दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २२ गते, मंगलवार १९:१६

बागलुङः अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर परेको छ । सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत मास्न स्थानीयवासीले नदिएकाले सडक निर्माणमा अवरोध भएको हो ।

तेह्र किमीको उक्त खण्डमा १० किमी सडक ‘ग्राबेल’ भइसके पनि बाँकी तीन किमीको काम रोकिएको छ ।अवरोध हटेमा आउँदो जेठभित्रै कालोपत्र गर्न ठेकेदार कम्पनी तयार छ । अबरोध भएका ठाउँ छाडेर बीचबीचमा कालोपत्र गर्न नमिल्ने सिद्धीसाई प्रकाश कन्सट्रक्सनका सहायक प्रमुख पुष्पकुमार शाहीले बताए। “अवरोध तत्काल हट्नुपर्छ, आयोजनाको यसमा ध्यान जाओस्’ उनले भने, “हामी वैशाख, जेठभित्रै कालोपत्र गर्न तयार छौँ ।” उनका अनुसार सडक विस्तारका लागि १०÷१२ घरटहरा हटाउनुपर्ने अवस्था छ ।

यस्तै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा सञ्चालित खानेपानी आयोजनाका पाइपले पनि काममा समस्या निम्त्याएको छ । आयोजनाले सडक खन्दा क्षति भएका पाइप किन्न र ठाउँ सार्न संस्थालाई रु ३३ लाख बुझाइएको थियो ।

ठेकेदार कम्पनीले संस्थाले बेलैमा काम नगरेको आरोप लगाएको छ । “दुईसय मिटर जतिमा अझै पाइप सार्न बाँकी छ”, ठेकेदार कम्पनीका सुपरभाइजर गणेश सुवेदीले भने। केही ठाउँमा स्थानीय खानेपानी आयोजनाका ट्याङ्कीसमेत हटाउनुपर्ने देखिएको छ ।

संस्थाका प्रबन्धक हिमाल शर्माले पहिले सहमति भएअनुसार पाइप सार्ने काम सकिएको बताए । “अझै केही ठाउँमा सार्नुपर्ने देखिएको छ”, उनले भने “आयोजनाले थप बजेट या पाइप उपलब्ध गराए तत्काल काम हुन्छ ।” सोही खण्डमा पर्ने बिजुलीका खम्बा सार्न आयोजनाले विद्युत् कार्यालयलाई रु आठ लाख उपलब्ध गराएको थियो । बागलुङ–अछेते खण्डमा खम्बा हटाइएको र अछेतेदेखि–बयलडाँडा खण्डमा खम्बा हटाउन बाँकी छ ।

मुआब्जा र क्षतिपूर्तिको टुङ्गो समयमै नलाग्दा मापदण्ड विपरीतका संरचना हटाउन ढिलाइ भएको हो । लोकमार्गका इञ्जिनीयर सरोज ढकालले अब काम नरोकिने बताए । “धेरैको क्षतिपूर्ति आएसकेको छ, केहीको आउन बाँकी छ”, उनले भने “विवादित घरजग्गासँगै अन्य अवरोध हटाएर काम अघि बढाउँछौँ ।”

लोकमार्गको बिहुँ–घोडाबाँधे खण्डमा पनि कालोपत्रका लागि तयारी गरिएको छ । उक्त खण्ड निर्माणको जिम्मा ‘सुर्य कन्सट्रक्सन’ले लिएको छ । सडक विस्तार, नाली, पर्खाल र ‘ग्राबेल’को काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । दुवै खण्डको ठेक्का सम्झौताको म्याद आउँदो माघ सम्म छ । जिल्लाको पश्चिम क्षेत्रमा लोकमार्ग कालोपत्रे भइसक्दा पनि सदरमुकामसँग जोडिएको खण्ड अझै कच्ची छ । पश्चिम बुर्तिबाङदेखि पूर्वी रुकुमको सीमा पातीहाल्नेसम्म ४५ किमी सडक पनि कालोपत्र हुन बाँकी छ ।

उक्त खण्डको निर्माण ‘कालिका प्यासेफिक’ र ‘इसिआर÷कन्काई’ ठेकेदार कम्पनीको जिम्मामा छ । घोडाबाँधे–बुर्तिबाङ ६४ किमी भने कालोपत्रे भइसकेको छ । यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा लोकमार्गको बागलुङ खण्ड पूरै कालोपत्रे हुने आयोजनाले जनाएको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु