काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफ मोहम्मद अल हैलले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध र साझेदारीका विषयमा कुराकानी भएको थियो ।
सो क्रममा अध्यक्ष तिमिल्सिनाले प्राकृतिक हिसाबले जटिल भएपनि कतारको तिब्र विकासबाट प्राकृतिक स्रोतको धनी देश नेपालले शिक्षा लिनुपर्ने बताए।
कतारमा हालै बनेको श्रम कानुनले त्यहाँ काम गर्ने लाखौं नेपाली लाभान्वित हुने विश्वास व्यक्त गर्दै उनले अहिलेको भिषा प्रक्रियालाई सहज बनाउनका लागि नेपालमा कतारको भिषा सेन्टर स्थापना गर्न सरकारलाई आग्रह गर्ने बताए। यसैगरी नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन कतारबाट उल्लेख्य पर्यटक आउने विश्वास व्यक्त गरे। साथै सन् २०२२ मा कतारमा हुने विश्वकपको पूर्वाधार निमार्णमा नेपालीले काम गर्ने मौका पाएकोमा खुसी व्यक्त गरे ।
भेटमा राजदूत युसुफ मोहम्मद अल हैलले अहिले मजदुरका रुपमा अधिकांश नेपाली कार्यरत रहेको बताउँदै आगामी दिनमा दक्ष तथा सीप सिकेका कामदार पनि आकर्षित हुने आशा व्यक्त गरे ।
श्राेतः janasawal.com