काठमाडौं – गत जेष्ठ २ गतेदेखि रोकिएको मलेसिया रोजगारी खुल्न नसक्दा अहिले मलेसिया रोजगारीमा जान लागेका हजारौ कामदार प्रभावित भएका छन् । मलेसिया रोजगारी नखुल्दा अहिले राजनैतिक वृत्तमा पनि ठूलै हलचल मच्चिन थालेको छ । केही दिन अघि मलेसिया पुगेर त्यहाँका मानव संसाधनमन्त्री एम कुलासेगरनसँग भेटवार्ता गरेका प्रतिनिधिसभाका सांसद तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बुको सक्रियताले अहिले मलेसिया रोजगारीमा नयाँ तरङ्ग ल्याएको छ ।
नेपाल सरकार र मलेसिया सरकारबीच श्रम समझदारी हुँदासमेत मलेसिया रोजगारी नखुलेपछि श्रम तथा रोजगार मन्त्रालय र श्रम मन्त्री गोकर्ण विष्टको तिब्र आलोचना भैरहेको समयमा साँसद लिम्बुको सक्रियता बढदा मेनपावर व्यबसायी र मलेसिया जान कलिंग भिसा आएका हजारौँ कामदारका साथै मलेसिया जाने तयारीमा भएका कामदारहरुले आशा पलाएको बताएका छन् ।
मलेसियन मन्त्रीसँग छलफल गरेर स्वदेश फर्किएका सांसद साँवाले नेपाल आएर प्रधानमन्त्री के पी शर्मा ओली ,नेकपा संसदीय दलका उप–नेता सुभाष नेम्वाङ्ग र श्रममन्त्री गोकर्ण विष्टलाई भेटि मलेसियाको वास्तविक जानकारी गराएका छन् ।
सांसद साँवाले प्रधानमन्त्री र श्रममन्त्री विष्टलाई मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनसँग भएको छलफलको ब्रिफिङ्ग गरेका थिए । सांसद साँवाले भने– ‘प्रधानमन्त्रिज्यु मलेसिया रोजगारीका बारेमा सकारात्मक हुनुहुन्छ तेसैले अब मलेसिया छिट्टै खुल्छ । उनले अब पनि मलेसिया नखोल्ने हो भने यसले दुई देशबिचको सम्बन्धलाई नै असर पार्न सक्ने भएकाले जति छिटो मलेसिया रोजगारी सुचारु गर्नुपर्ने हुन्छ ।’
सांसद साँवासँगको भेटमा मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले पनि जति सक्दो छिटो मलेसियामा कामदार पठाउन आग्रह गरेको र मलेसियाले नेपालका सबै मागहरु पुरा गरेकाले ढिला नगर्न आग्रह गरेका थिए । सांसद साँवाले आफु श्रममन्त्री गोकर्ण विष्टको आग्रहमा मलेसियाका मानव संसाधन मन्त्रीको समय लिएर गएको बताउँदै उनीसँग रोकिएको मलेसिया रोजगारी खुलाउने विषयमा छलफल गरेर फर्किएको जनाए । उनले मानव संसाधन मन्त्रीसँग गरिएको छलफलका विषयमा सरकारलाई जानकारी गराइसकेको र अव केहि दिन भित्रैमा त्यसको नतिजा आउने दाबी गरे ।
श्रममन्त्री विष्टले गत जेठ २ गते मलेसिया रोजगारीका नाममा ठगी गरेको भन्दै भिएलएन, ओएससी, आइएससी, वायोमेट्रिक, माइग्राम्सलाई मुद्धा चलाएका थिए । श्रममन्त्री विष्टले भिएलएनलगाएतलाई लगाएको आरोपलाइ गलत साबित गर्दै अदालतले उनिहरुको पक्षमा फैसला गरेपछि श्रममन्त्री विष्ट धर्मसंकटमा परेका छन् । यता गत कार्तिक २ गते मलेसियासँग भएको श्रम समझदारीमा पुरानै प्रकृयाबाट कामदार पठाउने सहमति भएपछि मलेसिया रोजगारी आन्तरिक इगोका कारण झनै अन्योलमा परेको थियो ।
मलेसियाका भेण्डर हटाउने पक्षमा रहेका मन्त्री विष्ट असफल भएपछि भेण्डर नै परिवर्तन गर्न सकिन्छ की भनेर लागिरहेको बेला साँसद साँवा मलेसिया पुग्दा धेरैले भेण्डर परिवर्तनको खेल भएको आशंका गरेका थिए तर, साँसद साँवाले भने आफु विगतदेखि नै सिण्डिकेट र आर्थिकभार थप्ने भेण्डरको विरोधी भएकोमा आफ्नो पक्षमा भेण्डर लिने र पार्ने भन्ने कुरा सोच्नै नसक्ने बताए । उनले भने–‘ मलेसियाको गृह मन्त्रालय अन्तर्गत रहेको भेण्डरलाई मानव संसाधनमन्त्रीले कसरी परिवर्तन गर्न सक्छन् र ? कुनै पनि विषय नबुझी लेख्ने मिडिया र व्यवसायीहरुलाई चुनौति दिदै सांसद साँवाले गलत हल्लाको पछाडी नलाग्न सबैलाई आग्रह गरे ।
पछिल्लो समय पनि मलेसिया सरकारले पुरानै प्रकृयाबाट कामदार आपुर्ती गर्ने भन्दै मलेसियन दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ । मलेसिया रोजगारी बन्द भएपछि झण्डै १० हजार कलिङ भिषा आएका कामदार उड्न पाएका छैनन् । कलिङ भिसा भएका कामदार र नयाँ कामदार मलेसिया जाने विषयमा एक हप्ता भित्र श्रम तथा रोजगार मन्त्रालयले निर्णय लिइसक्ने भनाई सासद साँवाको छ ।
यससँगै, मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया शुरु हुने भएको छ । करिब नौ महिनादेखि बन्द रहेको श्रम खुलाउन दुई देशबिचको श्रम समझदारी अनुसार पहिलो चरणमा कलिङ भिसा आएका करिब १० हजार कामदारलाई मलेसिया दूतवाससँगको समन्वयमा पठाउन लागिएको दाबी गरिएको छ ।
मलेसिया सरकारसँग छलफल गरेर फर्किएका सत्तारुढ नेकपाका सांसद तथा संसदको उद्योग वाणिज्य आपूर्ति तथा श्रम समिति अन्तर्गत श्रम तथा रोजगार उप–समितिका संयोजक समेत रहेका साँवा लिम्बुले अब मलेसिया रोजगारी खुल्ने बताए ।
काठमाडौं फर्केपछि उनले मलेसिया सरकारसँगको छलफलमा उठेका विषय र कामदार लैजाने प्रक्रियाका बारेमा प्रधानमन्त्री र मन्त्री विष्टलाई प्रतिवेदन बुझाएपछी जनसवाललाई बताए । नेपाली कामदार जान पाउने गरी सरकारले चाँडै नै उपयुक्त निर्णय गर्ने साँवाले बताए । कलिङ भिसा आइसकेका कामदारलाई मलेसिया दूतावासले लेखेको पत्रका आधारमा श्रम स्वीकृति दिइने उनले जानकारी दिए ।
यसैगरी, नयाँ कामदार पठाउने विषयमा मलेसिया सरकारले मापदण्ड बनाएर नेपाललाई जानकारी गराउने र त्यसै प्रक्रिया अनुसार नेपाली कामदार पठाइने भएको छ । तथापी, नेपाल र मलेसिया बिच श्रम समझदारीपछि पनि कामदार पठाउने प्रक्रिया शुरु भएको छैन । सरकारले भिसा र स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया गर्ने पूराना संस्थामाथि कारवाही भएकाले नयाँ संरचनाबाट काम गर्न मलेसियालाई आग्रह गरेको छ ।
यसबारेमा मलेसियाले भने पुरानै संरचनाबाट कामदार पठाउने विषयमा श्रम सम्झौतामा नै उल्लेख गरिसकेको छ । नयाँ संरचना खडा गर्ने काम मलेसिया सरकारको भएको भन्दै साँवाले मानव संशाधन मन्त्री एम कुलासेगरनसँग त्यस विषयमा कुरा नभएको बताए । उनले नेपाली कामदारले भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा एक रुपैयाँ पनि तिर्नु नपर्ने सम्झौता दुई देशबीच भइसकेकाले बाँकी संरचनाको निर्णय मलेसियाको मन्त्रिपरिषदले गर्ने बताए । साँवाले जतिसक्दो चाँडो मलेसियाको रोजगार खुलाउन समेत सम्बन्धित निकायलाई आफूले अनुरोध गरेको जनसबाललाई बताए ।
त्यस्तै, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले साँवा सुटुक्क मलेसिया गएको विषय रहस्यमय भएपनि मलेसिया रोजगारी छिटो खुलाउने विषय टुङ्गिनु पर्ने बताए । उनले भेण्डर कसको पक्षमा पार्नेभन्दा पनि मलेसिया रोजगारी छिटो खुल्नु पर्ने बताएका छन् । श्रम मन्त्री विष्ट, मलेसियन मानव संसाधन मन्त्री एम कुलासेगरन र साँसद साँवाबीच भएको यो त्रिपक्षीय संवादले रोकिएको मलेसिया रोजगारी खुल्नेमा झिनो आशा भने पलाएको छ । (जनसवालदैनिक)