बूढीगण्डकी आयोजनाले१९अर्ब मुअब्जा वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ११ गते, शुक्रबार १२:३०

गोरखा । बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई रु १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ । आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । चालू आवमा मात्रै चार अर्बभन्दा बढी रकम मुअब्जा वितरण गरिसकिएको उहाँले बताउनुभयो । आयोजना प्रमुख कार्कीले मुआब्जा वितरण गर्न बाँकी रहेका डुबान प्रभावितलाई पनि चालु आर्थिक वर्षमै मुआब्जा बितरण गरिसकिने जानकारी दिनुभयोे ।
उहाँले चालू आव २०७५÷७६ मा प्राप्त रु १८ अर्बले गोरखा र धादिङका सबै प्रभावितलाई रकम वितरण गरिसकिने जानकारी दिनुभयो । “मुअब्जा वितरणका लागि रकमको अभाव छैन,” आयोजना प्रमुख कार्कीले भन्नुभयो, “आरुघाट र खहरे क्षेत्रबाहेक मुअब्जा निर्धारण भएका सबै ठाउँका प्रभावितलाई मुआब्जा वितरणको काम सम्पन्न हुन्छ ।” अहिले प्राप्त रकमले डुबान प्रभावित क्षेत्रका बासिन्दाको घरगोठ र बोटबिरुवाको समेत मुआब्जा वितरण गर्न रकम अभाव नहुने आयोजना प्र्रमुख कार्कीको भनाइ छ ।
“जमीनको मुआब्जा वितरण गरिसकिएका डुबान क्षेत्रका बासिन्दाका घरगोठ र बोटबिरुवाको मुआब्जा बाँड्ने तयारी पनि गरिरहेका छाै। उहाँले भन्नुभयो, “त्यसका लागि प्राप्त रकमले पुग्छ भन्ने हाम्रो अनुमान छ ।”
आयोजनाले मुआब्जा वितरणको काम तीव्र गतिमा अगाडि बढाएको भए पनि प्राविधिक समस्याका कारण केही ढिलाइ भएको उहाँले बताउनुभयो । “मालपोत र नापी कार्यालयमा पर्याप्त कर्मचारी छैनन्, यहाँबाट फाइल छिटो अघि बढाए पनि त्यहाँ कामको चापका कारण सोचेजस्तो गतिमा काम अघि बढ्न सकेको छैन,” प्रमुख कार्कीले भन्नुभयो । अहिले आयोजनाले गोरखा तर्फ साबिकको अश्राङ, बोर्लाङ र धावातर्फका डुबान प्रभावितलाई मुआब्जा वितरण गरिरहेको पनि उहाँले बताउनुभयो । आयोजनाले डुबान पर्ने आरुघाट, आर्खेत, खहरे क्षेत्रको मुआब्जा निर्धारण गर्न भने अझै सकेको छैन । “यो वर्षभित्र मुआब्जा निर्धारण गर्न बाँकी रहेका सबै ठाउँको मुआब्जा निर्धारण गर्ने तयारी पनि भइररहेको छ,” अयोजना प्रमुख कार्कीले भन्नुभयो ।
प्रभावितसँग छलफल गरी मुआब्जा निर्धारणका लागि लगभग सहमति भइसकेको उहाँको भनाइ छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेकाले आयोजनाले अब तत्कालै पुनर्वास र पुनस्र्थापनाको कामलाई अगाडि बढाउने प्रमुख कार्कीले जानकारी दिनुभयो ।( जनसवालदैनिक )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु