काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यध उपेन्द्र महतोले विदेशमा एक पैसा पनि जम्मा नगरेको दाबी गरेका छन् । केही दिन अघि खोज पत्रकारिता केन्द्रले नेपाललिक्स् अन्र्तगत सार्वजनिक गरेको एक रिर्पोटमा महतोले विदेशी बैँकमा जम्मा गरेकोे रिर्पोट सार्वजनिक भएपछि उनले यस्तो खण्डन गर्दै विदेशमा पैसा जम्मा नगरेको दाबी गरेका हुन् । उनले विदेशमा लुकाउनका लागि आफूले नेपालबाट एक डलर पनि नलगेको स्पष्टिकरण दिएका छन् । उनले विदेशमा कमाइ गरेको पैसा भने जम्मा गरेको जिकिर गरेका छन् ।
महतोले आफू लामो समयदेखि विदेशमा रहेका नेपालीको लागनी मातृभूमिमा ल्याउने काममा सक्रिय रहेको बताउँदै महतोले आफूले गरेको लगानी पनि विदेशबाटै ल्याएको बताएका छन् । ‘मैले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको छु’, महतोले भने, ‘मैले नेपालमा जे/जति लगानी गरेको छु, नेपालीकै नाताले लगानी गरेको छु । नेपालमा कुनै पनि परियोजनामा मैले विदेशीको नाताले लगानी गरेको छैन ।’
महतोले आफूले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट एक डलर पनि नलगेको पनि बताए । ‘न विदेशमा जम्मा गर्न न विदेशमा लगानी गर्नका लागि, न त रेमिट्यान्सका रुपमा नेपालबाट एक डलर पनि लिएर गएको छैन’, महतोले भनेका छन्, ‘म अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा छु । म व्यवसायमा भएको हुनाले मेरो परिवार खासगरेर भाई डा। विरेन्द्र प्रसाद महतो र बहिनी जुली कुमारी महतोको नाम जोडिदिँदा मलाई दुःख लागेको छ ।’