काठमाडौं– गण्डकी प्रदेशको पोखराबाट आजदेखि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गरेको हो । प्रदेशका कार्यालयबाट पनि सेवा दिने निर्णय गरेको श्रम मन्त्रालयले यस अघि प्रदेश–२ को जनकपुर र प्रदेश–५ को बुटवलबाट सेवा सुरु गरिसकेको छ । भोलिदेखि गण्डकी प्रदेशको पोखरामा रहेको श्रम कार्यालयबाट पनि पहिलो चरणमा पुनः श्रम स्वीकृतिको काम हुनेछ । सेवा सुचारु गर्नका लागि वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठ र प्राविधिक विपुल पराजुली पोखरा पुगेका छन् । सबै प्रणाली तयार भएको र आजबाट सहिद चोकमा रहेको श्रम कार्यालयबाट सेवा सुरु हुने विभागले जनाएको छ ।
यस्तै अरु प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति लगायतका सेवा दिने तयारी अन्तिम चरणमा पुगेको श्रम मन्त्रालयले जनाएको छ । पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै वितरण हुने भएपनि छिट्टै पूर्व स्वीकृतिको काम पनि प्रदेश कार्यालयबाट हुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा प्रदेशका श्रम तथा रोजगार कार्यालयलाई अधिकार प्रत्यायोजन गरिसकेको छ ।
धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ बमोजिम वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिन सक्ने छन् ।
म्यानपावर व्यवसायीले विज्ञापन गरे नगरेको अनुगमन गर्ने तथा तोकिएको संख्यामा श्रम स्वीकृतिको स्टिकर दिने अधिकार प्रदेश कार्यालयलाई दिइएको छ । व्यक्तिगत श्रम स्वीकृति प्रदेश कार्यालयहरुले नै दिन सक्ने छन् भने, वैदेशिक रोजगार ऐन कार्यन्वयन भए नभएको अनुगमन गर्ने अधिकार पनि प्रदेशमा रहने श्रम तथा रोजगार कार्यालयहरुलाई दिइएको छ । विदेशस्थित कूटनीतिक निकायबाट पनि दुई पटकसम्म श्रम स्वीकृत लिन सकिने गरी सरकारले तयारी गरिरहेको छ । सरकारले यसअघि, काठमाडौँको ताहचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्रै श्रम स्वीकृति दिइदै आएको थियो ।M
source:janasawal.com