माघ १८ काठमाडौ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको छ ।
नेपालको सिन्धुपाल्चोक, नुवाकोटबाट दलालहरुबाट बिक्री भएका सिता, गीता, कान्छी, साइली, कल्पना (नाम परिवर्तन) को महिलाहरुलाई भारतको आग्रा उत्तर प्रदेशको कासमीरी बजार अन्तर्गत प्रिया शर्माले सञ्चालन गरेको कोठी
(बेश्यालय)बाट उद्धार गरिएको थियो । कानुनी प्रक्रिया पुरा नभएको हुँदा विगत १ वर्षदेखि भारतीय सरकारको राजकीय संरक्षण गृहमा रहेका थिए ।
भारतमा नक्कली कागजात पेश गरी दलालहरुले आफन्त हो भनेर पीडितको जिम्मा लिने र फेरि तस्कर गर्ने सम्भावना भएकोले आग्रा विशेष अदालत र जिल्ला अदालतबाट उद्धार गरिएको पीडित महिलाहरुको डि.एन.ए. परीक्षण गरी न्यायालयको प्रक्रिया पूरा गरी निजको बुवा, आमालाई बुझाउने शर्तमा सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी समाजसेवी पाण्डेको जिम्मेवारीमा नेपाल फर्काउन सफल भएको छ ।
उनीहरुलाई अहिले माइती इन्डियाको संरक्षणमा राखिएको र आग्रा अदालतको सम्पूर्ण प्रक्रिया पुरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाइने जानकारी गराएको छ।