काठमाडौं । वैदेशिक रोजगारका लागी मलेसिया गएर फर्केका नेपाली युवाले सामुहिक रुपमा व्यवसाय गरेका छन् । गएको साता काठमाडौंमा एक कार्यक्रमका बीच मलेसिया रिटर्नी समाज नेपाल नामक संस्था गठन गरेका उनीहरुले काठमाडौंको अनामनगरमा सहयात्रा नामको रेष्टुरेण्ट सुरु गरेका हुन् ।
मलेसिया रिटर्नी समाजमा आवद्ध ८ जना मिलेर सुरु गरिएको सो रेष्टुरेण्टको बुधवार युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले उद्घाटन गरे ।
उनले वैदेशिक रोजगारबाट नेपालमा नै केही गर्छु भन्ने उदेश्यका साथ फर्केका युवाले यसरी आफ्नै उद्यम सुरु गर्नु एकदमै सह्रानिय र उदारणीय काम भएको बताए ।
उनले यस्तो प्रयासलाई वर्तमान सरकारले पनि सघाउने भन्दै युवा परिषदका तर्फबाट पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाएका थिए ।
मलेसिया रिटर्नी समाजका अध्यक्ष सुनिल चालिसे, उपाध्यक्ष बिनोद खड्का, महासचिव रामचन्द्र नेपाल लगायतले यस्ता काम अब विस्तारै नेपालभर पुर्याएर स्वदेशमै स्वरोजगार गर्ने वातावरण रिटर्नी समाजले गर्ने बताएका थिए ।
महासचिव नेपालले छिट्टै नै समाजमा आवद्ध रिटर्नीहरुले काठमाडौंमा यातायातसँगै तरकारी, तथा तराईको जिल्लामा माछा र कर्णालीमा र्याफ्टीङ व्यवसाय सुरु गर्ने रिटर्नी समाजको लक्ष्य रहेको बताए ।