको जीवनमा सत्कर्म अर्थात् पुण्य कर्म गरेर देशलाई केही योगदान पुराउन सकुँ भन्ने ठानेर विश्व शान्ति, समानता र भाइचारा भन्ने मूल सन्देश बोकी विश्व साइकल यात्रामा निस्किने निर्णय गरे । विश्व साइकल यात्रा अभियान आफैमा बहुत मुस्किल कार्य हो । यसको लागि पनि आर्थिक पक्ष मूल कुरा हो । आर्थिक पक्षको व्यवस्थापनकै निमित्त मैले आफ्नो जग्गा जमिन बन्धकी धितो राखेर ऋण लिए । र, देशप्रेमको भारी बोकेर कतार आए । केही समय काम गरे । सोही सिलसिलामा मलाई धेरै तपाइहरूजस्तै पत्रकारहरु, मिडियाहरू, सङ्घ संस्थाहरू, पर्यटन संस्थाहरू र विभिन्न मित्रजनहरुले विभिन्न खाले सहयोग गर्नुभयो । त्यसको लागि म हृदयदेखि जति आभारी रहे पनि कमै हुन्छ । खासमा मलाई खासै बोल्न आउँदैन तर मलाई समाजसेवामा दील गडेको छ । मलाई धेरेले यत्रो मान्छे किन साइकलमा हिड्छस भनेर खिसी गर्छन् । तर म भन्ने गर्छु– नेपाल गरिब छ तर नेपाली मन धनी छ, नेपाली संस्कृति धनी छ, नेपाली प्रकृति धनी छ, नेपालको त्यही धनीपन विश्वमाझ चिनाउन पनि मैले साइकलमा विश्व यात्रा गर्नु पर्दछ भनेर निरन्तर आफ्नो लक्ष्यमा लागेको छु । नेपाली हुनुमा मलाई यति गर्व लाग्छ– विश्वमा कहीँ नभएको संस्कृति र संस्कार हाम्रो देशमा छ । विश्व इतिहासमा कसैको पनि गुलाम नभएको एउटा देश नेपाल । गर्वले छाती फुलीन्छ । हिमाल हाम्रै देशमा, पहाड हाम्रै देशमा, तराई हाम्रै देशमा, हरियाली घना बन हाम्रै देशमा, हिमालको चिसो कलकलाउदो पानी हाम्रै देशमा, नदीनाला हाम्रै देशमा, सगरमाथा हाम्रै देशमा, बुद्ध हाम्रै देशमा । नेपाली धनीपनको बयान गर्न म असमर्थ छु । त्यसर्थ, यही हाम्रो धनीपन विश्वमा पुर्यााउन म साइकल यात्रामा छु ।
तपाईँले धर्म परिवर्तन गर्नुको मूल कारण के होला ?
म सबै धर्मलाई हार्दिकताएकासाथ स्वीकार गर्ने, सम्मान गर्ने र धार्मिक सहिष्णुतामा विश्वास गर्ने पात्र हुँ । म मुस्लिम देश÷समुदायमा लामो समय बसेको कारण अहिले धर्मको संस्थागतरुपमा मुस्लिम भए पनि आफूलाई सर्वप्रथम नेपाली हुँ भनेर चिनाउन चाहन्छु । धर्म भनेको एउटा नीति वा संविधान जस्तै हो । सतबाटोमा हिँड्न सिकाउने संविधान धर्म हो । सबै धर्मको मूल सार पनि एकै हो । धर्मभन्दा पहिला हामी सबै दाजुभाइ दिदीबहिनी नै हो । गाईहरु कोही कालो कोही सेतो भए पनि अन्ततः दूध सबैले सेतै दिन्छ । मतलब, सबैधर्मको मूल सार एकै हो । सबै धर्मको मूल सार भनेकै विश्व शान्ति र भाइचारा नै हो । मेरो लक्ष्य पनि विश्व भाइचारालाई बढाउनु हो ।
यहाँको साइकल यात्रा बारे बताईदिनुस न ?
धन्यवाद । म मेरो साइकल यात्रा नेपालबाटै सन २००० बाट सुरु भएको हो । नेपालको पूर्वी झापाबाट पूर्वी बोडर क्रस गरेर बङ्गलादेश हुँदै थाइल्यान्ड, र थाइल्यान्डबाट मलेसिया पुगियो । यात्राको क्रममा विभिन्न बाधा व्यवधानहरू र समस्याहरूसँग पनि जुध्नुपर्ने भएकोले यात्रा त्यति सहज र सरल भने भएन । मलेसियाबाट सिंगापुर पुग्यौ । कहीँ भिजा समस्या, कहीँ आर्थिक समस्या त कहीँ मित्रहरूबिच पथदुरताले गर्दा यात्रा अलि कठिन महसुस भएको भए पनि समग्रमा हामी हाम्रो लक्ष्यतर्फ अघि बढ्न छाडेनौं । सिङ्गापुरमै स्व. राजा दीपेन्द्रसँग संयोगवश भेट भयो । उहाँले हामीलाई झन् हौसला प्रदान गर्नुभयो । सिङ्गापुरबाट इन्डोनेसिया पुगेर अस्ट्रेलिया जाने भनेर भिजा प्रक्रियामा लाग्यौ । इन्डोनेसियाबाट अस्ट्रेलियाको भिजामा सहजीकरण नभएकोले म नेपाल फर्किए । त्यहिबखर राजदरबार हत्याकाण्ड भयो । बहुत दुःखद घटनाले मर्माहत बनायो । त्यसपछि नेपाली झन्डा बोकेर पीस म्यासेन्जर भनेर हिँड्न मनै मरेर आयो । त्यसपछि लामो समय ग्याप भयो । पछि फेरी पारिवारिक सल्लाहपछि पुनः शान्ति अभियान सुचारु गर्ने सोच पलायो । त्यसपछि यहाँ मध्यपूर्व सम्म आई पुगे । यो २०१८ बाट पुनः मैले मेरो शान्ति अभियान सुरु गरेको छु । अब २ वर्षमा यो विश्व शान्ति र भाईचारको सन्देश सहित साइकलमा घुम्मे योजना बनाएको छु । मेरो यात्राको सिलसिलामा विभिन्न सञ्चार माध्यम लगायत धेरै शुभचिन्तकहरूले साथ र सहयोग दिनु भएको छ । त्यसको निमित्त म सधैँ आभारी रहने छु ।
कतारमा नेपाली कामदारहरुको अवस्था छ ?
मेरो जन्म देश नेपाल भए पनि विशेषत कर्म देश कतार हो । म पनि एक कामदार हुँ । कतारमा विभिन्न अवसरहरू पाए त्यसर्थ म भाग्यमानी हुँ जस्तो लाग्छ । कतारमा काम गर्ने नेपालीहरू सबैको राम्रो छ । कतारमा काम गरेर देशमा राम्रो रेमिटेन्स पनि पुगेकै छ । अब २०२२ मा कतारमा विश्वकप फुटबल पनि हुँदै भएकोले नेपालीहरुकोलागि विशेष अवसरहरू छन् यहाँ कतारमा जताततै । आफ्ना सन्तानहरु कतार मलेसियामा छन भने गर्ब गरौं । किनभने, दोन्द्दकालदेखि नै नेपालको अर्थतन्त्र धानेको कतार मलेसियाकै रेमिट्यान्सले हो ।
अबको यहाँको यात्रा कहाँ–कहाँ हुनेवाला छ ?
अबको मेरो यात्रा कतारदेखि टर्की हुँदै युरोप जाने सोच बनाएको छु । तर युरोपमा ठन्डी चलेकोले टर्की हुँदैं अफ्रिका हुँदै अमेरिका जान पनि सक्छु । समग्रमा, युरोप, अमेरिका, अफ्रिका पछि अस्ट्रेलिया लगायत विश्वका भूभागहरू सबै ठाउँमा शान्ति र भाइचाराको सन्देश पुराउने लक्ष्य रहेको छ । यसकोलागि आर्थिक सहयोगकोलागि धेरैभन्दा धेरै मित्रजनहरुसँग अपिल गरिरहेको छु । म एनआरएन कतारको कोषाध्यक्ष पनि भएको हुनाले एनआरएनबाट पनि सहयोगको अपेक्षा गरेको छु ।
यहाँको साइकल यात्राको उद्देश्य चैँ के हो त ?
मेरो एउटै उद्देश्य भनेको विश्वभरका मानिसहरूबिच विश्व शान्ति र भाइचारा अभिवृद्धि गर्ने हो । आफ्नो देशको विभिन्न जाति, धर्म, पेसा, प्रकृति र भूगोलको कला र संस्कृतिलाई हृदयमा बोकेर विश्व शान्ति र मानवीय भाइचाराको सन्देश फैलाउनै नै मेरो मूलभूत उद्देश्य हो । नेपालको गौरवपूर्ण इतिहासलाई विश्वमा पु¥याउने र नेपाललाई शान्तिभुमीको रूपमा पर्यटन अभिवृद्धि गर्ने पनि मेरो उद्देश्य हो । संसारभरका मानिसहरू पैसाको निमित्त एकअर्का्बिच लडाइ लडिरहेको बेला शान्ति र भाइचाराको सन्देश मार्फत सबैमा प्रमभाव जगाउने नै मेरो अन्तर उद्देश्य हो ।
तपाईँको यो विश्व साइकल यात्रामा क–कसले सहयोग गरिरहेका छन् ?
मेरो यात्रामा विश्वभरबाट धेरै व्यक्ति एवं सङ्घ संस्थाहरूले सहयोग र बचनबद्धता गर्नु भएको छ । मेरो यो यात्रा अभियानमा मेरो व्यक्तिगत खर्च मात्र गरे भने लगभगत ३० लाखको अभियान हो तर यदि विभिन्न माध्यमबाट सहयोग पाए भने राम्रै हुनेछ । यो अभियानमा जम्मा हुने रकम लगायत ले पढ्न नपाएका नेपाली बालबच्चाहरूको शिक्षामा सहयोग गर्ने मेरो लक्ष्य रहेको छ ।
तपाईँको यात्रा अभियानमा तपाईँ एक्लै हुनुहुन्छ कि अरू पनि कोही हुनुहुन्छ ?
अहिलेसम्म त म एक्लै छु । तर, जो कोही पनि स्वतन्त्ररुपमा यो अभियानमा जोडिन सक्नुहुनेछ । सुरुवातीमा मैले आफैले देशकोनिमित्त केही गुरु भन्ने भावले सुरु गरेको भए पनि अभियानमा आबद्ध हुन चाहनुहुने इच्छुकहरूलाई हार्दिक स्वागत हुनेछ ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
मेरो यात्रालाई स्वीकार गरिदिनुहुन सबैप्रति हार्दिक धन्यवाद भन्न चाहन्छु । विशेषत जनसवाल राष्ट्रिय दैनिक पनि मेरो साईकल यात्राको मिडिया सहयोगी भएकोले सर्वदा कृतज्ञ रहने छु । विश्वमाझ नेपाललाई अझ चिनाउँछु भन्ने ध्येयले शान्तिको सन्देश बोकेर हिँडेको हरेक नेपाली साईकलयात्रीहरुलाई नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले साथ दिउन र सरकारले पनि म जस्ता अभियन्ताहरूलाई स्वीकार गर्ने वातावरणको सिर्जना होस । जो जहाँ रहे पनि नेपाली पन रहिरहोस् । नेपालीहरूबिच मातृत्व र सामूहिक सहकार्य अभिवृद्धि होस । नेपाललाई विश्वमाझ चिनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गरौँ ।


