गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आगामी अक्टोवर १३ देखि १६ सम्म गर्ने घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २८ गते, शनिबार १९:४५

काठमाडौं, २८ पुस । गैर आवासीय नेपाली संघ एनआरएनए) को ९ औ विश्व सम्मेलनको मिति घोषणा गरिएको छ । सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । आठौ विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वाचीत गरेको थियो । सम्मेलनको मिति तय भएसँगै एनआरएनएलाई चुनाव लागेको छ ।

राजधानीमा आयोजित संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न आयोजित अन्तराष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकमा सो निर्णय गरिएको हो । कार्यक्रममा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा गरिएको थियो । यसैबीच बैठकले बहुप्रतिक्षित गोरखाको लारपाकमा निर्माणाधिन एकीकृत वस्तीको निर्माण सम्पन्न गरी आगामी बैशाख १२, २०७६ मा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ । यस्तै जनकपूरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गर्ने योजना समेत अन्तिम चरणमा रहेकोले छिटै सो परियोजना पूरा हुने जानकारी बैठकमा गराइएको छ ।

यसैगरी नेपालमा आर्थिक लगानीसँगै ज्ञान सीप र प्रविधि भित्र्याउने, उज्यालो नेपाल परियोजनालाई तीव्रता दिइने, नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहकार्य गर्ने, नेपालका हाइडोपावरमा लगानी गर्ने, एक सय मिलियन डलरको लगानी नेपालमा भित्र्याउने योजनालाई मूर्त रुप दिने, कृषिमा आधुनिकिकरण एवं बजारीकरणका लागि नेपाल सरकारसँग समन्वय गर्दै अघि बढ्ने लगायतका आगामी रणनीति समेत तय गरेको छ ।

बैठकमा संघलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने सम्बन्धमा घनीभूत छलफल गरिएको छ । यस्तै गैरआवासीय अन्तराष्टिय पत्रकारिता पुरस्कारका लागि छनोट कमिटी बनाउने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा विभिन्न संघका विभिन्न समितिहरुले आ आफ्नो वार्षिक कार्य प्रगति पेश गरेका थिए । बैठकमा अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, महासचिव डा बद्री केसी, उपाध्यक्ष सपिला भण्डारी, प्रवक्ता भूषण घिमिरे, ओसियाना संयोजक(धर्मराज अधिकारी, युरोप संयोजक शिव कुमार बडुवाल, मध्यपुर्ब संयोजक आरके शर्मा, सहसंयोजक प्रविन गुरुङ्ग, अमेरिका संयोजक गौरी जोशी, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, आई सिसि सदस्य मनोज गोर्खालीलगायत क्षेत्रिय संयोजक, उपसंयोजक, आइसीसी सदस्यहरु , सल्लाहकारहरु, अनररी काउन्सिल सदस्य लगायतको प्रत्यक्ष सहभागिता रहेको थियो भने र करिब सय जनाले अनलाइन मार्फत सहभागिता जनाएका थिए । बैठक एकदमै सफल भएको अध्यक्ष भट्टले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु