चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले दिईन् राजिनामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २२ गते, मंगलवार १९:२८

माघ २२, काठमाण्डौ  । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले माघ २३ गते बुधवारबाट लागुहुने गरि आफ्नो पदबाट राजीनामा दिएकी छन् । व्यक्तिगत जीवनमा व्यस्त हुने भन्दै पौडेलले वोर्डको अध्यक्ष पदबाट राजीनामा दिएकी वक्तव्य मार्फत जानकारी गराएकी छिन् । यस्तै आफ्नो तीन महिनाको तलब श्रीमान रबि लामिछानेले बनाउने रास्कोट सामुदायिक अस्पताललाई दिने पनि उनले आफ्नो वक्तव्यमा उल्लेख गरेकी छिन् ।

निकिताको वक्तत्य जस्ताको तस्तैः
भोलि माघ २३ गतेदेखि लागू हुने गरि मैले चलचित्र बिकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यु समक्ष राजिनामा पेश गरेकी छु । ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैंले यो निर्णय लिएकी हुँ । खुल्ला प्रतिस्पर्धा गरि लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिस्पर्धी हुनुको गौरव मिलेसँगै, म मङ्सिर २५,२०७४ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु ।

योसँगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु पनि मेरा लागि विशेष अवसर भएका छन् । यस बाहेक,आजसम्म दिइएका सम्पुर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय सीमा भित्रै सफलतापुर्वक समापन गरिएको रिपोर्ट सहितको प्रगति विवरण माननीय मन्त्रीज्यु समक्ष आजै बुझाईसकेकी छु।उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा बिशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो । यो मेरालागि ठुलो उपलब्धि भएको छ । सम्पुर्ण चलचित्र क्षेत्रको हितकालागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु ।

बक्स अफिसका अलावा,नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन,चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा, सन्देश मुलक चलचित्रलाई करमा सहुलियत, बिशिस्ट चलचित्रकर्मीका लागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जात जाती, भाषा भाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केहि सम्पन्न र केही शुरूवात भएका छन् । यो छोटो कार्यकाललाई उपलब्धिपुर्ण बनाउन सहयोग गर्नु भएकोमा माननीय सन्चार तथा सूचना प्रबिधि मन्त्री श्री गोकुल बास्कोटा ज्यु, संचार सचिव ज्यु लगायत सम्पुर्ण मन्त्रालय र नेपाल चलचित्र बिकास बोर्डका सम्पुर्ण परिवार प्रति कृतज्ञता व्यक्त गर्दछु । मुलुकको सेवा गर्ने अवसर पाएकोमा म नेपाल सरकार एवं सम्मानिय प्रधानमन्त्री ज्यु प्रती आभार प्रकट गर्दछु ।

साथै नेपाल सरकारबाट मैंले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पुर्ण तलब बापतको रकम मेरा श्रीमान श्री रबि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु । यो सङै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने कुराको पनि जानकारी गराउँदछु । चलचित्र बिकास बोर्डको अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि, मेरो नाभीसगै गाँसिएको गौरवशाली चलचित्र क्षेत्रको हितकालागि म सदैव क्रियाशील रहिरहने छु । यस क्षेत्रमा योगदान दिन मलाई कुनै पदको जरुरत पर्दैन । मलाई सदैव प्रोत्साहीत गर्नुहुने मेरा परिवार, आदरणीय चलचित्रकर्मीज्युहरु तथा संचारकर्मीज्युहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

यस अघि संचारमन्त्री गोकुल बाँस्कोटाले चौमासिक प्रतिवेदन सहितको बैठकमा उनलाई आमन्त्रीत गरिएको थियो । आफ्नो काम व्यस्ततका कारण उनी उपस्थित भएकी थिईनन् । चलचित्र विकास बोर्डका उपस्थित नरहेपछि मन्त्री बाँस्कोटाले स्पष्टिकरण मागेको थियो । बोर्ड अध्यक्ष निकिताले स्पष्टिकरण मात्र नभई राजिनामा पत्र नै मन्त्री समक्ष बुझाएकी हुन् ।

फिल्मी फण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु